खाद्य सुरक्षामा नेपाल कमजोर

कारोबार संवाददाता
काठमाडौं, २५ साउन 
-नेपालमा खाद्य सुरक्षाको अवस्था कमजोर बन्दै गएको एक अध्ययनले देखाएको छ । ‘दि इकोनोमिस्ट इन्टेलिजेन्स युनिट (ईआईयू)’ ले सार्वजनिक गरेको ‘विश्वव्यापी खाद्य सुरक्षा सूचकांक’मा नेपाल विश्वका १ सय ५ मुलुकमध्ये ७९ औं स्थानमा छ ।
खाद्य सुरक्षामा अमेरिका, डेनमार्क, नर्वे, फ्रान्स र नेदरल्यान्ड सबल छन् भने बुरुन्डीलगायतका अफ्रिकी राष्ट्रहरू कमजोर देखिएका छन् ।
नेपाल खाद्य वस्तु खरिद क्षमताको श्रेणीमा कमजोर देखिएको हो । नेपालले ३५.२ अंक प्राप्त गरेको छ, जबकि खाद्य असुरक्षा उच्च रहेका अफ्रिकी देशले २५ अंक पाएका छन् ।
ईआईयूले खरिद गर्ने क्षमता, उपलब्धता तथा गुणस्तर र सुरक्षाका आधारमा सूचीकरण गरेको हो । औसतमा खाद्य वस्तु खरिद गर्ने क्षमता ४० प्रतिशत, उपलब्धता ४४ प्रतिशत तथा गुणस्तर र सुरक्षामा १६ प्रतिशत हिस्सा छ ।
नेपालले खाद्यवस्तुको पोषण मापदण्ड, कृषि वस्तु आयातमा भन्सार दर, बहुपक्षीय दातृसंस्था तथा गैरसरकारी संस्थाको सक्रियताजस्ता सबल पक्षले खाद्य सुरक्षाको अवस्थालाई केही मजबुते बनाएको अध्ययनमा उल्लेख छ ।
तर, उत्पादनमा अस्थिरता (मौसमले निर्धारण गर्ने वस्तुको उत्पादन), कृषि अनुसन्धान र विकासको सार्वजनिक खर्चमा कमी, खाद्यवस्तु खपतमा घरायसी खर्चको सबैभन्दा बढी लागत, प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन, भोजन (खाद्य व्यवहार) विविधीकरण अभावजस्ता कमजोरीले खाद्य सुरक्षामा नेपाल पछि परेको हो ।
सन् १९९६ मा भएको खाद्य सम्मेलनले मानिसमा पोषणको आवश्यकता पूरा गर्ने र स्वस्थ तथा सक्रिय जीवन बाँच्न आवश्यक खानाको पहुँचमा जोड दिएको छ । यसैका आधारमा ईआईयूले खाद्य सुरक्षाको अवस्था मापन गरेको हो ।
घरायसी खर्चमध्ये खाद्यान्नमा हुने खपतलाई आधार बनाएर मापन गरिएको हो । खरिद क्षमतामा अमेरिका, स्विट्जरल्यान्ड, नेदरल्यान्ड र अस्ट्रेलिया अगाडि छन् । त्यस्तै, उपलब्धतामा खाद्यवस्तु उत्पादन, आपूर्ति र निर्भरता तथा अनुसन्धानमा लगानीलाई आधार बनाइएको छ । खाद्यवस्तु उपलब्धतामा डेनमार्क, नर्वे, फ्रान्स, अमेरिका र नेदरल्यान्ड पहिलो पाँच स्थानमा छन् ।
खाद्य वस्तुको गुणस्तर र सुरक्षामा खाद्य व्यवहार (भोजन) विविधीकरण तथा पोषणको मापदण्डलाई आधार बनाइएको छ । इजरायल, फ्रान्स, अमेरिका, पोर्चुगल र स्पेन गुणस्तरीय वस्तु उपभोग गर्नेमा अगाडि छन् ।

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन