सेयर र घरजग्गा क्षेत्रका कम्पनी नचल्दै खारेजीमा

६५ खारेज, २ सयभन्दा बढी प्रक्रियामा
 निरु अर्याल
काठमाडौं, ३० फागुन
घट्दो सेयर बजार र घरजग्गा व्यवसायमा मन्दीका कारण यो क्षेत्रमा दर्ता भएका केही कम्पनी कारोबारै सुरु नगरी खारेजीमा गएका छन् ।
कम्पनी रजिस्टारको कार्यालयका अनुसार चालू आवको फागुन तेस्रो सातासम्म खारेज भएका ६५ उद्योगमध्ये अधिकांश सेयर र घरजग्गा व्यवसायसँग सम्बन्धित छन् । लगानीमैत्री वातावरण अभाव र उच्च ब्याजदरजस्ता समस्याले कारोबार सुरु नै नगरी कम्पनीले व्यवसाय छाडेका हुन् ।
कार्यालयको तथ्यांकअनुसार यो अवधिमा ६५ कम्पनी खारेज भइसकेका छन् । थप २ सयभन्दा धेरै कम्पनीका फाइल खारेजीको प्रक्रियामा रहेको कार्यालयले जनाएको छ । गत वर्ष सोही अवधिमा ८७ कम्पनीले लाइसेन्स खारेज गरेका थिए ।
“अहिले खारेज गरिपाऊँ भनी निवेदन दिनेमा अधिकांश सेयर कारोबार गर्ने र रियल इस्टेट बिजनेस गर्ने कम्पनी छन्,” रजिस्टार लवराज श्रेष्ठले भने ।
गत वर्ष कार्यालयमा निवेदन दिएका मञ्जु बजु हाउजिङ, रवीन्द्र ल्यान्ड एन्ड हाउजिङ, इजी रियल इस्टेट, किरण भवन रेसिडेन्सी, वल्र्ड प्रपर्टी डिलर्स तथा धाम्पुस रियल इस्टेट खारेज भइसकेका छन् । मनास्लु स्टक ब्रोकरेज, हारिती जेएमएस सेक्युरिटिज, बागमती ब्रोकरेज, सुखी क्लियरिङ हाउसलगायत सेयर कारोबार गर्ने कम्पनीको समेत लाइसेन्स खारेज भइसकेको कार्यालयले जनाएको छ ।
ठूलो रकमको कारोबार गर्दै आएका कम्पनी लिक्विडेटर नियुक्त गरेर मात्र खारेज हुनुपर्ने कानुनी व्यवस्था छ । श्रेष्ठका अनुसार चालू आवमा होटल तथा रेस्टुराँ, हाउजिङ, रियल इस्टेट, स्टक मार्केट, कोल्डस्टोर, टे«डिङ हाउसजस्ता करिब २ सयभन्दा धेरै कम्पनीले विभिन्न समस्या देखाएर लाइसेन्स खारेजीका लागि निवेदन दिएका छन् ।
खारेजको मागसहित कार्यालयमा परेका निवेदनलाई आवश्यक प्रक्रियाका आधारमा अघि बढाइने श्रेष्ठले बताए । उनका अनुसार चालू आवका प्रारम्भिक चार महिनामा ३७ कम्पनीले यस्तो निवेदन दिएका थिए, अहिले २ सयभन्दा बढी भइसकेका छन् ।
महालक्ष्मी ग्यास, बासुलिंग ट्राभल्स एजेन्सी, वल्र्ड प्रपर्टिज डिलर्स, शक्ति शिव फेसन वेयर, यूएमआर ओभरसिज, गंगा साबुन उद्योगलगायतले लाइसेन्स खारेजीको माग गरेका छन् । लिब्रा इन्टरनेसनल प्रालिलगायत विदेशी साझेदारीमा सञ्चालित बहुराष्ट्रिय कम्पनीले समेत खारेजीको माग गरेको श्रेष्ठले बताए ।
कम्पनी ऐन २०६३ अनुसार कुनै कम्पनी खारेज हुनुअघि सबैखाले कारोबार गरिएका कागजात पेस गर्नुपर्छ ।
“केही वर्षदेखि हाम्रो सेयर बजार उकालो लाग्न सकेको छैन, त्यसैले खारेजीको माग गर्ने धेरै सेयर कारोबार गर्ने कम्पनी छन्,” श्रेष्ठले भने, “मुख्य समस्या घरजग्गा कारोबार र सेयरबजार हो, यिनको कारोबार बन्द हुनेबित्तिकै सबै क्षेत्रमा असर परेको छ ।”
घरजग्गा व्यवसाय तथा ठूलो धनराशिको कारोबार गर्ने सेयरबजार झन्डै चार वर्षदेखि उँभो लाग्न नसकेकाले यी क्षेत्रका कम्पनीले दर्ता भएर पनि कारोबार सुरु गर्न नसकेको उनको भनाइ छ ।
कार्यालयको तथ्यांकअनुसार पछिल्लो समय होटल, रेस्टुराँ, टुर्स एन्ड ट्राभल्स, कन्स्ट्रक्सन, वनस्पति घ्यु, तेल, जडिबुटीजन्य कम्पनीले पनि लाइसेन्स खारेजीको माग गरेका छन् । यीमध्येका अधिकांश कम्पनीले दर्ता भएदेखि नै कारोबार गरेका छैनन् । यस्ता कम्पनीलाई निवेदनका आधारमा खारेज गरिनेछ ।
 

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक