कफीमा आत्मनिर्भरता नजिक


Share |


 सातौं राष्ट्रिय कफी दिवस आज  काठमाडौं, ३० कात्तिक
नगदे बाली कफीमा नेपाल आत्मनिर्भरनजिक पुगेको छ । नेपाली कफीलाई आन्तर्राष्ट्रिय मुलुकमा अत्यधिक रुचाइने र कफीखेतीतर्फ व्यवसायीहरू आकर्षित हुन थालेकाले नेपालमा कफी व्यवसायले गति लिन थालेको हो ।
नेपाल चिया तथा कफी विकास बोर्डका अनुसार आर्थिक वर्ष ०६७/६८ मा १ करोड २५ लाख रुपैयाँबराबरको कफी आयात भएको छ । यो अघिल्लो आवको तुलनामा ४ करोड १८ लाख रुपैयाँले कमी हो । अघिल्लो आवमा ६ करोड ७५ लाख रुपैयाँको कफी आयात भएको थियो ।
कफीखेतीतर्फ कृषकको आकर्षण बढ्नु र आन्तरिक तथा बाह्य मुलुकका उपभोक्ताले नेपाली कफीलाई प्राथमिकतामा राख्नुले नेपाल कफीमा आत्मनिर्भर बन्दै गएको बोर्डले जनाएको छ । सातांै कफी दिवसको अवसर पारेर बोर्डले सार्वजनिक गरेको तथ्यांकअनुसार आव ०६७/६८ मा मात्रै नेपालबाट ९ करोड ३० लाखको कफी निर्यात भएको छ । यो अघिल्लो वर्षको तुलनामा २ करोड ५५ लाख ८९ हजारले बढी हो । अघिल्लो वर्ष ६ करोड ७५ लाखबराबरको कफी निर्यात भएको थियो ।
बोर्डका कार्यकारी निर्देशक रमणप्रसाद पाठकले नेपालमा कफी व्यवसाय बढ्दै गएको र यसतर्फ व्यवसायी पनि उत्साहित हुँदै गएको बताए । उनले कफीखेतीतर्फको बढ्दो आकर्षणलाई ध्यान दिँदै बोर्डले यसको विकास र विस्तारका लागि तीनवर्षे रणनीतिक योजना तयार पारिसकेको जानकारी पनि दिए ।
नेपाल कफी व्यवसायी महासंघका अध्यक्ष श्यामप्रसाद भण्डारीले व्यवसायीको पहलमा सात वर्षअघि कफी नीति आइसकेको जनाउँदै अहिलेसम्म कार्यान्वयन हुन नसकेको गुनासो गरे । “निजी क्षेत्रको पहलमा नेपाल कफीमा सम्पन्न हँुदै गएको भए पनि यसलाई सरकारी तहबाटै सुधारका लागि आर्थिक, व्यवासायिक र प्राविधिक सहयोगको आपेक्षा गरिएको छ,” उनले भने ।
नेपालमा उत्पादन हुने कफीले ४० प्रतिशत आन्तरिक बजार ओगटेको दाबी गर्दै भण्डारीले उत्पादन न्यून भएकाले अन्तर्राष्ट्रिय मान्यता पाउन नसकेको जिकिर गरे । व्यवसायी कृष्ण घिमिरेले कृषकलाई सेवा तथा सुविधा उपलब्ध गराउनुपर्ने माग गरे । “आन्तरीक खपतलाई बढावा दिन सरकारले प्राविधिक र नीतिगत सहयोग गर्न आवश्यक छ,” उनले भने ।
कफीको आयात प्रतिस्थापन गर्न नेपाल केही सक्षम देखिए पनि यसको सम्भावना र विकासलाई राज्य स्तरबाटै निगरानी गर्नुपर्ने उनको धारणा छ । नेपालको ४० जिल्लाको १ हजार ७ सय ५२ हेक्टरमा कफीखेती हुने गरेको बताउँदै घिमिरेले २६ हजार ५ सय कृषक यसमा आबद्ध रहेको जानकारी दिए ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक