संस्थानको अवस्था दिनदिनै गम्भीरः अर्थमन्त्री

कारोबार संवाददाता
काठमाडौं, ७ फागुन
अर्थमन्त्री वर्षमान पुनले सार्वजनिक संस्थानको अवस्था दिन प्रतिदिन गम्भीर बन्दै गएको बताएका छन् । उनले सार्वजनिक संस्थान अहिलेकै तरिकाले चलाउने हो भने राम्रा भनिएका नेपाल टेलिकम र बैंकहरू पनि केही वर्षपछि जनकपुर चुरोट कारखानाकै हालतमा पुग्ने दावी गरे ।
बन्द रहेको जनकपुर चुरोट कारखाना सञ्चालनका लागि आइतबार अर्थमन्त्रालयमा अर्थमन्त्री, अर्थराज्यमन्त्री र अर्थमन्त्रालयका प्रतिनिधिलाई भेट्न पुगेका जनकपुर चुरोट कारखाना सम्बद्धरूसँग अर्थमन्त्रीले उद्योग सञ्चालनबारे सरकार गम्भीर भएको जानकारी दिए ।
 मन्त्री पुनले सञ्चालनका लागि विभिन्न उपायहरूको खोजी भइरहेको जानकारी दिए । उनले सार्वजनिक संस्थान सञ्चालनका लागि सार्वजनिक संस्थान निर्देशक बोर्ड गठन गरिएकाले त्यो बोर्डले लिने नीतिअनुसार सबै सार्वजनिक संस्थान सञ्चालन गरिने बताए ।
बोर्डले लिने नीतिले सार्वजनिक संस्थान सञ्चालनको तरिकामा सुधार आउने भन्दै उनले सार्वजनिक संस्थान सञ्चालनका लागि बोर्ड नीति बनाउने काममा लागिसकेको जानकारी दिए । चालू आवमा सरकारसँग जम्मा ८ करोड रुपैयाँ मात्र भएको बताउँदै मन्त्री पुनले भने, “कारखाना जसरी भए पनि सञ्चालन गर्नुपर्छ भन्नेमा सरकार लागि परेको छ, तर कारखानाले मागे जति रकम दिने क्षमता सरकारसँग छैन ।” छलफलमा चुरोट कारखाना सञ्चालक समिति र प्रशासनले कारखाना सञ्चालनका लागि तत्काललाई ६० करोड ६४ लाख रुपैयाँ माग गरेका थिए ।
तत्कालीन शोभियत संघको प्राविधिक सहयोगमा २०२१ सालमा स्थापना भएको जनकपुर चुरोट कारखाना सुरु गर्दाको बेलामा अधिकृत पुँजी ८ करोड, जारी तथा चुक्ता पुँजी ४ करोड ८ लाख ३७ हजार थियो । कारखानाले याक फिल्टरसहित देउराली, गैंडा, उपहार ब्रान्डका चुरोट उत्पादन गर्दै आएको थियो । कारखाना पूर्णक्षमतामा सञ्चालनमा ल्याउन २ अर्ब ५० करोड रुपैयाँ आवश्यक रहेको भन्दै कारखानाले गत वर्षको फागुनदेखि उत्पादन बन्द गरेको छ ।
कारखानाका निमित्त महाप्रबन्धक रामस्वरथी यादवले उद्योग खुलाउन राजनीतिक दल, मजदुर, नागरिक समाजलगायत सबै सकारात्मक भएको बताउँदै बजेटका कारण उद्योग सञ्चालन हुन नसकेको गुनासो गरे ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक