औद्योगिकबाहेक उद्योग एक महिनाभित्र हटाइने

औद्योगिक क्षेत्रमा सेवाप्रदायक उद्योग धेरै
निरु अर्याल
काठमाडौं, ९ जेठ
औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले बालाजु औद्योगिक क्षेत्रभित्र रहेको सेवा प्रदायक उद्योगलाई हटाउने भन्दै आन्तरिक परामर्श सुरु गरेको छ ।
औद्योगिक क्षेत्रमा उत्पादनशील उद्योगभन्दा व्यापारिक कम्पनीहरू धेरै भएको गुनासाहरू आउन थालेपछि लिमिटेडले यस्ता कम्पनीहरूलाई हटाउने सम्बन्धमा आन्तरिक गृहकार्य सुरु गरेको हो ।
“व्यापारिक उद्योगलाई राख्न दिएको भन्दै धेरै साथीहरूबाट गुनासा आएका छन् यी उद्योगलाई राख्न दिने वा हटाउने विषयमा आन्तरिक गृहकार्यमा छौं,” औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका महाप्रबन्धक गौतममान श्रेष्ठले कारोबारसँग भने ।
उनका अनुसार लिमिटेडले उद्योगी व्यवसायीका साथै अन्य सरोकारवाला संघसंस्थाहरूसँग छलफल गरेर यो विषयमा एक महिनाभित्र अन्तिम टुंगो लगाउनेछ ।
औद्योगिक क्षेत्रभित्र उत्पादनमूलक उद्योग मात्र स्थापना गर्ने भनिए पनि केही वर्षयता अटोमोबाइल्सका सोरुम, रेकर्डिक स्टुडियो, कोल्ड स्टोरेज कम्पनी तथा सेक्युरिटिजी कम्पनी (ग्रुप फोर) लगायत सेवा प्रदायक कम्पनी र बहुराष्ट्रिय कम्पनीका सम्पर्क कार्यालय छन् ।
औद्योगिक क्षेत्रको प्रावधानअनुसार यस्ता कम्पनीहरू औद्योगिक क्षेत्र परिसरमा राख्न पाइँदैन । श्रेष्ठले भने, “औद्योगिक क्षेत्रभित्र व्यावसायिक उद्योग राख्न पाइँदैन धेरै उद्योगले उत्पादन गर्ने निहुँमा यस्ता उद्योग राखेका छन् ।” औद्योगिक क्षेत्र स्थापनाको समयमा व्यवस्थापन बोर्डले औद्योगिक क्षेत्रभित्र हल्का पेयपदार्थ, मैदा, बिस्कुट, निर्माण सामग्री, दुग्ध पदार्थलगायतका उद्योगहरू स्थापना गर्न पाउने व्यवस्था गरेको थियो ।
आइसक्रिमको उत्पादन, रबर उद्योग, पशुपन्छी दाना, प्लास्टिकका सामान, फुटवेयरजस्ता उत्पादनमूलक उद्योग चलाउन पाउने गरी औद्योगिक क्षेत्रको स्थापना भएको थियो । महाप्रबन्धक श्रेष्ठले मुलुकलाई  औद्योगिकीकरणको माध्यमबाट देशको आर्थिक विकास गर्न मोटर मर्मत, इन्जिनियरिङ ल्याबजस्ता तालिम केन्द्रहरू स्थापना गर्न दिने व्यवस्था गरिएकाले ठूला र बहुराष्ट्रिय कम्पनीहरूले सम्पर्क कार्यालयको स्थापना गरेको बताए ।
बालाजु औद्योगिक क्षेत्रमा विश्वमा लोकप्रिय मानिएको निसान महिन्द्राजस्ता गाडीका सोरुम स्थापना भएका छन् । यस्ता सोरुमले हालसम्म उत्पादनमूलक उद्योग सरहको सेवा सुविधा उपभोग गर्दै आएका छन् ।
बालाजु औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले केही महिना अघिसम्म सो क्षेत्रमा म्यानपावर कम्पनीलाई अनुमति दिए पनि व्यवसायी र स्थानीयको विरोधले म्यानपावर कम्पनीलाई परिसरबाट हटाइएको थियो । दैनिक लाखौंको व्यापार गर्ने गाडीका सोरुम, संगीत उद्योग, मोबाइल सोरुम, कोल्डस्टोरेज लगायतलाई हटाउन सकिएको छैन ।
सरकारले औद्योगिकीकरणको विकासका लागि औद्योगिक क्षेत्रभित्र रहने उत्पादनमूलक उद्योगलाई विशेष सुविधा दिँदै आएको छ । उत्पादनमूलक उद्योगको नाममा व्यावसायिक वा व्यापारिक कम्पनीले सुविधा लिँदा उत्पादनमूलक उद्योगले पाउने सुविधा कटौती भएको व्यवसायीको गुनासो छ ।
सरकारले औद्योगिक क्षेत्रभित्र स्थापना भएका उद्योगलाई आवश्यक भौतिक पूर्वाधार, विकसित जमिन, भवन, बिजुली, पानी, सडक ढलका साथै हुलाक, गोदाम, दिवा शिशु स्याहार केन्द्र, खेलकुद गृहजस्ता सेवाहरू दिँदै आएको छ ।
औद्योगिक क्षेत्रमा अहिले ८८ वटा उद्योग सञ्चालनमा छन् । व्यवस्थापन कार्यालयले दिएको जानकारीअनुसार २४ वटा उद्योग निर्माणाधीन अवस्थामा छन् । ११ वटा उद्योग उत्पादन हुन नसकेर बन्द भएका छन् । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार यो क्षेत्रभित्र १० वटा सेवामूलक उद्योग छन् ।
औद्योगिकीकरणको माध्यमबाट देशको आर्थिक विकास गर्न निजी क्षेत्रको भूमिकालाई उद्योग धन्दामा रूपान्तरण गर्न नेपाल सरकारले अमेरिकी सरकार युरोपियन सहयोग नियोगको सहयोगमा २०१६ सालमा यस क्षेत्रको स्थापना भएको हो । ६ सय ७० रोपनी जमिनमा फैलिएको बालाजु औद्योगिक क्षेत्र नेपालमा स्थापित ११ वटा औद्योगिक क्षेत्रमध्येको पुरानो औद्योगिक क्षेत्र हो ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक