हस्तकलाको निर्यात ३२ प्रतिशत वृद्धि

 कारोबार संवाददाता
काठमाडौं, २५ साउन
 -नेपालबाट आर्थिक वर्ष ०६८/६९ मा ४ अर्ब ११ करोड रुपैयाँबराबरको हस्तकलाको सामान निर्यात भएको छ । नेपाल हस्तकला महासंघका अनुसार यो रकम अघिल्लो वर्षको तुलनामा ३२.३१ प्रतिशतले बढी हो, अघिल्लो वर्ष ३ अर्ब ११ करोडको हस्तकलाको सामान निर्यात भएको थियो ।
नेपाली हस्तकलाका सामानलाई अमेरिका तथा युरोपेली मुलुकले रुचाउने र नेपाली वस्तुहरू अन्तर्राष्ट्रिय वस्तुसँग प्रतिस्पर्धी हुनसक्ने भएकाले निर्यात बढेको महासंघले जनाएको छ । नेपालबाट विभिन्न ४२ प्रकारका हस्तकलाको समान संसारका ८२ मुलुकमा निर्यात हुन्छ ।
नेपाली वस्तुको मागमा वृद्धि र अन्तर्राष्ट्रिय रूपमा डलरको मूल्यवृद्धिले निर्यातमा वृद्धि हुन थालेको महासंघले जनाएको छ । “नेपाली वस्तुको निकासीमा वृद्धि हुनुको मुख्य कारण वस्तुको बिकास नै हो,” महासंघका अध्यक्ष विकासरत्न धाख्वाले भने ।
महासंघका अनुसार गत आवमा १ अर्ब ९२ करोड रुपैयाँबराबरको टेक्साटाइल निर्यात भएको छ । यो रकम अघिल्लो वर्षको तुलनामा झन्डै ३३ प्रतिशतले बढी हो । टेक्सटाइलअन्तर्गत पस्मिना, ऊनी, कटन, ढाका, अल्लोलगायतका रेसादार वस्तु पर्छन् ।
सबैभन्दा बढी कटनका वस्तुको निर्यात भएको छ । कटनका वस्तु युरोप, अमेरिकालगायतका मुलुकमा निर्यात हुन्छन् । “कटनका वस्तुको निर्यात ५३ प्रतिशतले बढेको छ,” धाख्वाले भने ।
ऊनी वस्तुको निर्यात ४३ प्रतिशतले बढेको छ । पस्मिना, ढाका, रेशम, अल्लोलगायतका वस्तुको निर्यातमा समेत सकारात्मक सुधार देखिएको महासंघले जनाएको छ ।
महासंघका अनुसार गत आवमा टेक्सटाइलबाहेकका वस्तुको निर्यातमा ३० प्रतिशतले वृद्धि भएको छ । “गत आवमा २ अर्ब १९ करोडको टेक्साटाइलबाहेकका वस्तु निकासी भएका छन्,” धाख्वाले भने, “हामीले परम्परागत डिजाइनमा गरिएको मेहनत नै प्रमुख कारण हो ।”
नेपालबाट ऊनी, रेशम, अल्लो, धातुका सामान, ढाकालगायतका वस्तु निर्यात हुने मुख्य वस्तुको सूचीमा छन् । यस्तै, मूर्ति तथा हातेकागजजन्य वस्तुलाई अन्तर्राष्ट्रिय बजारमा अत्यधिक रुचाइने भएकाले ती वस्तुुको माग उच्च रहेको महासंघले जनाएको छ ।
यो अवधिमा धातुजन्य वस्तु, काँचका वस्तु तथा पौवा, थाङ्का, हातेकागजका सामानलगायतका वस्तुको निर्यातमा उच्च वृद्धि भएको छ । विदेशीहरूले समेत नेपाली हस्तकलाको क्षेत्रमा विशेष ध्यान दिन थालेको जानकारी धाख्वाले दिए ।
अन्तर्राष्ट्रिय बजारमा नेपाली वस्तुलाई प्रतिस्पर्धी बनाउन महासंघले विभिन्न देशका विज्ञलाई बोलाएर व्यावसायिक तालिम दिने गरेको छ ।
सरकारले दुई वर्षअघि सार्वजनिक गरेको व्यापार एकीकृत रणनीति २०१० (एनटीआईएस) मा निर्यात व्यापारमा नेपाललाई फाइदा हुने १९ वस्तु समावेश गरेको थियो । यसैअनुरुप महासंघले निर्यातको प्रमुख सम्भावना भएका वस्तुलाई विशेष प्रोत्साहन दिन थालेको हो ।
 

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक