६ वटै संस्थान खुलाउन उद्योगको पहल

निरु अर्याल
काठमाडौं, २९ मंसिर
उद्योग मन्त्रालयअन्तर्गतका ६ वटा औद्योगिक संस्थान सञ्चालनका लागि मन्त्रालयले अर्थमन्त्रालयसमक्ष विकल्प प्रस्तुत गरेको छ ।
उद्योग मन्त्रालयले पठाएको विकल्पका सम्बन्धमा अर्थमन्त्रालयले छलफल अगाडि बढाएको जनाएको छ । उद्योग अन्तर्गतका जनकपुर चुरोट कारखाना, गोरखकाली रबर उद्योग, नेपाल औषधि लिमिटेड, नेपाल ओरेन्टियल म्याग्नेसाइट, नेपाल मेटल कम्पनीलाई आवश्यक प्रक्रियाका आधारमा खुलाउने तयारी उद्योग मन्त्रालयले गरेको हो । मन्त्रालयले यी संस्थान सञ्चालनका लागि आवश्यक पुँजी थपसहित व्यवस्थापकिय सुधार गरी सञ्चालन गर्ने प्रस्ताव अर्थमन्त्रालयमा पठाइसकेको छ । उद्योगको प्रस्तावका सन्दर्भमा आवश्यक छलफल भइरहेको अर्थ मन्त्रालय संस्थान समन्वय महाशाखाका प्रमुख खुमराज पुञ्जालीले बताए । “केही प्रस्ताव राम्रा र उपयुक्त पनि छन् तर संस्थानहरूमा समस्या उत्तिकै जटिल छन्,” उनले भने, “अर्थको सहयोगले सञ्चालनमा आउन सक्ने देखिएमा सञ्चालनका लागि पहल गर्नेबारे छलफल भइरहेको छ ।”
दुई वर्षदेखि बन्द अवस्थामा रहेको विराटनगर जुटमिललाई खुलाउने विषयमा भने मन्त्रालयले कुनै निर्णय लिन सकेको छैन । विराटनगर जुटमिलका कर्मचारीलाई दुई वर्षअघि अवकाश दिइएको थियो । संस्थानहरूको व्यवस्थापकिय सुधारका विषयमा व्यवस्थापिका संसद्को सार्वजनिक लेखा समितिले अर्थमन्त्रालयलाई संस्थानको प्रभावकारी सञ्चालन योजना बनाउन निर्देशन दिएको  थियो । त्यसपछि अर्थले उद्योगसँग प्रस्ताव माग गरेको थियो ।
सबै संस्थान सञ्चालनका लागि आर्थिक र व्यवस्थापकीय सुधारको आवश्यकता भएको बताउँदै उद्योग मन्त्रालयका सहसचिव सीताराम तिमल्सिनाले अर्थसँग मिलेर काम गरिरहेको जानकारी दिए । उद्योग मन्त्रालयले अर्थमन्त्रालयलाई पठाएको प्रस्तावमा बन्द रहेको जनकपुर चुरोट कारखाना सञ्चालन गर्नका लागि पुँजी थप र व्यवस्थाकीय सुुधार गर्न भनिएको छ । यो कारखाना कच्चा पदार्थको खरिद  र कर्मचारीको दायित्व भुक्तानी गर्न नसकेर बन्द भएको थियो ।
उत्पादन ठप्प रहेकोे नेपाल औषधि लिमिटेडलाई खुलाउन बजेट माग गरिएको छ । बजेट अभावका कारण औषधि लिमिटेडमा कार्यरत कर्मचारीलाई स्वेच्छिक अवकाश दिन सकिएको छैन । औषधि लिमिटेडले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुरूप काम गर्न नसकेर बन्द भएको र यसका लागि अत्यावश्यक मेसिनहरूको आवश्यक पर्ने भएकाले कारखाना सञ्चालन गर्नका लागि आवश्यक बजेटको मागसहितको सुझाव पनि अर्थलाई पठाएको प्रवक्ता यामकुमारी खतिवडाले जानकारी दिइन् । नेपाल ओरेन्ट एन्ड म्याग्नेसाइटमा भौतिक संरचनाको मर्मत सम्हार र कर्मचारी भुक्तानीका लागि पुँजी आवश्यक भएको, नेपाल मेटल कम्पनी चलाउन पुँजीको आवश्यकता रहेको उल्लेख छ । मन्त्रालयका अनुसार कर्मचारीको दायित्व भुक्तानी भइसकेको विराटनगर जुटमिलका विषयमा आवश्यक छलफलका आधारमा आवश्यक निर्णय लिनुपर्ने सुझाव दिइएको छ । “बन्द अवस्थामा रहेका ६ वटै संस्थानका विषयमा आवश्यक सुझाव दिएका छांै,” प्रवक्ता खतिवडाले भनिन् ।  “५ वटा संस्थानलाई आवश्यक सुधारका  आधारमा खुलाउने निश्चित भइसकेको छ, जुटमिल कारखानको लिजमा दिने कि अन्य व्यवस्था गर्ने भन्ने निर्णय भइसकेको छैन,” उनले भनिन् ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सरकारको ढुकुटी ऋणात्मक

सार्वजनिक सम्पत्तिबारे सरकार नै बेखबर