१० वर्षमा ८ हजार मेट्रिक टन कफी उत्पादन गरिने

सन्दर्भःसातौं राष्ट्रिय कफी दिवस

काठमाडौं, १ मंसिर
नेपाल कफी व्यवसायी महासंघले आगामी १० वर्षभित्र ८ हजार मेट्रिक टन कफी उत्पादन गर्ने लक्ष्य लिएको जनाएको छ ।
सातौं राष्ट्रिय कफी दिवसको अवसरमा नेपाल चिया तथा कफी विकास बोर्डले बिहीबार गरेको कार्यक्रममा महासंघका अध्यक्ष श्यामप्रसाद भण्डारीले यस्तो जानकारी दिएका हुन् । अन्तर्राष्ट्रिय बजारमा नेपाली कफीको माग दिन–प्रतिदिन बढ्दै गएकाले अब १० वर्षभित्र ८ हजार मेट्रिक टन कफी उत्पादन गर्ने लक्ष्य लिइएको उनले बताए । मागअनुसार कफी अन्तर्राष्ट्रिय बजारमा पु¥याउन नसकेको उल्लेख गर्दै उनले माग पूरा गर्न उक्त अवधिमा १० लाख बिरुवा रोप्ने योजना रहेको पनि जानकारी दिए । “हामीकहाँ सामुदायिक जंगल छन्, खाली जमिन छ, यी ठाउँमा कफी लगाउन सकियो भने नेपाली कफीको माग पूरा हुन सक्छ,” उनले भने । उनका अनुसार गत वर्ष ४ सय १ मेट्रिक टन कफी उत्पादन भएको थियो ।
व्यावसायिक कृषि प्रवद्र्धन केन्द्रका अध्यक्ष डा. योगेन्द्र कार्कीले पछिल्लो समय कफी व्यवसायले फड्को मार्न थालेको भन्दै गुणस्तरलाई ध्यान दिएर उत्पादन गर्न सके व्यवसाय फस्टाउने बताए । “कफी उत्पादन १० वर्षको अवधिमा ७० मेट्रिक टनबाट ४ सय पुगेको छ, आगामी १० वर्षे योजनाले यसको प्रवद्र्धन गर्न थप सहयोग पुग्नेछ,” उनले भने ।
कार्यक्रममा बोर्डका कार्यकारी निर्देशक रमणकुमार पाठकले कफी व्यवसाय प्रवद्र्धन गर्न बोर्डले व्यवसायीसँग हातेमालो गरी काम गर्दै आएको बताए । व्यवसायी र बोर्डकै सहकार्यमा १० वर्षे योजना तयार पारिएको उनले प्रस्ट पारे । बोर्डमा भएको सानो पुँजीलाई चिया र कफीजस्ता व्यावसायिक खेतीमा लगाउने गरेको उनको भनाइ थियो । उनले भने, “बोर्डसँग भएको रकम यी व्यवसायमा लगानी गर्दै आएका छौं, आगामी दिनमा पनि व्यवसायी र किसानसँग सहकार्य गरी अघि बढ्छौं ।”
कृषि तथा सहकारी मन्त्रालयका सचिव उमाकान्त झाले उत्पादन र उत्पादकत्व बढाउन आवश्यक रहेको भन्दै उत्पादनमा गुणस्तरलाई ध्यान दिन सुझाव दिए । “कफी व्यवसायले अन्तर्राष्ट्रिय स्तरमा समेत ख्याति कमाएको छ, यसलाई कायम राख्न व्यवसायीले गुणस्तरलाई कायम गर्नुपर्छ,” उनले भने । बजेटका कारण कुनै कार्यक्रम प्रभावित नभएको उनले दाबीसमेत गरे । 

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन