सिमेन्ट उद्योग न्यून क्षमतामा सञ्चालन

कारोबार संवाददाता
काठमाडौं, १२ वैशाख
स्वदेशी सिमेन्ट उद्योगहरूले कुल जडित क्षमताको २५ प्रतिशत मात्रै उत्पादन गरिरहेका छन् । यो कुल क्षमताको न्यूनतम प्रतिशत भएको सिमेन्ट उत्पादक संघले जनाएको छ । संघका अनुसार मुलुकमा ऊर्जा संकट, मागमा कमीलगायत अन्य कारणले उद्योगहरूको उत्पादन क्षमतामा ह्रास आएको हो । उद्यमीहरूका अनुसार ऊर्जा संकटका कारण उत्पादन लागत बढ्नुका साथै पूर्वाधार निर्माणमा आएको कमीले माग पक्षसमेत कमजोर बन्दै गइरहेको छ ।
“मुख्य समस्या भनेको मागमा कमी नै हो,” उत्पादक संघका महासचिव विष्णुप्रसाद न्यौपाने भन्छन्, “एकातिर सरकारको पुँजीगत बजेट खर्च भएको छैन भने अर्कोतिर हाउजिङ, रियलस्टेटजस्ता व्यवसायमा संलग्न निजी क्षेत्रले नयाँ प्रोजेक्ट नल्याउँदा माग स्वात्तै घटेको छ ।”
उद्योगहरूले क्षमताको तुलनामा न्यून उत्पादन गरिरहे पनि यस क्षेत्रमा लगानी थपिने क्रम भने रोकिएको छैन । सिमेन्ट उद्योगको प्रचुर संभावना भएकै कारण पछिल्लो समयमा सिमेन्ट उद्योगमा भइरहेको लगानी उत्साहजनक रहेको उद्यमीहरूको अनुभव छ । सिमेन्ट उत्पादनका लागि चाहिने आवश्यक कच्चा पदार्थ नेपालमै उपलब्ध हुन थालेपछि सिमेन्ट उद्योगमा लगानी बढ्न थालेको न्यौपाने बताउँछन् ।
कम्पनी रजिस्ट्रार कार्यालयको तथ्यांकअनुसार दर्ता भएका १ सय २ सिमेन्ट कम्पनीहरूले १३ अर्ब २९ करोडबराबरको लगानी प्रतिबद्धता जनाएका छन् । यो प्रतिबद्धता सिमेन्ट मात्रै उत्पादन गर्ने कम्पनीको हो । सिमेन्टका लागि चाहिने कच्चा पदार्थ कंक्रिट, पाइप रड, क्रसर उद्योगहरूको दर्तामा पनि उत्साहजनक वृद्धि भएको छ । तर, यो वृद्धिको अनुपातमा मागमा आइरहेको कमीले भने उद्यमीहरूलाई चिन्तित बनाएको छ ।
पछिल्लो केही समययता विकासका कामहरूले निरन्तरता पाउने सम्भावना भएकोले उद्यमीहरू उत्साहित भएको सिमेन्ट उत्पादक संघका अध्यक्ष आत्माराम मुरारका बताउँछन् । नेपालमा उत्पादन हुने सिमेन्टले कुल आवश्यकताको ७० प्रतिशत माग पूरा गरेको दाबी गर्दैै मुरारकाले सरकारले विकास निर्माणलाई अझ अगाडि बढाएमा सिमेन्ट उद्योग फस्टाउन सक्ने जिकिर गरे । उनले भने “झन्डै १० वटा उद्योग सञ्चालनको पूर्वतयारीमा छन् विकास निर्माणका काम भएमा नेपालमा सिमेन्ट उद्योगको भविष्य राम्रो छ ।” उनका अनुसार सरकारी स्वामित्वको लगानीका उद्योगभन्दा निजी उद्योगहरूमा व्यवसायीको चाख बढ्दै गएको छ । बृज, जगदम्बा, पञ्चकन्या, कस्मोस, महालक्ष्मी मारुती, विश्वकर्मा, अम्बेलगायतका  सिमेन्ट उद्योगहरू निजी लगानीमा आफ्नो पहिचान बनाइसकेका उद्योगहरू हुन् ।
पञ्चकन्या समूहका अध्यक्ष प्रदीपकुमार श्रेष्ठले नेपालमा सिमेन्टको आयात बढ्दै गएको शन्दर्भमा यसको प्रतिस्थापन गर्न नयाँ उद्योग सञ्चालनमा ल्याउनुपर्ने बताए । सिमेन्ट उत्पादन गर्न आवश्यक कच्चा पदार्थहरू नेपालमै पाइने जानकारी दिँदै उनले कोल जिप्सन नामक कच्चा पदार्थमात्र दोस्रो मुलुकबाट ल्याउनु परेको बताए । उनले भने, “सिमेन्ट उत्पादन गर्न चाहिने मुख्य वस्तु चुन ढुंगा हो त्यो नेपालमै प्रशस्त छ ।”
हाइड्रोपावरमा सिमेन्टको प्रयोग अनिवार्यजस्तै भएको बताउँदै उनले निर्माण र रियलस्टेटमा कारोबार वृद्धिका कारण सिमेन्ट उद्योगमा लगानी बढ्न थालेको जिकिर गरे । गोेयन्का सिमेन्टका सञ्चालक अजय गोयन्काले मुलुकमा बढ्दै गएको औद्योगिकीकरण र सहरीकरणले सिमेन्टको मागलाई बढाएको बताए । गएको मंसिर महिनादेखि सिमेन्टको उत्पादन सुरु गरेको बताउँदै उनले पहिलोपटक क्लोज सर्किट मिलबाट सिमेन्ट उत्पादन सुरु गरेको जानकारी दिए । विगत तीनदशकदेखि निर्माण सामग्रीको व्यवसायमा संलग्न गोयन्का समूहले उत्पादन क्षमताको प्रचुर संभावना हुँदाहुँदै पनि आन्तरिक कारणले सिमेन्ट उद्योगमा लगानी गर्न नसकेको बताए ।
 

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक