एकदिनमा ५० करोड घाटा

बन्दले औद्योगिक क्षेत्रको उत्पादन ठप्प
निरु अर्याल
काठमाडौं, ८ जेठ- सरकारले औद्योगिक क्षेत्रलाई ‘शान्ति क्षेत्र’ घोषणा गरे पनि लगातारको बन्दले उत्पादन ठप्प छ । औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडका अनुसार मुलुकरभर सञ्चालनमा रहेका १० औद्योगिक क्षेत्रमा एकदिनको बन्दले ५० करोडभन्दा बढीे घाटा हुन्छ ।
औद्योगिक क्षेत्रमा विभिन्न खाद्य सामग्री, प्लास्टिकका सामान, लत्ताकपडा, सिमेन्ट रड, साबुन, पेयपदार्थलगायत दैनिक उपभोग्य वस्तु, निर्माण सामग्रीका उद्योग छन् ।
सरकारले गत वर्षमात्रै औद्योगिक क्षेत्रलाई शान्ति क्षेत्र घोषणा गरी बन्द–हड्तालका कार्यक्रमबाट अलग राख्ने बताएको थियो । बन्द संस्कृतिले प्रश्रय पाउँदै गएपछि औद्योगिक क्षेत्रभित्र राखिएका उद्योगसमेत प्रभावित भएको लिमिटेडका महाप्रबन्धक गौतममान श्रेष्ठले बताए ।
लिमिटेडका अनुसार राजधानीस्थित तीन औद्योगिक क्षेत्रका उद्योगसमेत बन्द छन् । राजधानीबाहिरका औद्योगिक क्षेत्रमा समेत चन्दा आतंक र लुटपाटजस्ता समस्याले उद्योग बन्द भएका छन् । बन्दकर्ताको पहिलो निसानामा उद्योग पर्ने गरेको श्रेष्ठले बताए ।
“औद्योगिक क्षेत्र खम्बा हुन् तर बन्दकर्ताको पहिलो निसानामा यातायातका साधनपछि उद्योगधन्दा र कलकारखाना पर्ने गरेका छन्,” उनले भने । लिमिटेडले जोखिमलाई ध्यान दिँदै औद्योगिक क्षेत्रभित्रका उद्योग स्वविवेकमा चलाउन उद्योगी–व्यवसायीलाई आग्रह गरेको छ ।
कच्चा पदार्थको अभाव, बजार र श्रमसमस्याले औद्योगिक क्षेत्रका उद्योग समस्यामा परेको श्रेष्ठले बताए । मुलकभर स्थापना भएका ११ औद्योगिक क्षेत्रभित्रका उद्योग–व्यवसायमा १३ अर्ब निजी र २० करोड सरकारी लगानी छ । “१० वटै औद्योगिक क्षेत्रमा ४ सय ९ वटा उद्योग स्थापना भएका छन्, बन्दले गर्दा सबैको उत्पादन ठप्प छ ।”
बालाजु औद्योगिक क्षेत्रमा सञ्चालित हिसी पोलिथिन इन्डस्ट्रिजका सञ्चालक शरद शर्माले एक ठाउँमा मात्रै बन्द भएमा त्यसको प्रत्यक्ष असर उद्योगधन्दालाई पर्ने बताए । “मुलुकको कुनै एक नाका वा ठाउँमा मात्रै बन्द भयो भने पनि दैनिक उत्पादन ५० प्रतिशत कटौती हुन्छ, लगातारको बन्दले हामी मर्माहित भएका छौं,” उनले भने ।
एकदिनको बन्दले ६० हजार रुपैयाँ ब्याजभार थपिने शर्माले बताए । “उद्योग चलाउँदा आन्दोलनकारी नै आएर कारखानामा ढुंगामुढा गर्छन्,” उनले भने, “त्यसको क्षतिपूर्ति कसले दिन्छ ?”
औद्योगिक क्षेत्रको सुरक्षा र सञ्चालनमा सरकारले ध्यान नदिएको गुनासो शर्माको छ । “उद्योग चलाउन बिजुली, पानी, कच्चा पदार्थ र औद्योगिक वातावरण चाहिन्छ, सरकारले कुनै क्षेत्रमा ध्यान दिएको छैन,” उनले भने ।
बन्दले मोटर आयात, चुरोट, बियर उत्पादनमा पनि असर परेको छ । यसबाट गत साता सरकारको अन्तःशुल्क समेत घटेको अर्थमन्त्रालयले जनाएको छ ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक