पेटेन्ट र डिजाइन अनुमति लिनेमा विदेशी धेरै




 काठमाडौं, ३ मंसिरबौद्धिक सम्पत्तिअन्तर्गतको पेटेन्ट र डिजाइन शीर्षकमा अनुमति लिने स्वदेशीको तुलनामा विदेशीको संख्या बढी छ । उद्योग विभागले सार्वजनिक गरेको तथ्यांकअनुसार यस्ता शीर्षकमा ‘पेटेन्ट’ र ‘डिजाइन’ चिह्नको अनुमति लिने स्वदेशीभन्दा विदेशी कम्पनी धेरै देखिएको हो ।
नेपालीहरूले आविष्कारमाथिको अधिकार (पेटेन्ट) र आवरणात्मक कला कौशल तथा सीप (डिजाइन) लाई बौद्धिक सम्पत्तिको अधिकारको रूपमा ग्रहण गर्न नसकेकाले त्यसमा विदेशी कम्पनी वा व्यक्तिहरू आकर्षित हुने विभागले जनाएको छ ।
तथ्यांकअनुसार गत आवको असार मसान्तसम्म ६९ कम्पनीले पेटेन्ट र ७२ कम्पनीले डिजाइनको अनुमति लिएका छन्, जसमध्ये पेटेन्टतर्फ नेपाली कम्पनीको संख्या ३३ र डिजाइनतर्फ ३६ छ । यस्तै डिजाइनतर्फ १७ स्वदेशी र ५५ विदेशी कम्पनी छन् । यस्तो शीर्षकमा एक व्यक्तिले समेत दाबी गर्न सक्ने भएकाले यो अधिकार एक व्यक्तिलाई पनि दिने सकिने व्यवस्था छ ।
यद्यपि, ‘व्यापार चिह्न’ टे«डमार्कको अनुमति सम्बन्धन लिने नेपाली कम्पनीको संख्या भने दिनप्रतिदिन बढ्दै गएको विभागले जनाएको छ । विभागको तथ्यांकमा गत आवको असार मसान्तसम्म ११ हजार २ सय १५ वटा कम्पनीले व्यापार चिह्न पाइसकेका छन्, जहाँ नेपाली कम्पनीको संख्यामात्रै ७ हजार ९० छ ।
विभागबाट ४ हजार १ सय २५ विदेशी कम्पनीले व्यापार चिह्न लिइसकेका छन् । नेपालले बौद्धिक सम्पत्तिको अधिकारलाई वि.सं. १९९४ देखि मान्यता दिँदै आएको भए पनि सन् २००४ देखि विश्व बौद्धिक सम्पत्ति संगठनको सदस्यता लिएको हो । नेपालमा व्यापार चिह्नको दाबी गर्ने संघ–संस्था र कम्पनी वा जोकोहीले आफ्नो ब्रान्डलाई विश्वभर स्थापित गर्न पाउँछन् । व्यापार चिह्नको माध्यमबाट औद्योगिक उत्पादन बढ्ने, व्यापार बढ्ने र ब्रान्ड स्थापना गर्न सहज हुने भएकाले पेटेन्ट र डिजाइनको भन्दा व्यापार चिह्न लिन व्यवसायी उत्साहित हुने गरेको विभागका निर्देशक गोविन्द सुवेदी बताउँछन् ।
कुनै कम्पनी, संस्था वा संघ–संगठनले सामान्यतया व्यापार चिह्नका लागि आवेदन दिएको तीन महिनासम्म कुनै कम्पनी वा संघ–संस्थाबाट व्यापार चिह्नको दाबी नगरेको अवस्थामा आवेदन दिएको मितिले चार महिनासम्ममा व्यापार चिह्न (टे«डमार्क) पाउने व्यवस्था छ । एक ठाउँमा दर्ता भएको चिह्नलाई विश्वको जुनसुकै ठाउँबाट पनि दाबी गर्न सकिने भएकाले आवेदन दिएको मितिले ९० दिनको समय तोकिएको हो ।

२००४ देखि हालसम्म दर्ता भएका टे«डमार्कको संख्या
वर्ष                                         संख्या
२००४                                       १,३९१
२००५                                       १,३४७
२००६                                       १,५९८
२००७                                       ७८९
२००८                                      १,५७२
२००९                                       १,४६९
२०१०                                       २,३५१
२०११ को ६ महिनासम्म              ७९८

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक