Monday, June 25, 2012

धादिङमा हाइड्रोलिक प्रविधिबाट इँटा उत्पादन




Name




निरु अर्याल
धार्के (धादिङ), १० असार
 धादिङको धार्केमा रहेको यती टायल एन्ड ब्रिक उद्योगले हाइड्रोलिक प्रविधिबाट इँटाको उत्पादन सुरु गर्ने भएको छ । वातावरणीय जोखिमता न्यूनीकरण गर्ने उद्देश्यका साथ हाइड्रोलिक प्रद्धतिबाट इँटाको उत्पादन  गर्ने यो उद्योग नेपालकै पहिलो बन्नेछ । धादिङको धार्केस्थित थाक्रे गाविसका–९ मा १० करोड रुपैयाँको लागतमा स्थापना भएको यो उद्योग ८० रोपनी जमिनमा हाल निर्माणाधीन अवस्थामा छ । परम्परागत प्रविधिबाट इँटा बनाउँदा वातावरण दूषित हुने तथा मानवस्वास्थ्यमा गम्भीर असर पर्ने भएपछि यो प्रविधिबाट इँटा उत्पादन गर्दा न्यून प्रभाव पर्ने उद्योगका प्रबन्ध निर्देशक सुईस श्रेष्ठले बताए । उनका अनुसार यस्तो प्रविधिबाट इँटाको उत्पादन गर्दा वातावरणीय जोखिमतालाई ८० प्रतिशतसम्म घटाउन सकिनेछ । इँटाको पोलाई एकै किसिमको हुने,  इँटाको आकारमा समानता र न्यून ऊर्जा खपत हुने भएकाले यो प्रविधि उपयुक्त भएको श्रेष्ठको दाबी छ । मेसिनबाट इँटा तयार गर्दा १० जनाले गर्न सक्ने काम एक जनाले गर्न सकिने बताउँदै उनले प्लास्टर गर्दा ४० प्रतिशतसम्म सिमेन्ट बचत हुने बताए ।  पूर्णतयाः हाइड्रोलिक प्रविधिको प्रयोग गरिएकाले धूलो, धुवाँ र खरानीबाट सजिलै बच्न सकिने र आवाज नआउनेजस्ता यसका विशेषताहरू छन् । प्रारम्भिक चरणमा  उद्योगबाट प्रत्यक्ष र अप्रत्यक्ष गरी करिब १ सय ५० मजदुर कार्यरत हुने यस उद्योगको दैनिक १४ हजार इँटा उत्पादन गर्ने क्षमता छ । यो प्रविधिबाट इँटाको उत्पादन गर्दा मानव स्वास्थ्यमा असर नपर्ने भएकाले यसको प्रवद्र्धन गर्न सकेमा स्थानीयस्तरमा हजारौंलाई रोजगारी दिन सकिने उद्योगको दाबी छ । उद्योगका सुपरभाइजर नारायणप्रसाद पौडेलले घरेलु महासंघको प्राविधिक सहयोगमा इँटा उद्योग स्थापना गरिएको जानकारी दिए । उनका अनुसार यस प्रविधिको प्रयोगले दुई युनिट बिजुलीबाट १४ हजार इँटा तयार गर्न सकिने हुँदा विद्युत्मा ४५ प्रतिशतसम्म बचत गर्न सकिनेछ ।उनका अनुसार हालै स्थापना भएका सीई डेभलपर, सीई कन्ट्रक्सन, ग्रान्डी टाबरजस्ता कर्पोरेट हाउसहरू भीएसबिके इँटाको प्रयोगबाट बनेका हुन् । यो प्रविधिको प्रयोगले डिजिटल माध्यमबाट १२ महिना काराखाना चलाउन सकिने उनको भनाइ छ ।नेपालमा इँटा व्यवसायको अवस्था जोखिमपूर्ण भएकाले यस्ता प्रविधिको प्रवद्र्धन अत्यावश्यक रहेको संयोजक अरुण क्षेत्रीले बताए । “परियोजनाको मुख्य उद्देश्य वातावरणीय क्षति न्यूनीकरण गर्ने रहेको छ,” उनले भने । नेपालमा इँटा व्यवसायलाई  दिगो रूपमा विकास गर्न यसअघि स्वीस सरकारले भीएसबिके सीसीएसईएफ नामक इँटा उत्पादनका लागि सहयोग गरिसकेको छ । क्षेत्रीका अनुसार सन् २००० देखि २०११ सम्म सञ्चालित परियोजनाबाट नेपालका विभिन्न २६ जिल्लामा यस्ता उद्योग स्थापना भइसकेका छन् । उनले भने,  “परियोजना ४० महिनाका लागि सम्झौता भएको छ, यस अवधिसम्म ३५ जिल्लाका इँटा उद्योगबाट हुने वातावरणीय जोखिमतालाई न्यूनीकरण गर्ने योजना छ ।  परियोजनाले हरित तथा दिगो निर्माणको अभ्यासका लागि आवश्यक पर्ने नीति निर्माण गर्न र विश्वव्यापी  तापक्रम र  जलवायु परिवर्तनको क्षेत्रमा थप सहयोग पुयाउने क्षेत्रीले बताए । नेपालको औद्योगिक विकासको क्षेत्रमा काम गर्न परियोजनालाई २० करोड रुपैयाँ अनुदान प्राप्त छ ।

No comments:

Post a Comment

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...