Saturday, September 17, 2011

अनुगमन गर्न आठ सदस्यीय टोली विराटनगर जाने

सूर्य नेपाल गार्मेन्ट 
काठमाडौं, २७ भदौ
व्यवस्थापिका संसद्को श्रम तथा अर्थसमितिले सूर्य नेपाल गार्मेन्टको प्रत्यक्ष अनुगमन तथा निरीक्षण गर्न आठजनाको टोलीलाई विराटनगर पठाउने भएको छ । मंगलबार बसेको समितिअन्तर्गतको श्रम, यातायात, उद्योग, वाणिज्य तथा आपूर्ति उपसमितिले सात दिनको समय दिएर टोलीलाई विराटनगर र धरान पठाउने निर्णय गरेको हो ।
गएको साउन ३१ गते सूर्य नेपाल गार्मेन्टको व्यवस्थापनले मजदुर समस्याका कारण उद्योग खुलाउने वातावरण नभएको भन्दै मजदुरलाई जेठसम्मको तलब खुवाएर सधैंका लागि गार्मेन्ट बन्द गर्ने निर्णय गरेको थियो ।
समितिले गठन गरेको टोलीमा व्यवस्थापिका संसद्को अर्थ तथा श्रम सम्बन्ध समितिका शान्ति बस्नेत (अधिकारी), जिपछिरिङ लामा, तिलकबहादुर थापामगर, मोतीलाल दुगड, लक्ष्मी परियार, विमला सुवेदी, हेमराज तातेड र श्रीराम ढकाल छन् ।
समितिको निर्णयअनुसार आगामी असोज ३ गते व्यवस्थापिका संसद्को अर्थ तथा श्रम सम्बन्ध समितिको विशेष टोली कारखाना बन्द हुनुको कारण बुझ्न र कारखाना खुलाउन पहल गर्ने उद्देश्यसहित विराटनगर प्रस्थान गर्नेछ । टोलीले सोही दिनदेखि नै गार्मेन्टको अनुगमन, निरीक्षण तथा सम्बन्धित निकाय र पदाधिकारीसँग छलफल तथा परामर्शलाई तीव्रता दिन पनि समितिले जनाएको छ ।
बैठकमा उपसंयोजक शान्ति बस्नेतले समितिको मुख्य उद्देश्य कारखाना बन्द हुनुको वास्तविक कारण थाहा पाउनु र त्यसलाई पुःन सञ्चालन गर्न पहल गर्नु रहेको जानकारी दिइन् ।
उनका अनुसार टोलीले ३ गते नै सूर्य नेपालको व्यवस्थापन, ट्रेड युनियनका स्थानीय पदाधिकारी, नागरिक समाज र उद्योग वाणिज्य संघका पदाधिकारीसंग छलफल गर्ने छ । समितिको निर्णयअनुसार टोलीले ४ गते कम्पनी अवलोकन गर्ने, ६ र ७ गते धरानका औषधि कारखानाको अवलोकन तथा व्यवस्थापनसँग छलफल गर्नेछ ।
उपसंयोजक बस्नेतले बजारमा गुणस्तरहीन औषधि देखिएको भन्दै अनुगमनमा औषधि कारखानाको विषय पनि समेटिएको जानकारी दिइन् । उनका अनुसार टोलीले विराटनगर क्षेत्रका जुट कारखानाहरुको पनि अध्ययन गर्नुका साथै व्यवस्थापन र मजदुरसँग छलफल गर्ने योजना बनाएको छ ।

No comments:

Post a Comment

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...