सिमेन्ट उद्योगमा पूर्वाधार निर्माण भएन


 कारोबार संवाददाता
काठमाडौं, २५ असार 
सरकारले नौवटा सिमेन्ट उद्योगमा यसै वर्षभित्र पु¥याउने भनिएको विद्युत् प्रसारण लाइन र सडक विस्तारको काम पूरा नहुने भएको छ । सरकारले यसै आर्थिक वर्षभित्र उत्पादन सुरु गर्ने उद्योगमा विद्युत् प्रसारण लाइन र सडक विस्तारका गर्ने घोषणा गरेको थियो । सडक विस्तार, बिजुलीका लागि छुट्याइएको बजेट समयमा निकासा गर्न समस्या भएकाले यो वर्ष सडक विस्तार नहुने भएको हो । समयमा बजेट निकासा नहुँदा ठेकेदारले समयमै काम गर्न अनिच्छुक काम प्रभावित भएको उद्योग मन्त्रालयले जनाएको छ । उद्योग मन्त्रालयको मातहतमा सडक विभाग र ऊर्जा मन्त्रालयको सहकार्यमा यी उद्योगमा सडक सेवा र बिजुली पु¥याउन लागिएको हो । 
अघिल्लो वर्षको बजेटमा सरकारले औद्योगिक पूर्वाधार विकास कार्यक्रममा विशेष प्राथमिकता दिने भन्दै उदयपुर, मकवानपुर, धादिङ, रोल्पा, दाङ जिल्लामा स्थापना गरिने निर्माणाधीन सिमन्ट उद्योगका लागि सडक निर्माण एवं विद्युत् प्रसारण लाइन र पानीका सुविधा उपलब्ध गराउने घोषणा गरेको थियो । 
त्यही घोषणालाई पूर्णता दिन उद्योग मन्त्रालयले यसै वर्षभित्र १२ वटा उद्योगमा सडक विस्तार कार्यक्रम अघि बढाएको मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार नौ सिमेन्ट उद्योगले यसै वर्षदेखि नै उत्पादन सुरु गर्ने प्रतिबद्धता जनाएका छन् ।  अन्य तीन उद्योगले आगामी वर्षभित्र सञ्चालन गर्ने भन्दै मन्त्रालयमा पूर्वाधार विकासका लागि सडक पहँुच विस्तार र विद्युत् प्रसारण लाइनको माग गरेको मन्त्रालयकी प्रवक्ता यामकुमारी खतिवडाले जानकारी दिइन् । “पूर्वाधार विकासका काम गत वर्षदेखि नै सुरु गरिए पनि यो वर्ष सडक विस्तारको काम नहुने पक्का भएको छ,” उनले भनिन्,  “विद्युत् प्रसारणको काम भने सुरु नै भएको छैन ।” मन्त्रालयले बहुवर्षीय योजनाअनुरूप गत वर्षदेखि नै यसै आवभित्र उत्पादन सुरु गर्ने नौवटा सिमेन्ट उद्योगको सडक विस्तार कार्य चालू आवमै सकाउने भन्दै काम अघि बढाएको हो । मन्त्रालयका अनुसार दाङमा रहेको दाङ सिमेन्ट, सोनपुर, घोराही र रोल्पा  सिमेन्टले यसै वर्षदेखि उत्पादन सुरु गर्ने भएका छन् । कपिलवस्तुमा रहेको मकालु सिमेन्ट पाल्पाको सीजी, धादिङमा स्थापना भएका युनाइटेड र लक्ष्मी सिमेन्टले पनि यसैवर्षदेखि उत्पादनकार्य सुरु गर्ने मन्त्रालयले जनाएको छ । उदयपुरको सौर्य सिमेन्ट र मकवानपुरको शिवम् सिमेन्टले पनि यसै वर्षदेखि उत्पादन सुरु गर्ने भन्दै मन्त्रालयमा सडक र विद्युत् प्रसारण लाइनको माग गरेका छन् । “विभिन्न कारणले गर्दा यो वर्ष सकिने कुनै सम्भावना छैन,” खतिवडाले भनिन्, “बरु करिब १२ करोड रुपैयाँ फ्रिज हुने देखिएको छ ।” 
मन्त्रालयका अनुसार १२ वटा सिमेन्टको पूर्वाधार स्थापनाका लागि सरकारले ३८ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । मन्त्रालयले सडक विस्तारका लागि दाङ, पाल्पा, शिवपुर, ललितपुर, भरतपुर, हेटौंडा र लाहान गरी सातवटा डिभिजन सडक कार्यालयलाई जिम्मा दिएको छ ।
 

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक