राजधानीमा ग्यास अन्वेषण गर्न टेन्डर

कारोबार संवाददाता
काठमाडौं, २१ पुस
सरकारले राजधानीमा प्राकृतिक ग्यास अन्वेषण तथा परीक्षणका लागि प्रक्रिया सुरु गरेको छ । खानी तथा भूगर्भ विभागले राजधानीबाटै ग्यास उत्खननका लागि परामर्शदाता नियुक्ति गर्न टेन्डर प्रक्रिया सुरु गरेको हो ।
ग्यास अन्वेषण तथा उत्पादनका लागि पटक–पटक निजी क्षेत्रलाई सार्वजनिक रूपबाटै आह्वान गर्दासमेत निजी क्षेत्रले चाँसो नदिएपछि करिब ५ महिनाअघि मात्रै व्यवस्थापिका संसद्को प्राकृतिक स्रोत साधन समन्वय समितिले टेन्डर प्रक्रियाबाट काम सुरु गर्न सरकारका नाममा निर्देशन दिएको थियो । समितिको निर्देशनपछि उद्योग मन्त्रालयले अन्वेषण र उत्खनन प्रक्रियालाई अघि बढाएको हो । मन्त्रालयका अनुसार संभाव्यता अध्ययन गरिएको ठाउँबाट ग्यास निकाल्न १४ करोड रुपैयाँ बजेट अर्थमन्त्रालयमा पेस गरिएको छ ।  करिब २५ वर्षअघि मन्त्रालयको सहभागितामा खानी तथा भूगर्भ विभागले राजधानीका विभिन्न १३ स्थानबाट ग्यास उत्खनन गर्न सकिने निष्कर्ष निकालेको थियो । “प्राकृतिक सम्पदालाई सही रूपमा पहिचान गर्न प्रक्रिया अघि बढाएका हौं,” उद्योगमन्त्री अनिलकुमार झाले कारोबारसँग भने । उनले यो विषयलाई सार्वजनिक निजी साझेदारीको माध्यमबाट अघि बढाउन खोजिए पनि निजी क्षेत्र आकर्षित नभएकाले सरकार आफैंले सुरु गर्न लागेको जानकारी दिए ।
“हामी प्रारम्भिक चरणमा छांै, परीक्षण गरेर यसलाई अघि बढाउने छौं,” खानी तथा भूगर्भ विभागका महानिर्देशक सर्वोजित महतोले कारोबारसँग भने । विभागले कोटेसन आह्वान गरेर परामर्शदाता नियुक्त गर्ने अन्तिम तयारी गरेको भन्दै महानिर्देशक महतोले यसलाई अघि बढाउन आवश्यक गृहकार्यमा जुटेको जानकारी दिए । उनका अनुसार सरकारले यो विषयमा २५ वर्षअघि राजधानीबाट ग्यास अन्वेषण तथा उत्पादनका विषयमा संभाव्यता अध्ययन गरेको थियो । संभाव्यताको अध्ययनले राजधानीका १३ ठाउँबाट ग्यास उत्खनन गर्न सकिने निष्कर्ष निकाले पनि विभागले पहिलो चरणमा २ ठाउँबाट मात्रै अन्वेषण सुरु गर्न लागेको हो । पहिलो चरणमा टेकुको पचली मन्दिर र टेकुकै फोहोरमैला व्यवस्थापन केन्द्रमा अन्वेषण गरी ग्यास निकालिनेछ ।
यसरी निकालिएको ग्यास कुनै निश्चित ठाउँमा राख्न नमिल्ने भएकाले पाइपलाइनको माध्यमबाट प्रसारण गर्नुपर्नेछ । यसरी उत्खनन भएको ग्यासलाई गुणस्तरको परीक्षण गरेर मात्रै पाइपलाइनकोे सहयोगमा नजिक रहेका औद्योगिक प्रतिष्ठान र अस्पतालहरूमा पु¥याइनेछ । यस्तो प्रकृतिको ग्यासलाई उपभोक्ताले बिजुलीका रूपमा समेत प्रयोग गर्न सक्नेछन् ।
“ग्यास निकालिसकेपछि हामी पहिलो चरणमा ग्यासको गुणस्तर र मात्रा थाहा पाउने छौं जसले अन्वेषणमा थप सहजता ल्याउनेछ,” महतोले भने । राजधानीमा बाक्लो बस्तीका कारण पाइप बिछाएर ग्यास पठाउन नसकिने भएकाले बिजुलीको माध्यमबाट उत्पादित ग्यासलाई प्रसारण गरिने महतोले जानकारी दिए । उनका अनुुसार अर्थमन्त्रालयले पहिचान गरिएका ठाउँमा अन्वेषण र उत्खनन कार्यका लागि १ करोड रुपैयाँ निकासा गरिसकेको छ । “यसवर्ष पहिचान गरिएका (टेकु) का दुई ठाउँमा अन्वेषण, उत्खनन तथा उत्पादन सुरु गर्छौं, ग्यासमा देखिने क्वालिटीअनुसार आगामी वर्ष १३ बटै ठाउँ समेट्ने योजना छ,” उनले भने ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक