काठको विकल्पमा सिमेन्टका चौकोस


Name




निरु अर्याल
बर्दघाट (नवलपरासी) ,
 १० असार- वन विनासका कारण काठका सामानको आकासिएको मूल्यबाट पीडित उपभोक्ताले विकल्पका रूपमा सिमेन्टबाट निर्मित सामानहरू सस्तो मूल्यमा पाउने भएका छन् । नेपालमै निर्माण हुने र काठभन्दा आधा सस्तो पर्ने भएपछि सिमेन्टका चौकोसबाट नेपालीहरू लाभान्वित हुने भएका हुन् ।परम्परागत रूपमा सिमेन्टका ब्लक उत्पादन गर्दै आएका नवलपरासीका उद्यमीले सिमेन्टका झ्याल ढोकाका चौकोस निर्माण गरी बिक्री सुरु गरेपछि काठको अभावमा घर तथा भवन निर्माण कार्यमा भौतारिरहेका उपभोक्तालाई राहत भएको छ ।  सबै प्रकारको घर तथा भवनका लागि उपयुक्त यस्ता चौकोसहरू काठका चौकोसभन्दा आधा सस्तो हुने भएकाले पनि यसको माग बढ्न थालेको हो ।   काठको विकल्पका रूपमा प्रयोग हुने सिमेन्टबाट झ्याल–ढोकाका चौकोसलगायतका निर्माण सामग्रीको प्रयोगले उपभोक्ताको कुल लागतमा ५० प्रतिशतसम्म बचत हुने बर्दघाटस्थित दाउन्नेदबी टायल कारखानाका सञ्चालक टीकाराम भण्डारीले जानकारी दिए । उनका अनुसार सिमेन्टबाट निर्मित झ्यालढोकाका चौकोसहरू २ हजारदेखि ३ हजार रुपैयाँसम्ममा पाइन्छ भने काठका चौकोसहरू ४ हजारदेखि ६ हजारसम्म पर्ने गर्छ । सिमेन्टका चौकोसहरूको मूल्य कम पर्ने भएका कारण उपभोक्ताको मागअनुरूप निर्माण गर्न नसकिरहेको उनको तर्क छ । भण्डारीले काठजस्तै गुणस्तरीय हुने भएकाले पनि सर्वसाधारणहरू सिमेन्टबाट निर्मित चौकोसप्रति आकर्षित भएको बताए । उनका अनुसार यस्ता वस्तुको निर्माण गर्दा बिजुलीको लागतसमेत कम हुने भएकोले उपभोक्ताले सस्तो र सुलभ मूल्यमा भरपर्दो सामान पाउँछन् । उनले बढ्दो वातावरण बिनासलाई न्यूनीकरण गर्न पनि यसले सघाउ पुगेको बताए । सिमेन्टको चौकोस निर्माण गर्दा रड, गिटी, बालुवा र सिमेन्टको प्रयोग गरिन्छ । चौकोसलगायतका सिमेन्टबाट निर्मित वस्तुहरू सामान्यदेखि अत्याधुनिक घरहरू बनाउन प्रयोग हुने गरेको भण्डारीले जानकारी दिए । भण्डारीले जस्तै कावासोतीस्थित लुम्बिनी ब्लक इन्ड्रस्टिजका सञ्चालक शिव गिरीले पनि सिमेन्टबाट निर्मित यस्ता वस्तुको प्रयोगले काठमा हुने खर्चभन्दा एक तिहाइ रकम बचाउन सकिने अनुभव सुनाए । “काठको विकल्पका रूपमा प्रयोग हुने यस्ता सामग्रीको प्रयोगले ५० प्रतिशत सस्तो पर्न जान्छ,” उनले भने । उनका अनुसार नवलपरासीका उद्यमीहरूले एक वर्षको अन्तरालमा १ सय ५० भन्दा बढी घरमा सिमेन्टका चौकोसहरू उपभोक्तासामु पु¥याइसकेका छन् । काठभन्दा सस्तो पर्ने, धमिरा कीरा नलाग्ने, जंगलको पनि संरक्षण हुने भएकाले सिमेन्टका चौकोस निर्माणमा व्यवसायीहरू लागेको गिरीले बताए ।  सिमेन्टका चौकोस बनाउन नेपाल घरेलु तथा साना उद्योग महासंघ र युरोपियन युनियनको सहयोगमा सञ्चालित सस्टेनेवल प्रोडक्सन एन्ड कन्जम्पसन नामक परियोजनाले यस्तो प्रविधि नेपालमा सुरु गरेको हो । आरसीसी झ्यालढोका फ्रेम भनेर चिनिने यस्ता चौकोस सर्वसाधारणलाई उपयुक्त हुने दाबी परियोजनाले गरेको छ । निर्माण व्यवसायमा दिगो एवं वातावरणमैत्री उत्पादन तथा प्र्रयोगलाई प्रवद्र्धन गर्न भन्दै दुई साझेदार मुलुकको सहकार्यमा १० जिल्लामा परियोजना सञ्चालन हुने भएको छ । हालसम्म पर्वत र पाँचखालमा परियोजना लागू भइसकेको र महोत्तरी र रूपन्देहीमा यसै आवभित्र कार्यक्रम सञ्चालन गर्ने लक्ष्य लिएको चितवनका परियोजना संयोजक चूणामणि भट्टराईले बताए । उनले भने, “परियोजनाले कामदार, प्राविधिक, इन्जिनियर, आर्किटेक्चर र उद्यमीहरूमा चेतना तथा सीप अभिवृद्धि गर्नलाई सहयोग पु¥याउनेछ ।” ४० महिनाको समय अवधि तोकिएको यस परियोजनाको साझेदारका रूपमा नेपाल घरेलु तथा साना उद्योग महासंघ र स्कट फाउन्डेसन स्विट्जरल्यान्ड छन् । दातृ निकायले यसमा २० करोड रुपैयाँ सहयोग उपलब्ध गराएका छन् ।
 

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक