घरेलु उद्योग विकास समितिका ७८ कर्मचारीद्वारा राजीनामा

 निरु अर्याल
काम गर्ने वातावरण छैन : कर्मचारी
सबै झुटा आरोप हुन : कार्यकारी निर्देशक

काठमाडौं, २९ जेठ - त्रिपुरेश्वरस्थित घरेलु तथा साना उद्योग समितिका ७८ कर्मचारीले कार्यकारी निर्देशक जयनारायण महतोको क्रियाकलापप्रति असन्तुष्ट जनाउँदै सामूहिक राजीनामा दिएका छन् ।
उद्योग मन्त्रालयका निमित्त सचिवसमक्ष लक्ष्मण भट्टराईसमक्ष सोमबार कर्मचारीहरूले राजीनामा दिएका हुन् । दुई महिनादेखि तालाबन्दीसहित विरोधमा उत्रिएका कर्मचारीले कार्यकारी निर्देशक महतोले आफूहरूमाथि अभद्र व्यवहार गरेको र नियमित कार्यसम्पादनमा समेत अवरोध गरेको आरोप लगाएका छन् ।
आन्दोलनरत कर्मचारी महतोले चरम आर्थिक हिनाबिना गरेको र नियमित कार्यसम्पादन गर्न नसकेको भन्दै उनको कार्यकक्षमा ताला लगाएका थिए । निर्देशक महतोले आइतबार बाहिरका मान्छे लगेर ताला फोडी अभद्र व्यवहार गरेपछि सोमबार कर्मचारी संगठनको टोली राजीनामाका लागि मन्त्रालय पुगेको हो ।
महतोले कर्मचारीको सरुवा गर्दा चरम आर्थिक हिनामिना गरेको र कार्यालयको कार्य सम्पादन गर्न असक्षम रहेको, समस्या समाधान गर्ने वैधानिक बाटो हुँदाहुँदै बल प्रयोग गरी आफ्नो बसमा पार्न खोजेको कर्मचारीको आरोप छ ।
कर्मचारीको सहमतिबिना ताला फोरेपछि कर्मचारीहरूले सामूहिक राजीनामा मागेको एकीकृत कर्मचारी संघका अध्यक्ष शोभाखर गौतमले बताए । उनका अनुसार आइतबार बेलुका कार्यालयको समय सकिन लाग्दा महतोको नेतृत्वमा खटिएको १५ जनाको टोलीले कार्यालयमा लगाइएको ताला फोरेर टेबल दराजलगायतका सामानमाथि बल प्रयोग गरेका थिए । निर्देशक महतोले कुनै जानकारीबिनै अपरिचित व्यक्तिलाई साथमा लिएर कर्मचारीमाथि भौतिक आक्रमण गर्न खोजेको आरोप लगाउँदै गौतमले यस्तो वातावरणमा काम गर्ने अवस्ता नभएको र जिउधनको सुरक्षाको माग गर्दै राजीनामा दिएको बताए ।
उनले भने, “निर्देशक महतोले कर्मचारीमाथि हातपात गर्ने, कार्य सम्पादन गर्न अवरोध गर्ने कर्मचारीमाथि तथानाम गाली गलौज गर्ने धम्क्याउनेजस्ता अभद्र व्यवहार गर्नुभयो, हामीले बाध्य भएर मन्त्रालयसमक्ष राजीनामा दिएका हौं ।” उनका अनुसार समितिमा कार्यरत ७८ कर्मचारीले मंगलबारदेखि मन्त्रालयमै हाजिर गर्ने छन् ।
गौतमले भने, “हामीले राजीनामा पत्र उद्योग सचिवको अनुपस्थितिमा निमित्त सचिवलाई बुझाएका छांै हाम्रो सुरक्षाको ग्यारेन्टी नहुँदासम्म हामी मन्त्रालयमै हाजिर गर्ने छौं ।”
समितिका अध्यक्ष घनश्यामप्रसाद रजकले पटक–पटक कर्मचारी र कार्यकारी निर्देशकको विवादलाई साम्य पार्न खोजिए पनि महतोले बलजस्ती राजनीतिक कार्यकर्ताको सहयोगमा कार्यकक्षमा प्रवेश गरेपछि स्थिति तनाव ग्रस्त भएको देखिएको बताए ।
महतोलाई करिब १ वर्षअघि तत्कालीन उद्योगमन्त्री महेन्द्र पासवानले नियुक्त गरेका हुन् । हालका उद्योगमन्त्री अनिलकुमार झाले नयाँ अध्यक्ष ल्याउन प्रस्ताव गरे पनि सर्वोच्च अदालतले पुरानै अध्यक्ष र महाप्रबन्धकलाई काम गर्न अन्तरिम आदेश दिएपछि आन्दोलन चर्किंदै गएको हो ।
गत चैतको पहिलो साता सम्पन्न २३ औं राष्ट्रिय औद्योगिक प्रदर्शनीमा कार्यकारी निर्देशकले गर्नुपर्ने कामसमेत नगरेर निमित्त कायम मुकायम निर्देशक महेन्द्रप्रसाद रेग्मीलाई काम गर्न लगाएपछि निर्देशकविरुद्ध कर्मचारी असन्तुष्ट भएको स्रोतले जनाएको छ ।
लामो समयदेखिको विरोधले समितिको कार्यसम्पादन ठप्प छ । कार्यकारी निर्देशक महतोले कारोबारसँग कुरा गर्दै आफूले कार्यसम्पादनमा कुनै अबरोध नपु¥याएको र कर्मचारीले आफूलाई बदनियत गर्न खोजेको बताए । सोमबार अपराह्न सुरक्षाकर्मी घेरामा आफ्नै कार्यकक्षमा भेटिएका महतोले आफ्नो सुरक्षाका लागि सुरक्षाकर्मीलाई साथमा राखेको बताउँदै भने, “ममाथि कर्मचारीबाटै दुव्र्यवहार गरियो योभन्दा बढी सहन सक्दिनँ ।” महतोले कानुनी उपचार हुँदाहुँदै पनि कर्मचारीले राजनीतिक पूर्वाग्रह राखेर आफूलाई बदनियत गर्न खोजेको बताए । “मैले आर्थिक हिनाबिना गरेको भन्ने आरोप छ यदि कुनै कर्मचारीले प्रमाण ल्याउन सक्छ भने राजीनामा दिन्छु,” उनले भने । उनले कर्मचारीको आन्दोलन औचित्यहीन भएको भन्दै आन्दोलन फिर्ता लिएर आफ्नो जिम्मेबारी सम्हाल्न आग्रहसमेत गरे ।
स्रोतका अनुसार महतोमाथि आर्थिक हिनाबिना गरेको र कार्यसम्पादनको विषयमा मन्त्रालयले महतोसँग स्पष्टीकरण मागिसेकेको छ । तर, अहिलेसम्म आर्थिक अनियमितताको कुनै पुष्टि नभएपछि महतो काममा फर्किएका हुन् ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक