Thursday, December 8, 2011

बैंकहरूले हामीलाई दुहुनो गाई बनाएका छन्

Add caption


विकासरत्न धाख्वा
अध्यक्ष, नेपाल हस्तकला महासंघ
नेपालमा हस्तकलाजन्य उद्योगको राम्रो सम्भावना भए पनि यसले अपेक्षित सफलता हासिल गर्न सकेको छैन । राजनीतिक अस्थिरता, लोडसेडिङ, श्रम समस्या तथा सरकारका विभिन्न नीतिले गर्दा यो क्षेत्रमा निकै समस्या र चुनौती थपिएको व्यवसायीहरू बताउँछन् । यति हँुदाहुँदै पनि नेपालबाट ८२ वटा मुलुकमा वार्षिक झन्डै ७ अर्ब बराबरको सामान निर्यात हुदै आएको छ । करिब २० लाखले रोजगारी पाएको यो क्षेत्रले नीतिगत र प्राविधिक समस्याका कारण अन्तर्राष्ट्रिय बजारमा स्फूर्त रूपमा प्रतिस्पर्धा गर्न नसकेको नेपाल हस्तकला महासंघका अध्यक्ष विकासरत्न धाख्वा बताउँछन् । चाँदीका गहनाको व्यवसायमा संलग्न धाख्वा १६ वर्षदेखि यो क्षेत्रको विकास र विस्तारमा लागिरहेका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ब्रान्डिङ महाशाखाका सहसभापतिसमेत रहेका धाख्वासँग वर्तमान समयमा नेपाली हस्तकलाको बजार, समस्या, चुनौती र सम्भावना तथा गत साता सम्पन्न हस्तकला व्यापार मेलाको विषयमा कर्पोरेट ब्युरो प्रमुख विपेन्द्र कार्की र संवाददाता निरु अर्यालले गरेको कुराकानी ः
यसपटकको हस्तकला व्यापार मेला समग्रमा कस्तो रह्यो ?
यो वर्षको मेला आपेक्षाकृत सफल भएको छ । हस्तकला क्षेत्रका समसामयिक समस्यालाई सम्बन्धित निकायमा पु¥याउने उद्देश्यका साथ मेला आयोजना गरिएको थियो । यसपटकको मेलामा सरकारी, निजी क्षेत्रदेखि लिएर प्रधानमन्त्रीसम्मका उच्च अधिकारीले अवलोकन गर्नुभयो । उहाँहरूबाट राम्रो प्रतिक्रिया आएको छ । यो वर्षदेखि हामी अन्तर्राष्ट्रियस्तरमा पनि गएका छौं । त्यसैले हरेक वर्ष २४ नोभेम्बरदेखि २८ सम्मको सेरोफेरोमा हामीले मेला गर्दैछौ ।
यसपटकको मेलामा पाकिस्तान र बंगलादेशलाई सहभागी गराएका थियौं भने अर्को पटक भारतलाई पनि ल्याउँदैछौं । मेलामार्फत यो क्षेत्रमा भएका सम्भावना र अवसर उजागर गर्न खोजका हौं । नेपालमा मेटलक्राफ्ट, धातुजन्य वस्तु तथा पेन्टिङ, मिथिला आर्ट, थारुहरूका वेषभूषा उल्लेखनीय हुन् । देशमा आर्ट एन्ड क्राफ्टको प्रशस्तै सम्भावना छ । हामीले यसलाई उजागर गर्न त खोज्छौं तर निजी क्षेत्रले मात्र चाहेर नहुँदो रहेछ ।
यसपटकको मेलामा प्रधानमन्त्रीदेखि मन्त्री, विशिष्ट अधिकारी तथा राजदूतको पनि उल्लेख्य उपस्थिति रह्यो । यसले नेपाली हस्तकलाको भविष्य सुनौलो छ भन्ने झल्को दिन्छ ?
अमेरिकी राजदूतले चार जनाको परिवारसँग चार घण्टा एउटै मेलामा बिताउनु भनेको रेकर्ड नै होला । शायद राम्रो लागेरै होला, उहाँले यो अवधिमा प्रशस्तै खरिद–बिक्री पनि गर्नुभयो । यहाँ आउनेहरूले पनि राम्रो प्रतिक्रिया दिएका छन् । त्यसबाट पनि हाम्रा वस्तुको सम्भावना धेरै रहेको देख्छु । यसपटकको मेलामा प्रधानमन्त्री, मन्त्रीदेखि सचिवहरूको उपस्थिति धेरै भयो, उहाँहरूले पनि हाम्रा जिज्ञासालाई नीतिगत रूपबाटै सम्बोधन गर्न सहमति जनाउनुभएको छ । यसको विकास र विस्तारका लागि सरकारले हस्तकला ग्रामको अवधारणा ल्याएको छ । विदेशी ब्रान्ड लिने उपभोक्तालाई हाम्रा ब्रान्डबारे जानकारी नभएको अवस्था छ । हाम्रो सरकार हाम्रा लागि ठूलो मार्केट हो । सरकारी कार्यालयमा हस्तकलाबाट उत्पादन हुने वस्तुहरूको केही मात्रामा प्रयोग गर्ने हो भने पनि नेपाली हस्तकलाको सम्भावना उच्च छ । यसले पनि नेपाली हस्तकलाको प्रचुर सम्भावना रहेको संकेत गर्छ । नेपालमा बन्ने ४२ वटा हस्तकलाका वस्तु ८० वटा देशमा निर्यात हुन्छन् ।
नेपाली हस्तकलाका वस्तुले कुन–कुन मुलुकसँग प्रतिस्पर्धा गर्नुपरेको छ ?
नेपाली हस्तकलाका वस्तुहरू प्रतिस्पर्धी नै छन् । निर्यातित र प्रस्तिस्पर्धी वस्तुमा पस्मिना धेरै अगाडि छ । त्यसैलाई परीक्षण गर्न हामीले च्याङ्ग्रा पस्मिनाको टे«डमार्क लिइसकेका छौ । उपभोक्ताको आकर्षण बढेकोले हामीले यस्ता वस्तुलाई ब्रान्डिङ गरिसकेका छौ । यसैगरी पेपरको सम्भावनालाई ख्याल गर्दैै हामीले नेपाल लोक्ता भनेर टे«डमार्क दर्ता गरिसकेको अवस्था छ । नेपालोक्ताको पनि ब्रान्डिङ गरिसकेका छौ । यसले पनि अन्तर्राष्ट्रिय बजारमा नेपाली हातेकागजको प्रवद्र्धन हुन्छ । चाँदीका गहना पनि निर्यात हुने प्रमुख वस्तुमा पर्छन् । यसलाई ब्रान्डिङ गर्न भने बाँकी छ ।
हाम्रा धेरै प्रतिसपर्धी मुलुक भने दक्षिण एसियाली नै हुन् । यसमा दक्षिण अमेरिका पनि पर्दछ । तर विडम्बना हो– हाम्रो देश पूर्णरूपमा राजनीतिबाट परिचालित छ, वर्तमान राजनीतिक अस्थिरताले गर्दा यस्ता वस्तुलाई पहिचान गर्न समस्या छ । अर्कातर्फ– अविकसित देश भएकोले लागत खर्च त्यत्तिकै उच्च छ । यहाँबाट कोलकातासम्म पु¥याउने खर्र्चले भारतबाट अमेरिकासम्म सामान पुग्छ । त्यसतै, हामीकहाँ श्रम समस्या छ । यसका लागि हस्तकला डिजाइन केन्द्र भनेर स्थापना गरेका छौ तर कार्यान्वयनमा ल्याउन सकेका छैनौं ।
नेपाली हस्तकलाको प्रयोग नेपालभित्रै बढाउन के गर्नुपर्छ ? यो विषयमा तपाईंहरूले के कस्तो पहल गरिरहनुभएको छ ?
हाम्रो देशमा पनि यसको ठूलोे महत्व छ । हामीकहाँ नेपालीहरूले उपभोग गर्ने वस्तु बनिसकेका छन् । सल स्वेटरलगायतका आधुनिक डिजाइनका वस्तुहरू तयार हुने गरेका छन् तर जनमानसमा यी वस्तु विदेशीका लागि बनाइएका हुन् भन्ने भ्रम छ । तर, यसपटकको मेलामा विदेशी ब्रान्ड रुचाउने उपभोक्ताको ध्यान नेपाली वस्तुमा गएको पाएका छौं ।
विभिन्न सरकारी निकायमा हस्तकलाबाट निर्मित स्टेसनरी, सजावट तथा उपहारका सामान राख्न सकिन्छ । यसैलाई ध्यान दिँदै कार्यालयमा डाइरेक्टरी राख्न प्रस्ताव गरेका छौं । यसमा सरकारका सचिवहरू पनि सकारात्मक देखिनुभएको छ । नेपाल हस्तकला महासंघ र हातेकागज संघ मिलेर यसै वर्षदेखि डायरी र क्यालेन्डर बनाउने भएका छौं किनभने हाम्रा लागि सरकार पनि एक उत्कृष्ट मार्केट हो । हरेक सरकारी कार्यालयमा प्रयोग हुने पेन, डायरी, क्यालेन्डर, नोटबुक, फाइल तथा अन्य उपहारका सामान प्रयोग गर्न सकिन्छ । यसले नेपाली वस्तुको प्रयोग गर्न सकिन्छ, आन्तरिक बजारमा यसको सम्भावना रहन्छ भन्ने हामीले बुझेका छौं ।
हस्तकलाको अन्तर्राष्ट्रिय बजार प्रवद्र्धनका लागि नीतिगत रूपमा कस्ता समस्या देखिएका छन् ?
यो क्षेत्रको सबैभन्दा ठूलो समस्या हो– लागत खर्च । हामीले यसबारे ठोस योजना तर्जुमा गर्न सकिरहेका छैनौं । जस्तो कि निर्यातमूलक उद्योगलाई सरकारले नगद पैसा नै दिने भनेर योजना अघि सारेको छ तर दुःखको कुरा– जसले यसको आवाज उठाएको छ, उसैले यो सुविधा लिन सकिरहेको छैन । ठूला उद्योगको तुलनामा साना उद्योग व्यवस्थित रूपमा सञ्चालन हुन सक्दैनन्, यिनीहरूको सैद्धान्तिक र व्यावहारिक समस्यालाई उजागर गर्न सकियो भने मात्र यिनीहरूको विकास र विस्तार हुने हो । नीति–नियम त आउँछन् तर कार्यान्वयन हुन सक्दैन, यो ठूलो समस्या हो । यस्ता विषयहरूलाई सरकारले बुझेर नीति ल्याए, लागू गरे त राम्रो हो । उदाहरणका लागि– सरकारले साना तथा घरेलुुजन्य उद्योगका लागि साढे ४ प्रतिशत ऋण दिने भनेको थियो । राष्ट्र बैंकले यस्तो नियम बनाए पनि अनावश्यक झन्झटले गर्दा वाणिज्य बैंकहरूले यसलाई कार्यान्वयन गर्न सकिरहेका छैनन् ।
यो क्षेत्रमा निजी क्षेत्रको लगानी र सिर्जना भएको रोजगारीको अवस्था कस्तो छ ?
करिब १० वर्षअघिमात्रै एक सरकारी तथ्यांकले १० लाखको रोजगारी देखाएको थियो । यसैलाई हेर्ने हो भने पनि हामीले अहिले २० लाख पुगेको अनुमान गर्न सक्छौं । अर्को कुरा– यो क्षेत्रबाट उत्पादित वस्तुहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा झन्डै ७ अर्बको निर्यात हुने गरेका छन् । ३ अर्बबराबरको जहिले पनि निर्यात हुन्छ । नेपाल आउने पर्यटकले लैजाने ह्यान्ड क्यारी र उनीहरूलाई नै केन्द्रित गरी खोलिएका पसलबाट झन्डै ४ अर्बको कारोबार हुने पाएका छौं । पर्यटकीय पसलमा हेर्ने हो भने पनि ७ अर्बको लगानी देखिएको छ ।
यति हुँदाहुँदै पनि तपाईंहरूले किन आफ्नै मुलुकका सम्पूर्ण उद्यमीलाई समेट्न सक्नुभएको छैन त ?
हाम्रो देशमा विभिन्न जातजाति छन्, उनीहरूले सिर्जना गरेका गरेको वस्तु ७५ वटै जिल्लामा छैनन् । जहाँ जेको सम्भावना बढी छ, त्यसैका आधारमा हामीले व्यावसायिक विस्तार गरेका हौं । जस्तोः बागलुङमा हातेकागजको प्रशस्त सम्भावना छ, त्यसलाई विकास गर्न बागलुङ उद्योग वाणिज्य संघसँग मिलेर काम गर्दैछौं । धनुषामा सिल्भर ज्वेलरी र मिथिला आर्टको प्रशस्त सम्भावना छ । जहाँ जेको आवश्यकता र महत्व छ, हामीले त्यसैलाई समेट्दै आएका छौं । हामीले चाहँदाचाहँदै पनि सबै जिल्लालाई समेट्न सकिरहेका छैनौं । हाम्रो महासंघले जिल्ला–जिल्लामा रहेका वस्तुगत संघहरूलाई प्रोत्साहन गरिरहेको छ । जस्तोः हामीसँग ९ वटा वस्तुगत संघ छन्, उनीहरूको कम्तीमा ३० वटा जिल्लासँग समन्वय हुन्छ । प्रत्यक्ष रूपमा उनीहरूलाई समेट्न नसके पनि अप्रत्यक्ष रूपमा प्रत्येक जिल्लाको सहभागिता छ । तर, सबै ठाउँमा हुनुपर्छ भन्ने जरुरी पनि छैन ।
हस्तकलाको दिगो विकासका लागि के गर्नु आवश्यक छ ?
दिगो विकासका लागि सरकारले सबैभन्दा पहिले दीर्घकालीन निर्यात नीति ल्याउनुप¥यो । बजार प्रवद्र्धनका लागि कुन देशमा जाने भन्ने कुरा पनि सरकारले नै छुुट्ट्याउनुपर्ने हुन्छ । हामीले नेपाल पर्यटन वर्ष मनाएजस्तै हस्तकलाको दिगो विकासका लागि कुन मुलुक जाने भन्ने कुरा सोच्नु आवश्यक छ । यसका लागि बजेट उपलब्ध गराएर सम्भावित देशमा हाम्रा सामान बिक्री–वितरणको अवस्था दरिलो बनाउनुप¥यो । हाम्रो देशमा बजार प्रवद्र्धन गर्ने रणनीति नै छैन । त्यसको दीर्घकालीन नीति हुनुप¥यो । हाम्रा उत्पादित वस्तुको लागत उच्च छ । त्यसैले हामीले हस्तकला ग्रामको कुरा गरिरहेका छौं किनभने २ सय रोपनी जमिनमा १ वटा उद्योग स्थापना हुन सकेमा कम्तीमा पनि ५ हजारदेखि १० हजार युवाले रोजगारीको अवसर पाउँछन् । प्रत्यक्ष रूपमा यत्तिले रोजगार पाउने भन्ने कुरा हाम्रो जस्तो मुलुकमा त्यति सहज होइन तर पनि सरकारले ग्रामको विषयमा बजेटमा सम्बोधन गरेको अवस्था छ ।
हस्तकलाको आमउत्पादन र यसको व्यापारमार्फत भुक्तानी सन्तुलनलाई सकारात्मक बनाउन के कस्तो सम्भावना देख्नुहुन्छ ?
यसको प्रशस्तै सम्भावना छ । भन्दामात्र ७ अर्ब भनिन्छ तर खुलस्त रूपमा भन्नुपर्दा विकासका आधारहरू यो क्षेत्रसँग प्रशस्तै छन् । गाउँदेखि सहरसम्मको कुरा गर्दा पनि यो क्षेत्र निकै अगाडि छ । हातेकागजकै कुरा गर्ने हो भने पनि पाँच–छ जिल्लाले कच्चापदार्थ पूरा गरेका छन् । काष्ठकलाको कुरा गर्दा सामुदायिक वनबाट आपूर्ति भइरहेको अवस्था छ । त्यस्तै, मूर्तिकलाको कुरा गर्ने हो भने नेपालभरि कालो ढुंगा पाइन्छ । यस्ता वस्तुहरू सम्बन्धित ठाउँमा पठाउन सकिए हामीले विदेशी वस्तु प्रयोग गर्नै पर्दैन । यसका लागि सरकारले दीर्घकालीन नीति ल्याउनुु भने जरुरी छ । त्यस्तो नीति ल्याउन सकेमा खस्किँदै गएका गार्मेन्ट, कार्पेटलगायतका उद्योगहरूको प्रवद्र्धन हुन्छ । निजी क्षेत्रले मात्रै पहल गर्दा यहाँसम्म आएका छन् भने सरकारले ध्यान दिँदा यस्ता उद्योगको सम्भावना बढी नै छ । कुनै युवा युवतीले यो विषयमा सिक्न चाहे भने ठाउँ नै छैन । अरु उद्योगमा जस्तो यसमा कच्चा पदार्थको अभाव खड्किँदैन । राजनीतिक अवस्था नकारात्मक हुँदाहुँदै पनि हाम्रो क्षेत्र घाटामा गएको छैन ।
अन्तर्राष्टिय बजारमा हाम्रो बजारीकरणको समस्या कस्तो छ ?
अन्तर्राष्टिय बजारमा जति यसको प्रवद्र्धन गर्नु पर्ने हो, त्यति गर्न सकेका छैनौं किनभने हाम्रो मुलुक डब्लूटीओमा १ सय ४७ औं सदस्यराष्ट्र भए पनि यहाँ गुणस्तरीय मापदण्ड प्रमाणीकरणै छैन । कुनै वस्तु प्राकृतिक हो कि होइन, क्याडमियम फ्रि छ कि छैन भनेर छुट्ट्याउने प्रयोगशाला नै छैन । हामीले हाम्रा सामानको प्रमाणीकरण भएको देखाउनुपर्ने अवस्था छ । यसका लागि सरकारका तर्फबाट कुनै पूर्वाधार आउन सकेका छैनन् । महासंघले ल्याब स्थापना गरेर सुरुवात त गरेका छौं तर यो क्षणिक समयका लागि हो किनभने दुई वटा कोठामा उद्योग सञ्चालन गरेको प्रयोगशालाबाट उनीहरू ‘कन्भिन्स’ हुन सक्दैनन् । अर्को कुरा– व्यवसायीले दुई–चार वर्षभित्र घरजग्गा जोडेर देखाउन सक्ने अवस्था छैन । यसैलाई ध्यान दिँदै हामीले सरकारसँग जमिन माग गरेका हौं । सरकारले जमिन उपलब्ध गराए हामीले पूर्वाधार खडा गर्छौं, त्यहाँ निर्यातकेन्द्र नै खडा गर्नुपर्छ । साथै, हामीकहाँ बजारीकरणको पनि त्यत्तिकै समस्या छ । हामी धेरैजसो अन्तर्राष्ट्रिय स्तरबाटै अघि बढिरहेका छौं । अन्तर्राष्ट्रिय मुलुकमा हुने ट्रेड फेयरमा भाग लिनुपर्ने भएकाले पनि हामीले अन्तर्राष्ट्रिय मान्यता पालना गर्नुपर्छ ।
ठुला उद्योगमा श्रम, बैंकिङ, लोडसेडिङका समस्या टडकारो रुपमा देखिएका छन्, साना उद्योगमा यस्तैखाले समस्या कत्तिको छन् ?
सबैभन्दा पहिले बैंकिङ प्रणालीमा सुधार ल्याउनुपर्छ किनभने बैंकहरूले उत्पादन लागत र निर्यातको आधारमा सहुलियतको वर्गीकरण गर्नुपर्छ । ब्याज तलमाथि गर्नुपर्छ । बैंकको निक्षेप बढेको बढ्यै छ तर ब्याज कहिल्लै नघट्ने, कस्तो देश यो ! बैंकिङ क्षेत्र भनेको उपभोक्तालाई सुविधा दिने निकाय हो तर यहाँ बैंक आफैं मोटाउने पो भएको छ । हाम्रो देशको आर्थिक अवस्था तहसनहस हुँदैछ तर बैंकिङ क्षेत्र भने फाइदामा छ । यसको कुनै अर्थ नै छैन । बैंकहरूले हामीलाई दुहुनो गाई बनाएका छन् ।
अर्को समस्या लोडसेडिङ र श्रमको हो । हामीकहाँ डिमान्ड भए पनि पठाउन उत्तिकै समस्या छ किनभने दक्ष कामदारै छैनन् । यस्ता समस्या समाधान गर्न सार्वजनिक निजी साझेदारीको माध्यमबाट व्यवस्थित तालिम दिइनुपर्छ । त्यसो हुन सकेमा घरजग्गा धितो राखेर १५ हजार कमाउने निहुँमा जो–कोहीलाई बिदेसिनु पर्दैन । सरकारले यस्ता समस्यालाई विश्वविद्यालयका पाठ्यक्रममा राख्न सक्यो भने विकास दीर्घकालीन रूपमै अघि बढ्छ ।

No comments:

Post a Comment

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...