भाडा बढाएकोमा व्यवसायीको विरोध

 निरु अर्याल
काठमाडौं, ३१ वैशाख- 
सञ्चालित औद्योगिक क्षेत्र १०

  • लगानी १३ अर्ब निजी, २० करोड सरकारी
  •  ५१२८ रोपनी जग्गा भाडामा
  •   प्रतिवर्ष आम्दानी ३ करोड
  •   रोपनीको वार्षिक ३० हजार भाडा प्रस्ताव

औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले चालू भाडादर बढाउने प्रस्ताव गरेपछि उद्योगी व्यवसायीले यसको आपत्ति जनाएका छन् ।
प्रत्येक वर्ष लिमिटेडले भाडामा वृद्धि गर्दै जाने तर सुविधा कटौती गर्ने भन्दै व्यवसायीले असन्तुष्टि जनाएका हुन् । लिमिटेडले २०५४ साल यता भाडा नबढाएको जनाएको छ ।  औद्योगिक क्षेत्रमा निर्माण भएका पूर्वाधार मर्मतका लागि तत्काल ६० करोड रुपैयाँ चाहिने र भाडा बढाउनुबाहेक अन्य आयस्रोत नभएकाले भाडा बढाउन लागिएको महाप्रबन्धक गौतममान श्रेष्ठले बताए ।
लिमिटेडले बढाउने तयारी गरे पनि व्यवसायीको विरोधले कुनै टुंगो नलागेको श्रेष्ठले बताए । लिमिटेडका अनुसार बालाजु औद्योगिक क्षेत्रमा एक रोपनी जग्गाको मासिक भाडा दर ४ सय रुपैयाँ मात्र छ । राजधानीकै पाटन र भक्तपुर औद्योगिक क्षेत्रमा एक रोपनीको भाडादर २ सय ८० रुपैयाँ छ । यीबाहेक हेटौंडा, धरान, बुटवल, पोखरा, वीरेन्द्रनगर नेपालगन्ज र  गजेन्द्रनारायण औद्योगिक क्षेत्रमा प्रति रोपनी २ सय ११ रुपैयाँ भाडा व्यवसायीले तिरिरहेका छन् । लिमिटेडले चालू भाडादरमा केही वृद्धि गरी  मर्मतसम्हार गर्न लागेको श्रेष्ठले जानकारी दिए । व्यवस्थापन लिमिटेडले अहिलेको मूल्यले औद्योगिक पूर्वाधारका विषयमा कुनै काम गर्न नसक्ने भएपछि भाडा बढाउने तयारी गरेको हो ।
“व्यवसायी भाडा बढाउने विषयमा सहमत छैनन्, औद्योगिक पूर्वाधारको मर्मतसंहारका लागि भाडा बढाउनुको विकल्प छैन,” उनले भने ।  
मुलुकभर सञ्चालनमा आएका १० औद्योगिक क्षेत्रमा १३ अर्ब निजी लगानी र २० करोड रुपैयाँ सरकारी लगानी छ । भाडामा दिएको कुल ५ हजार १ सय २८ रोपनी जमिनबाट ३ करोड रुपैयाँ आम्दानी हुने गरेको छ ।
श्रेष्ठले भने, “हाम्रो अहिलेको आम्दानी जमिनबाट १ करोड र औद्योगिक भवनबाट दुई करोड मात्र छ, यसले कर्मचारीको तलब र कार्यालय सञ्चादन गर्न पनि गाह्रो छ । ”
“रकम नभएकै कारण औद्योगिक क्षेत्रले दिने भनिएको सेबा सुविधा पनि दिन सकेको छैन,” उनले भने, “व्यवसायीले सेवा सुविधा खोज्ने तर भाडा बढाउन नमान्नु उचित होइन । ”
बजेट अभावकै कारण केही समययता औद्योगिक परिसर भित्रका भवनको मर्मत सम्हार गर्न नसकिएको बताउँदै उनले बिजुली, पानी, सडक, फोहोरमैलाको व्यवस्थापन गर्न नसकेको जानकारी दिए । व्यवसायीले भने चौतर्फी समस्यामा पार्ने गरी मनपरी रूपमा भाडा बढाउन लागेको गुनासो गरेका छन् । लिमिटेडले ०५४ सालमा त्यतिबेलाको भाडादरअनुसार अहिले पनि भाडा लिइरहेको छ ।
औद्योगिक क्षेत्र उद्योग महासंघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले भने, “सामान्य अवस्थामा भाडा बढाउनु नराम्रो होइन तर लिमिटेडले प्रस्ताव गरेको भाडादर बढाउन हामी तयार छैनौं ।” उनका अनुसार लिमिटेडले हालको भाडादरलाई ८ सय प्रतिशत बढाउने प्रस्ताव गरेको छ । लिमिटेडलले उपत्यकाका पाटन र भक्तपुर औद्योगिक क्षेत्रमा प्रतिरोपनी वार्षिक ३० हजार भाडा लिने प्रस्ताव अघि सारेको छ । “यो रकम हाल चालू रकमभन्दा करिब ८ सय प्रतिशत हुन आउँछ,” प्रधानले भने । श्रेष्ठले भने रकम न्यून भएकाले व्यवसायीले प्रतिशतमा हिसाब गर्दा धेरै देखिएको बताए । “हामीले लिने रकम न्यून भएकाले त्यसलाई समय अनुकूल बढाउनु अन्याय होइन, व्यवसायीसँग पुनः छलफल अघि बढाउने छौं,” महाप्रबन्धक श्रेष्ठले भने ।
कुल ५ हजार १ सय २८ रोपनीको जमिनमा मुलुकभरका ४ सय ९ वटा उद्योग स्थापना भएका छन् । राजविराज बाहेकका ९ वटा औद्योगिक क्षेत्रमा ८० वटा उद्योग निर्माणाधीन र ७२ वटा उद्योग बन्द भएको व्यवस्थापन लिमिटेडले जानकारी दियो । लिमिटेडका अनुसार औद्योगिक क्षेत्र परिसरभित्र सरकारी वा अन्य कार्यालय, हुलाक, दिवा सिसु स्याहार केन्द्र चिकित्सालय, चमेनागृह, विभिन्न संघसंस्था गरी ३४ वटा अन्य निकाय पनि स्थापना भएका छन् । जसबाट ११ हजार १ सय ९ जनाले रोजगार पाएका छन् ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक