विराटनगरबाट कम्पनी दर्ता हुने

कारोबार संवाददाता


काठमाडौं, २१ असार- केन्द्रीय कार्यालयबाट मात्रै कम्पनी दर्ता गर्दै आएको कम्पनी रजिस्टारको कार्यालयले आगामी साउनदेखि पूर्वाञ्चलको विराटनगरबाट समेत कम्पनी दर्ता गर्ने तयारी गरेको छ । पछिल्लो समयमा नयाँ कम्पनीको दर्ता बढ्दै गएकाले कार्यालयले पहिलो चरणमा विराटनगरबाट नयाँ कम्पनी दर्ता गर्ने प्रक्रिया अघि बढाएको हो ।
क्षेत्रीय स्तरबाट कम्पनीको दर्ता गर्दा राजधानीमा कम्पनीको चाँप घट्ने र दर्तालाई व्यवस्थित गर्न सहज हुने भएकाले विराटनगरबाट समेत कार्य सम्पादन गर्न खोजेको रजिस्टारको कार्यालयले जनाएको छ ।
“पहिलो चरणमा हामीले विराटनगरबाट कम्पनी दर्ता गर्ने व्यवस्था मिलाउन लागेका हौं,” रजिस्टारको कार्यालयका निमित्त रजिस्टार केशवबहादुर थापाले कारोबारसँग भने । उनका अनुसार यस्तो सुविधा नयाँ खुल्ने कम्पनीहरूले मात्र पाउने छन् यद्यपि असार मसान्तसम्म दर्ता हुने र भइसकेका कम्पनीले भने यस्तो सुविधाबाट बञ्चित  हुनेछन् । “हामीले पहिलो चरणको काम दर्ता, सेवा, आपूर्तिजस्ता कामहरू क्षेत्रीयस्तरबाटै सुरु गर्ने अभियानमा छौं,” थापाले भने, “यो सम्भवत यही साउनदेखि सुरु हुन्छ ।” उनका अनुसार चालू आवको असार तेस्रो सातासम्म पूर्वाञ्चलबाट १७ हजारभन्दा बढी कम्पनी दर्ता भएका छन् ।
यी कम्पनीमध्ये कत्ति सञ्चालनमा छन् भन्ने तथ्यांक भने कार्यालयसँग छैन । टाढाबाट सेवाग्राही कार्यालय धाउन नसक्ने र कार्यालय र कर्मचारीको समेत बदनियत हुन थालेकाले रजिस्टारको कार्यालयले क्षेत्रीय स्तरबाट कम्पनी दर्ता सुरु गर्न थालेको हो ।
दर्ताका लागि अनलाइन सफ्टवेयरको काम भइरहेको भन्दै थापाले यसबाट सेवाग्राहीहरू कम्पनी दर्ताकै लागि राजधानी आउने झन्झटबाट मुक्त हुन सक्ने बताए । उनका अनुसार पहिलो चरणको कम्पनी दर्ता गर्ने काम विराटनगरस्थित घरेलु तथा साना उद्योगको कार्यालयबाट हुनेछ । यसअघि कार्यालयले ललितपुरबाट पनि कम्पनी दर्ता गर्न पाउने व्यवस्था गरेको थियो ।
रजिस्टार थापाले पहिलो चरणमा दर्ता र सेवा आपूर्तिको काममात्रै स्थानीय स्तरबाट गर्न सके केन्द्रीय कार्यालयको फाइल व्यवस्थापन गर्न सहज हुने बताए । रजिस्टारको कार्यालयमा अहिलेसम्म करिब १ लाख कम्पनी दर्ता भएका छन् ।
रजिस्टारको कार्यालयमा कम्पनीको चाँप अत्याधिक भएको र भएका फाइललाई व्यवस्थित गर्न नसक्ने भएपछि क्षेत्रीय स्तरबाट कम्पनी दर्ता गर्न रजिस्टारको कार्यालय बाध्य भएको थापाको भनाइ छ । परिसरमा झन्डै १ लाख कम्पनीका फाइल विभिन्न अवस्थामा खाँदिएर रहेको थापाले बताए ।
“यिनै कम्पनीको फाइललाई व्यवस्थित गर्न समस्या परेको छ, उताको फाइल उतै राख्न सकियो भने केही समस्या हटेर जानेछ,” उनले भने । उनका अनुसार पहिलो चरणमा दर्ता र सेबा आपूर्तिको काम मात्रै क्षेत्रीय स्तरबाट हुनेछ । सेवाग्राहीले सहजता महसुस गरेमा पाँचबटै क्षेत्रीय स्तरबाट कम्पनी दर्ता प्रक्रिया अघि बढ्नेछ ।
रजिस्टारको कार्यालयका कमर्चारीहरूले विभिन्न बहानामा समयमा काम नगर्ने, सानो समस्याले महिनौं दिनसम्म सेवाग्राहीलाई अल्झाएर राख्नेजस्ता अनेक प्रकृतिका दुःख दिने गरेको गुनासो सेवाग्राहीले गर्दै आएका छन् । रजिस्टार थापाले सेवाग्राहीको गुनासो स्वाभाविक भएको बताउँदै भने, “हाम्रो समस्या यहाँका फाइल व्यवस्थित गर्न नसक्नु हो, फाइल व्यवस्थित गर्न सक्यौ भने सेवाग्राहीका गुनासा हट्ने छन् ।”




Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक