२ अर्ब लगानी जोखिममा

विकास निर्माण नहुँदा इँटा उद्योगमा समस्या
 निरु अर्याल
काठमाडौं, ३ जेठ- बजारीकरण र श्रम समस्याका कारणले मुलुकभर सञ्चालनमा रहेका २ सय इँटा उद्योग बन्द हँुदा करिब एक अर्ब लगानी डुबेको छ ।
राजनीतिक अस्थिरताका कारण विकास निर्माणका काम ठप्प भएपछि इँटा उद्योगमा गरिएको थप दुई अर्ब लगानी जोखिममा रहेको नेपाल इँटा उद्योग महासंघले जनाएको छ ।
महासंघका अनुसार चालू आवको चैत मसान्तसम्म देशभरका दुई सय इँटा उद्योग बन्द भएका छन् । यी उद्योगबाट एक अर्बबराबरको लगानी नोक्सान भएको महसघंका अध्यक्ष महेन्द्र चित्रकारले कारोबारलाई जानकारी दिए । उनका अनुसार विकास निर्माणका काममा भएको अन्योलता र राजनीतिक बन्द हड्तालले गर्दा अन्य पाँच सय उद्योगमा गरिएको साढे २ अर्ब लगानीसमेत जोखिममा परेको छ ।
“निर्माणका काम ठप्प भएपछि इँटाको बजारीकरण साँघुरिँदै गएको छ, अध्यक्ष चित्रकारले भने चैतसम्ममा दुई सय उद्योग खुल्न नसक्ने गरी बन्द भएका छन् ।” “यस्तै हो भने नेपालमा इँटा उद्योगको भविष्य अन्योलमा छ,” उनले भने । पछिल्लो समयमा राजनीतिक अस्थिरता र बन्द र हड्तालले गर्दा भएका उद्योगको व्यापार पनि ठप्प भएको उनको भनाइ छ ।
“उत्पादन गरिएका इँटाको व्यापार छैन, अध्यक्ष चित्रकारले भने लगानी थप गर्ने अवस्था व्यवसायीसँग छैन ।” उनले केही महिनायता विकास निर्माणका काम नभएकाले इँटाको व्यापार नै ठप्प भएको बताए । “कत्ति उद्योग त बजारकै कारणले बन्द भएका छन् चलेका उद्योगका पनि उस्तै समस्या छ,” उनले भने ।
निर्माणका काममा आएको मन्दी नै बजारीकरणको मुख्य समस्या भएको बताउँदै चित्रकारले माघ महिनादेखि कुल क्षमताको २० प्रतिशतसम्म बजारीकरण गरेको बताए  । केही समययता राजनीतिक अस्थिरता, बन्द र हड्तालसँगै मुलुकको अर्थतन्त्रमा नकारात्मक असर परेकाले विकास निर्माणका काम हुन सकेका छैनन् । चित्रकारले भने, “विकास निर्माणका काम ठप्प छन् त्यसको प्रत्यक्ष असर हामी व्यवसायीलाई परेको छ ।” नेपालमा हालसम्म ३५ जिल्लामा सात सय इँटा उद्योग सञ्चालनमा छन् । जसमध्ये उपत्यका लगायतका बारा, पर्सा, रौतहट, नवलपरासी, कपिलवस्तु दमौली लगायतका ठाउँका अधिकांश उद्योगहरू बन्द भएको महासंघले जनाएको छ । महासंघका अनुसार मंसिरदेखि जेठसम्मको समय इँटा उत्पादन र बजारका लागि उत्तम समय मानिन्छ । इँटा व्यवसाय मौसमी खेती जस्तै हुने गरेको र सो समयमा लगानीको प्रत्याभूति गर्न नसके व्यवसाय जोखिममा रहने व्यवसायीहरू बताउँछन् ।
पछिल्लो राजनीतिक कारणले केही दिनयता हुने गरेको बन्दले गर्दा कोइलाको अभावले गर्दा सञ्चालनको क्षमता भएका उद्योग  ठप्प भएको  इँटा व्यवसायी सत्य नारायण प्रजापतिले  बताए । उनका अनुसार नेपालमा इँटा उत्पादनका लागि चाहिने कोइला भारतको आसामबाट आयात गर्नुपर्छ ।
“जातीयताको नाममा दैनिकजसो हुने बन्दले कोइला आउन सकेको छैन उनले भने यसको प्रत्यक्ष असर हामी व्यवसायीलाई परेको छ ।” उनका अनुसार सामान्य अवस्थामा इँटा उद्योग सञ्चालन गर्न ५० लाख रुपैयाँ आवश्यक पर्छ । ठूलो लगानीको आवश्यकता पर्ने र खुला आकाशमुनी उद्योग सञ्चालन गर्नुपर्ने बाध्यताले गर्दा इँटा व्यवसायी दोहोरो मारमा परेको उनले बताए ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक