Saturday, September 17, 2011

२० सरकारी कार्यालयमा ६२३ कर्मचारी अनुपस्थित




 काठमाडौं, २६ भदौराजधानीका २० वटा सरकारी कार्यालयका ६ सय २३ जना कर्मचारी कार्यालय समयमा अनुपस्थित भएको पाइएको छ । राष्ट्रिय सर्तकता केन्द्रले राजधानीका २० वटा सरकारी कार्यालयमा छड्के जाँच गर्दा सरकारी कार्यालयका कर्मचारी अनुपस्थित भएको पाइएको हो । केन्द्रको अनुगमनमा जनसरोकारका काम गर्ने सरकारी कार्यालयले कर्मचारी नियमावलीविपरीत कार्य गरेको जनाएको छ ।
केन्द्रले सरकारी कार्यालयको अनियमितता र कर्मचारीको अनुपस्थिति तथा  नागरिक वडापत्रबारे जानकारी लिन २४ कार्यालयको छड्के अनुगमन गर्न १७ टोली गठन गरेको थियो ।
पहिलो दिन केन्द्रद्वारा परिचालित २० टोलीले २० कार्यालयको निरीक्षण गरेको छ ।
केन्द्रले कार्यालयको छड्के जाँच, नागरिक वडापत्रको कार्यान्वयन अवस्था, आव ०६७÷६८ को जिन्सी निरीक्षणको अवस्था र कर्मचारी दरबन्दी र त्यसअनुसारको नियुक्तिको अवस्था तथा सेवा प्रवाहबारे जानकारी लिएको थियो ।
सोमबार कर्मचारीको छड्के जाँचबाट अधिकांश कार्यालयमा कर्मचारी अनुपस्थित भएको तथा कर्मचारीले कार्यालयको काम गर्दा गैरजिम्मेवारपन देखिएको केन्द्रको निष्कर्ष छ । छड्के जाँच गर्दा केन्द्रले महाराजगन्जमा रहेको कान्ती अस्पतालमा मात्रै ३ सय ५ कर्मचारी अनुपस्थित रहेको जनाएको छ ।
यसैगरी, भक्तपुरमा रहेको प्राविधिक शिक्षा उच्च माध्यमिक शिक्षा परिषद् (सीटीईभीटी) मा ९३ जना, काठमाडौंको मीनभवनमा रहेको निजामती अस्पतालमा ६३ जना, भक्तपुर अस्पतालमा ५३ जना र नेपाल गुणस्तर तथा नापतौल विभाग बालाजुमा २० जना कर्मचारी अनुपस्थित रहेको केन्द्रले जनाएको छ । यस्तै, जिल्ला प्रशासन कार्यालय काठमाडौंमा १० जना, नापी विभाग डिल्लीबजारमा दुईजना, नापी कार्यालय ललितपुरमा आठजना र जिविसको कार्यालय काठमाडौंमा १३ जना कर्मचारी अनुपस्थित थिए ।
बागमती अञ्चल यातायात व्यवस्था कार्यालय, उद्योग विभाग, कम्पनी रजिस्ट्रारको कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय, ठूला करदाता कार्यालय ललितपुरलगायतका निकायमा छड्के जाँच गर्दा व्यापक अनियमितता भएको पाइएको केन्द्रका प्रवक्ता अर्जुनप्रसाद खनालले जानकारी दिए । । उनले पछिल्लो समयमा कर्मचारीले व्यवस्थित हाजिरीलाई पालना नगरेर गैरजिम्मेवारपन देखाएको भन्दै कर्मचारीलाई आफ्नो कामप्रति उत्तरदायी बनाउन अनुगमनलाई तीव्रता दिइएको जानकारी दिए ।
“छड्के अनुगमनले कर्मचारीलाई आफ्नो कामप्रति जवाफदायी बनाउन सहयोग पुग्ने विश्वास लिएका छौं,” उनले भने । प्रवक्ता खनालका अनुसार केन्द्रको यो कार्यबाट सेवाग्राहीलाई प्रभावकारी रूपमा सुविधा पाउन सहज हुनेछ ।
सरकारी कार्यालयमा गरिएको अनुगमनबारे टोलीले प्रतिवेदन पेस गर्ने र प्रतिवेदनका आधारमा केन्द्रले सुझाव तथा सल्लाह दिने भएको छ । “हामीले सरकारी कार्यालयमा हुने अनियमिता र कर्मचारीतन्त्रलाई बलियो बनाउन छड्के जाँच गरेका हौं,” उनले भने । केन्द्रको यो यस वर्षको पहिलो अनुगमन हो । कार्यक्रम तीन दिनको रहनेछ ।

No comments:

Post a Comment

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...