सरकारी कार्यालयमा हातेकागजका डायरी राखिने


निरु अर्याल
काडमाडौं, १७ पुस
सरकारी कार्यालयहरूमा यही महिनादेखि हातेकागजका डायरी राखिने भएको छ ।
स्थानीयस्तरमै नेपाली वस्तुको प्रवद्र्धन गर्न र अन्तर्राष्ट्रिय क्षेत्रमा नेपाली वस्तुको पहिचान दिलाउन सहज हुने भएकाले ‘नेपाली कागज’बाट निर्मित डायरीलाई सरकारी कार्यालयमा राख्न लागिएको हो । नेपालको पहिचान दिने थुप्रै वस्तु उत्पादन गर्न सकिने भए पनि त्यस्ता वस्तुहरू त्यतिकै लोप भएर जाने गरेकाले देशको छवि बचाउन र नेपाली वस्तुको प्रवद्र्धन गर्न खोजिएको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार पहिलो चरणमा त्यस्ता डायरी मन्त्रीहरू, राज्यमन्त्री र उच्च ओहोदाका व्यक्तिलाई उपलब्ध गराइने भएको छ । “नेपालीले विदेश जाँदा विदेशीभन्दा ‘नेपाली डायरी’ प्रयोग गरून् भन्ने हो; त्यसैले हामीले यो कदम चालेका हौं,” प्रधानमन्त्री कार्यालयका सचिव लीलामणि पौडेलले कारोबारसँग भने ।
मन्त्रीहरू तथा उच्च ओहोदाका व्यक्तिहरू विदेश जाँदा विभिन्न देशका डायरीहरू प्रयोग गर्ने गरेकाले नेपाली वस्तु कला, सीप र स्वाभिमानलाई बचाउन तथा अन्तर्राष्ट्रियस्तरमा यसको प्रवद्र्धन गर्न खोजिएको जानकारी उनले दिए ।
उनका अनुसार यस्ता प्रकृतिका डायरी सचिवस्तरका कर्मचारीलाई पनि उपलब्ध गराइनेछ । सरकारले अंग्रेजी नयाँ वर्षको पहिलो दिन नै प्रत्येक सरकारी कर्मचारीलाई डायरी उपलब्ध गराउने भन्दै नेपाल हस्तकला महासंघलाई सय थान डायरी माग गरेको थियो । ब्यवसायीले समयमै डायरी उपलब्ध गराउन नसकेपछि पहिलो साताका लागि समयसीमा तोकिएको छ ।
नेपालको प्रचूर सम्भावनालाई प्रवद्र्धन गर्न सरकारले चासो देखाएको भन्दै उनले यो व्यवस्थाबाट देशलाई समेत उल्लेख्य फाइदा पुग्ने विश्वास व्यक्त गरे ।
“यसप्रति प्रधानमन्त्री पनि उत्सुक देखिएकाले यसै वर्षदेखि प्रत्येक सरकारी कार्यालयमा डायरीको व्यवस्था हुन्छ; हामी यसलाई कार्यान्वयनका लागि पहल गर्नेछौं,” उनले भने ।
महासंघ र हातेकागज व्यवसायी संघको संयुक्त लगानीमा डायरी तयार गर्न लागिएको छ । डायरीमा नेपाल सरकारको होलोग्रामसहितको स्टिकर, बुद्ध र सगरमाथाका तस्बिर पनि देखिने गरी राखिनेछ । सरकारी वार्षिक क्यालेन्डरलाई समाहित गरेर डायरीको विषयलाई अघि बढाइने कार्यालयले जनाएको छ । यस्तो सुविधाबाट प्रत्येक कर्मचारी बिदेसिनुपरे उक्त डायरी अनिवार्य लैजानुपर्ने  र उपहारका रूपमा समेत उक्त डायरी प्रयोग गर्ने प्रबन्ध मिलाइनेछ ।
हरेक वर्ष हुने घरेलु मेलाहरूमा आकर्षणको वस्तुका रूपमा देखिने हातेकागजजन्य सामानको नेपालमै प्रचुर सम्भावना रहेको भन्दै स्वदेशमै यसको प्रयोग गर्न लागिएको हो । स्वदेशी वस्तुको प्रवद्र्धन गर्न प्रधानमन्त्रीसमेत उत्साहित रहेकाले सरकारले यस्तो विषयलाई अघि बढाएको  ब्यवसायीहरू बताउँछन् ।
व्यवसायीका अनुसार सरकारले औपचारिक रूपमै व्यवसायीसँग सय थान डायरी बनाउन लगाइसकेको छ । यस्ता डायरीको व्यापरिक मूल्य ३ सय ५० रुपैयाँसम्म पर्न जान्छ । सरकारले यसअघि पनि हरेक सरकारी निकायमा प्रयोग हुने स्टेसनरी सामानलगायतका सामान नेपाली कागजबाटै बनाउने योजना बनाइसकेको थियो ।
महासंघका अध्यक्ष विकासरत्न धाख्वाले डायरीको सम्बन्धमा प्रधानमन्त्री कार्यालयबाट माग भइसकेको जानकारी दिँदै यसै साता सय थान नेपाली कागजबाट निर्मित डायरी उपलब्ध गराइने बताए । उनले भने, “हामीले सबै डिजाइन तयार पारेर छाप्न दिएका छौं; यसै साता सरकारलाई बुझाउनेछौं ।”
उनले सरकारले नेपाली वस्तुलाई उजागर गर्न खोजेको भन्दै यसबाट व्यवसायीहरू उत्साहित भएको बताए । भने, “हाम्रो सीमित बजारको माग सरकार पनि हो; प्रत्येक सरकारी कार्यालयमा नेपाली वस्तुको प्रयोग गरिनुपर्छ ।”

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक