निमित्त रजिस्ट्रार थापाको सरुवा -ठाकुरलाई रजिस्ट्रारको जिम्मेवारी

 

कारोबार संवाददाता
काठमाडौं, ११ साउन -भ्रष्टाचार अभियोगमा मुछिएका कम्पनी रजिस्ट्रारको कार्यालयका निमित्त रजिस्ट्रार केशवबहादुर थापालाई सरुवा गरिएको छ । कानुन मन्त्रालयले मंगलबार थापालाई न्याय प्रशासन तालिम केन्द्र बबरमहलमा सरुवा गरेको हो । थापाले सरुवाको पत्र मंगलबार नै बुझेको स्रोतले जनाएको छ ।
थापाले सेवाग्राहीसँग घुस मागेको, नियमविपरीत फाइल सदर गर्ने गरेको तथा सेवाग्राहीलाई अनेक बहानामा दुःख दिने गरेको समाचार कारोबारले दुई साताअघि प्रकाशित गरेको थियो ।
सेवाग्राहीमार्फत किर्ते र जालसाजी काम गरेर मोटो रकम माग्ने गरेको भन्दै पीडितले थापालाई कारबाही गर्न विभिन्न न्यायिक निकायमा किटानी जाहेरी दिएका थिए ।
सञ्चारमाध्यममा आएको समाचार र पीडितले दिएको किटानीका आधारमा राष्ट्रिय सर्तकता केन्द्रले थापासँग गएको सोमबार बयान लिएको थियो । “सुरुमा नमाने पनि पछि सबै प्रमाण भेटिएपछि किर्ते गरेको स्वीकारका थिए,” सर्तकर्ता केन्द्रका एक उच्च अधिकारीले भने ।
उनका अनुसार थापाले ११ महिनासम्म बिनाहाजिर काम गरेको र रमनापत्र नलिई प्रशासनिक निकायको उच्च पदमा बसेर काम गरेको भेटिएपछि केन्द्रले लिखित जवाफ माग गरेको छ । थापाले तीन महिनाअघि निमित्त प्रमुखको जिम्मेवारी पाएका थिए ।
सतर्कता केन्द्रको पत्राचारका आधारमा अर्को व्यवस्था नभएसम्मका लागि उद्योग मन्त्रालय औद्योगिक प्रवद्र्धन महाशाखा प्रमुख अनिलकुमार ठाकुरलाई रजिस्ट्रारको जिम्मेवारी दिइएको छ । स्रोतका अनुसार ठाकुरले मन्त्रालयमा महत्वपूर्ण जिम्मेवारी सम्हाल्दै आएकाले दुबै जिम्मेवारी सम्हाल्न नसक्ने बताएका छन् ।
केन्द्रको निर्देशनका आधारमा तीन महिनाअघि कम्पनी रजिस्ट्रारको कार्यालयबाट काजमा खटाइएका उद्योग मन्त्रालयका उपसचिव लक्ष्मण ठाकुरलाई रजिस्ट्रारको कार्यालयमा फिर्ता बोलाएको मन्त्रालयले जनाएको छ । ठाकुरले बिहीबारदेखि जिम्मेवारी सुरु गरेका छन् । यद्यपि, उद्योग मन्त्रालयले उनलाई बिहीबारसम्म कुनै पत्र दिएको छैन ।
ठाकुर कम्पनी ऐन २०६३ का मस्यौदाकार पनि हुन् । उनलाई उद्योग मन्त्रालयले खानी विभागमा सरुवा गरेपछि बिदामा बसेका थिए । हाल कानुन मन्त्रालयमा उपसचिव पदमा कार्यरत तोयानाथ अधिकारीलाई केशवबहादुर थापाको ठाउँमा सरुवा गरिएको छ ।
 

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक