पोल्ट्रीमा २२ अर्ब निजी लगानी

“सरकारले तीन वर्षमा मासुको आयात प्रतिस्थापन गर्ने घोषणा गरेको छ तर हामीसँग अहिलेसम्म कुनै त्यस्तो प्रविधि छैन” 
काठमाडौं, २४ भदौ
सरकारले तीन वर्षमा मासु आयात प्रतिस्थापन गर्ने योजना बनाएका बेला व्यवसायीहरूले सरकारको लगानीबिना नै २२ अर्ब रुपैयाँ पोल्ट्री क्षेत्रमा लगाएको बताएका छन् । पोल्ट्री व्यवसाय आफैंमा बृहत् लगानीको क्षेत्र भए पनि जनमानसले हेय दृष्टिले हेर्ने गरेको उनीहरूको भनाइ छ ।
राजधानीमा बिहीबारदेखि सञ्चालित एभियाना पोल्टी एक्पो २०११ को समापनमा नेपाल पशुपन्छी औषधि व्यवसायी संघका अध्यक्ष नवराज शर्मा तिमिल्सनाले करिब २२ अर्बको लगानी रहेको यो व्यवसायमा झन्डै ४ लाखले रोजगारी पाएको जानकारी दिए । “सरकारी लगानीबिना पनि हामीले यो क्षेत्रमा २२ अर्ब लगानी गरेका छौं, यो आफैंमा बृहत् छ,” उनले भने ।
पोल्ट्री तथा दाना उद्यमीलाई एकै ठाउँमा उपस्थित गराएर नयाँ–नयाँ प्रविधिबारे जानकारी दिने उद्देश्यले मेला आयोजना गरिएको हो । “सरकारले तीन वर्षमा मासुको आयात प्रतिस्थापन गर्ने घोषणा गरेको छ तर हामीसँग अहिलेसम्म कुनै त्यस्तो प्रविधि छैन,” शर्माले भने ।
नेपालको कृषि क्षेत्रलाई बढावा दिन अन्तर्राष्ट्रियस्तरका उद्यमी व्यवसायीलाई सहभागी गराइएको धारणा राख्दै उनले मेलाबाट व्यवसायीलाई नयाँ प्रविधि तथा सीप विकासमा मद्दत भएको धारणा राखे । देशमा यस्ता उद्योगको प्रचुर सम्भावना हुँदाहँुदै पनि प्रविधि र चेतनाको अभावले आयातलाई प्रतिस्थापन गर्न नसकेको शर्माले बताए ।
आयोजक संस्था एभियानाका निर्देशक डा. इन्द्रजित सिंहले एक्पोमा कृषकहरूको उत्साहजनक सहभागिता रहेको भन्दै प्रत्येक दुई वर्षमा नेपालमा यस्तो मेलाको आयोजना गर्ने प्रतिबद्धता व्यक्त गरे । मेला एसियाकै सबैभन्दा बृहत् र पशुपन्छी व्यवसायी भएको जिकिर गर्दै उनले मेलाबाट व्यवसायीलाई थप ऊर्जा मिलेको टिप्पणी गरे ।
दाना उद्योग संघका अध्यक्ष नारायणहरि अधिकारीले दाना तथा पोल्ट्रीजन्य उद्योगले सरकारी लगानीबिना लाखांैलाई रोजगारी दिएको भन्दै अब हुने एक्स्पोमा कृषिसँग सम्बन्धित सबै पक्षलाई समेट्ने प्रतिबद्धता जनाए । ‘पशुधन तथा पोल्ट्री स्वास्थ्य, जीवन र खुसियालीको उत्कृष्ट माध्यम’ भन्ने नाराका साथ बिहीबारदेखि सञ्चालित मेलामा विश्वका २० राष्ट्रको ७० कम्पनीले सहभागिता जनाएका थिए ।
नेपाल पशुपन्छी व्यवसायी संघ र पशु सेवा विभाग नेपाल दाना उद्योग संघले आयोजना गरेको मेला २५ हजारले अवलोकन गरेको आयोजकले जानकारी दिएको छ । तीन दिनसम्म चलेको एक्पोमा ५० जिल्लाका कृषक तथा व्यवसायीको सहभागिता थियो ।
एक्पोमा पोल्ट्री अन्डा तथा पशु आहारको उत्पादन तथा प्रशोधनमा प्रयोग गरिने नवीनतम संयन्त्र तथा सेवाहरूको स्टल राखिएका थिए । यसैगरी, पशुपन्छीजन्य औषधि, दाना तथा उपकरणहरूको उत्पादन प्रक्रिया, प्रशोधनदेखि प्याकेजिङसम्मका पोल्ट्री तथा दाना उद्योगका विविध चरणका बारेमा कार्यपत्रसमेत प्रस्तुत गरिएको थियो ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक