कम्पनी रजिस्ट्रार कार्यालयमा खुलेआम भ्रष्टाचार


 निरु अर्याल
काठमाडौं, २६ असार
– जेठको पहिलो साता नयाँ कम्पनी दर्ता गर्न कम्पनी रजिस्ट्रार कार्यालय पुगेका गोरखाका सविन पाठकले दर्ता गर्न लागेको कम्पनीको नाम जुध्यो भनेर कर्मचारीले नयाँ नाम राख्न भन्दै फाइल फिर्ता पठाए । पछि त्यही फाइल बोकेर प्रमुखकहाँ पुग्दा १५ सय मागे र त्यही नाममा फाइल सदर गरे ।
– वैशाख २२ देखि सेयर लगत लिन कम्पनी रजिस्ट्रार धाउन थालेका बालुवाटारका चन्द्रमणि बाँस्कोटाले दुई महिना बितिसक्दा समेत आफ्नो कम्पनीको सेयर लगत पाउन सकेका छैनन् । जिम्मेवार कर्मचारीबाटै ५ लाख रुपैयाँ बुझाएमात्र सेयर लगत दिने जवाफ पाएपछि बाँस्कोटा केही दिनदेखि न्यायिक निकाय धाउन थालेका छन् ।
– असार ५ गते होटल अन्नपूर्णअन्तर्गत अन्नपूर्ण इन्टरनेसनल प्रालिको ६ सय कित्ता सेयर राजस्व अनुसन्धान विभागले रोक्का गरेकै अवस्थामा कम्पनी रजिस्ट्रारको कार्यालयले नामसारी गरेको छ । स्रोतका अनुसार नामसारीका लागि ५ लाख रुपैयाँ लेनदेन भएको छ । कम्पनीमा रहेको सजनी प्रधानको सेयर राजस्व अनुसन्धान विभागले कर चुक्ता नहुन्जेलका लागि रोक्का गरेको थियो ।



Name- ‘राम्रोभन्दा हाम्रो’ र ‘कामभन्दा कमाइ’ प्रतिको ध्यानले कम्पनी रजिस्ट्रार कार्यालय प्रायः यस्तै भ्रष्टाचारका घटनामा तानिँदै आएको छ । दैनिकजसो कार्यालय परिसरमा भेटिने पीडित सेवाग्राही भन्छन्, “कर्मचारीले सबै काममा केही न केही त्रुटि देखाएर अल्झाउँदै पैसा माग्छन्, नदिए फाइलै रोक्दिन्छिन् ।” कर्मचारीले माथिको आदेश भन्दै पैसाको बार्गेनिङ गर्ने गरेको उनी बताउँछन् ।
कम्पनी रजिस्ट्रारको कार्यालय मुलुकभरिका कम्पनी दर्ता गर्ने, दर्ता भएका कम्पनीको रेखदेख, नियमन र निर्देशन दिने एकमात्र निकाय हो । यहाँ दैनिक ५० भन्दा बढी नयाँ कम्पनी दर्ता हुन्छन् र ५ सयभन्दा बढी सेवाग्राही आउँछन् ।
छिमेकीको कामले गत आइतबार कम्पनी रजिस्ट्रारको कार्यालय पुगेका सिन्धुपाल्चोकका रोशन दुलाल कर्मचारीको व्यवहारले दिक्क थिए । “बाहिर आयो दलालले घेर्छन्, भित्र गयो कर्मचारीले खुलेआम पैसा माग्छन्,” आक्रोशित हुँदै उनले भने, “माथिको आदेश छ, पैसा दिनुहुन्न भने तपाईंको फाइल अघि बढ्दैन भन्दै पैसा मागियो ।”
टाइम्स इनर्जी कम्पनीका प्रबन्ध निर्देशक सीएम बाँस्कोटाले सेयर लगतका लागि दुई महिनाअघि निवेदन दिएका हुन् तर अहिलेसम्म उनको फाइल अघि बढेको छैन । कम्पनी ऐनअनुसार सेयरधनीले निवेदन दिएको कम्तीमा दुई दिन र बढीमा १५ दिनभित्र सेयर लगत पाउनुपर्ने व्यवस्था छ । बाँस्कोटा भन्छन्, “पहिले मसँग ५ लाख रुपैयाँ मागियो, मैले न्यायको खोजी गर्दै सचिव र त्यसपछि मन्त्रीसमक्ष गुनासो गरे, मन्त्रीले तपाईंको काम तुरुन्तै हुन्छ जानुस् भनेपछि फर्केर रजिस्ट्रारको कार्यालय आएँ, त्यहाँ आएपछि ठूलो कम्पनी रहेछ भन्दै निमित्त रजिस्ट्रार केशवबहादुर थापाले १५ लाख नदिए फाइल रोक्ने धम्की दिए ।”
सविन पाठक जेठको पहिलो साता नयाँ कम्पनी दर्ताका लागि गोरखाबाट काठमाडौं आएका थिए । दर्ताका कर्मचारीले कम्पनीको नाम जुध्यो भनेर नयाँ नाम राखेर ल्याउन सल्लाह दिए । “तैपनि हाकिमलाई भेट्दा केही भइहाल्छ कि भनेर त्यही फाइल बोकर गएँ,” उनले भने, “१५ सय दिनुस्, तपाईको फाइल सदर हुन्छ भन्दै हाकिमले मसँग पैसा लिए र त्यही फाइल सदर भयो ।”
सधैं पैसा खाने अड्डाको रूपमा आरोप लाग्दै आएको कम्पनी रजिस्ट्रारको कार्यालयमा पछिल्लो समय पैसाबिना कामै हुन छाडेको छ । सोही ठाउँमा लेखापढी गर्ने एक कानुन व्यवसायी भन्छन्, “अहिले कर्मचारीले अत्ति नै गर्न थालेका छन्, फाइल हेरेकै ५ सय रुपैयाँ लिन्छन् ।”
सेयरको लगत, नामसारी र जरिवानासम्बन्धी काम कर्मचारीका लागि पैसा कमाउने आधार हुन् । असारको पहिलो साता निमित्त रजिस्ट्रार थापाले होटल अन्नपूर्णमा रहेको अन्नपूर्ण इन्टरनेसनल प्रालिको सजनी प्रधानको नाममा रहेको ६ सय कित्ता सेयर कल्पदीप राईका नाममा नामसारी गर्दा ५ लाख रकम लिएको स्रोतले बतायो । राजस्व छली गरेको भन्दै कम्पनीको सेयर किनबेच गर्न राजस्व अनुसन्धान विभागले रोक लगाएको थियो । विभागको स्वीकृतिबिनै नामसारी गरेको विषयलाई लिएर अन्नपूर्णका सेयरधनीबीच विवाद चुलिन थालेपछि थापासँग ५ लाख रुपैयाँ फिर्ता पाउन भन्दै निवेदनसमेत परेको स्रोतको दाबी छ ।
थापा भने यो झुटो आरोप भएको बताउँछन् । “ममाथि आएका आरोप सबै झुटा हुन्, यसमा कुनै तुक छैन,” उनले कारोबारसँग भने, “कसैले प्रमाण देखाउन सक्छ भने भने सजाय भोग्न तयार छु ।”
कार्यालयकै केही व्यक्ति आफूमाथि खनिएको दाबी गर्दै उनले भ्रष्ट कानुन व्यवसायीका कारण आफूलाई बदनियतपूर्ण रूपमा दोष लगाइएको भन्दै आरोप खण्डन गरे । “सीमित स्रोत र अपर्याप्त जनशक्तिले सेवाग्राहीको काम समयमा हुन सकेको छैन, यसैको मौका उठाएर कार्यालयको बदनाम गर्न खोजिएको मात्र हो,” थापाले भने ।
तर, कर्मचारीहरू पनि थापाविरुद्ध देखिन्छन् । कारोबारसँगको कुराकानीमा केही कर्मचारीले थापाले अनेक बहाना बनाएर आफूहरूलाई दुःख दिने र धम्क्याउने गरेको बताए । “नर्कमा आएर स्वर्गको कल्पना नगरे हुन्छ भन्दै हामीलाई थर्काउँछन्,” नाम नखुलाउन आग्रह गर्दै एक कर्मचारीले भने, “यिनी रहुन्जेल हामीजस्ता इमान्दार कर्मचारी पनि भ्रष्ट ठहरिने भयौं ।”
स्रोतका अनुसार थापाले केही समययता हरेक कर्मचारीबाट दैनिक ५ सयदेखि ३५ सय रुपैयाँसम्म उठाउँदै आएका छन् । ‘माथिबाट त्यस्तै आदेश छ, होइन भने तपाईको सरुवा गरिदिन्छु’ भन्दै धम्क्याउने गरेको कर्मचारीको गुनासो छ ।
निजामती सेवाको उपसचिव स्तरका थापाको पदस्थापन भूमिसुधार तथा व्यवस्था मन्त्रालयमा छ । भूमिसुधारबाट उनले २०६७ भदौमा कम्पनी रजिस्ट्रारको कार्यालयमा काज सरुवा पाएका हुन् । उनले यसअघि पनि निमित्त भई काम गरेका थिए । २२ महिनाअघि कानुन मन्त्रालयबाट भूमिसुधारमा सरुवा गरिए पनि उनी रमानापत्रै नबुझी तीन महिनासम्म हाजिर हुन नगएपछि कारबाहीमा परेका थिए ।
भूमिसुधारबाट कारबाहीमा परेपछि उनले तलबसमेत नबुझी ठेक्काको रूपमा कम्पनी रजिस्ट्रार कार्यालय सञ्चालन गरिरहेको स्रोतको दाबी छ । उनले उद्योगमन्त्री अनिलकुमार झालाई खुसी पारी दुई महिनादेखि निमित्तको रूपमा कार्यालय सम्हालेका हुन् । कम्पनी रजिस्ट्रारको कार्यालयमा सहसचिव स्तरको रजिस्टार रहनुपर्ने व्यवस्था छ ।

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन