अन्नपूर्ण मिठाई भण्डार बन्द




 काठमाडौं, २९ भदौवाणिज्य विभागको अनुगमन टोलीले गौशालामा रहेको अन्नपूर्ण मिठाई भण्डार अनिश्चितकालका लागि बन्द गरेको छ । बिहीबार अनुगमनमा खटिएको टोलीले भण्डारण गरिएका मिठाईमा झिँगा भन्केको, रसबरीको भाँडोमा साङ्ला तथा कीरा छरपस्ट रूममा तैरिएको तथा बिग्रिएको दूधको खुवा बनाउन प्रयोग गरेको पाएपछि बन्द गर्न निर्देशन दिएको हो ।
१५ दिनअघिको अनुगमनका क्रममा गुणस्तरहीन मिठाई बेचेको भेटिएपछि सुधार गर्न दिएको निर्देशन मान्न अटेर गरेको भन्दै टोलीले उक्त पसलको सम्पूर्ण उत्पादन तथा बिक्री बन्द गरेको हो । अनुगमनका क्रममा खाद्य तथा अखाद्य वस्तु एकै ठाउँमा भण्डारण गरिएको र भण्डारण गर्ने कक्ष शौचालय जस्तै दुर्गन्धित रहेको पाइएको छ ।
भण्डारमा प्रयोग हुने पानीमा कीरा परेको, पिठो मुछ्ने भाँडो तथा भण्डारण गरी राख्ने भाँडा तथा औजार पनि अत्यन्त फोहोर अवस्थामा भेटिएका छन् ।
टोलीले तीन तलामाथि पकाइएका समान भुइँ तलाबाट बिक्री गर्ने गरिएको तथा भण्डारमा प्रयोग हुने सामान विभागको मापदण्डविपरीत कार्य गरेको भन्दै तीन दिनभित्र आवश्यक सुधारसहित विभागमा उपस्थित हुन पत्र काटेको छ ।
यसअघि, खाद्य तथा गुण नियन्त्रण विभागले उक्त भण्डारलाई मापदण्डविपरीतका कार्य गरेको भन्दै आवश्यक सुधारसहित तीन दिनमा उपस्थित हुन पत्र काटेको थियो ।
विभागले तोकेको समयमा उक्त भण्डारका सञ्चालक अञ्जनी कुमारले बेवास्ता गरेको र सरसफाइमा चरम मनोमानी गरेको भन्दै टोलीले बिहीबारदेखि उत्पादन तथा बिक्री बन्द गर्ने निर्णय गरेको हो ।
विभागको निर्णयपछि अन्नपूर्ण मिठाई भण्डारले कुनै पनि वस्तु उत्पादन तथा बिक्री गर्न पाउनेछैन । “यो हाम्रो दोस्रो अनुगमन हो, यसबाट पनि यहाँको वातावरण सुध्रिएन भने पसल खुल्ने कुनै अधिकार छैन,” खाद्य तथा गुण नियन्त्रण विभागका खाद्य निरीक्षक गोविन्द ढुंगेलले भने । उनले विभागमा चित्त बुझ्दो जवाफ दिए पनि भण्डारको अनुगमनपश्चात् मात्र सञ्चालन गर्न दिने जानकारी पनि दिए ।
टोलीले बिहीबार नै ओम अस्पताल एन्ड रिसर्च सेन्टरको क्यान्टिनमा पनि अनुगमन गरेको थियो । अनुगमनका क्रममा अस्पतालको भान्सामा कुहिएको आलु प्रयोग भएको भेटिएको छ ।
यसैगरी, भान्सामा प्रयोग भएको सुजी, अजिना मोटो, दुनट तथा आलु चिप्समा कुनै लेवल राखिएको थिएन । अनुगमनका क्रममा क्यान्टिन महानगरमा दर्ता नभएको पाइएको थियो । भान्साको अनुगमन गर्दा बिरामी तथा कुरुवाले खाने खाना नछोपी राखिएको तथा लेबल नभएको मसला प्रयोग गरिएको पाइएको थियो । अनुगमनपछि क्यान्टिन सञ्चालकलाई तीन दिनभित्र आवश्यक सुधारसहित विभागमा उपस्थित हुन अनुगमन टोलीले निर्देशन दिएको छ ।
टोलीले सोही अस्पतालको राजभण्डारी फर्मास्युटिकलमा सामान्य औषधिमा समेत ट्याग नभएको पाइएको जनाएको छ । अस्पताल सञ्चालक डा. भोला रिजालले बजार अनुगमनको स्वागत गरेका थिए । “यो अनुगमनको सुरुवात हो यसलाई निरन्तरता दिइनुपर्छ,” उनले भने ।
त्यस्तै चाबहिलमा रहेको पुनम टे«डलिंकमको अनुमगन गर्दा मूल्यसूची गलत राखिएको पाइएको थियो । गौशालामा रहेको बेन्जन मिष्ठान भण्डारमा फोहोर अव्यवस्थित भएको भन्दै टोलीले अनुगमनका क्रममा तीन दिनभित्र स्पष्टीकरण पेस गर्न पत्र काटेको छ ।
टोलीमा वाणिज्य विभागका निर्देशक खिलानाथ बस्ताकोटीको नेतृत्वमा खाद्य तथा गुण नियन्त्रण विभाग, जिल्ला प्रशासन कार्यालय, महानगरपालिका तथा उपभोक्ता अधिकार मञ्च र सञ्चारकर्मीको सहभागिता थियो ।
यातायात भाडा अनुगमन
सवारी साधनमा भाडा मनोमानी हुनसक्ने भन्दै यातायात व्यवस्था विभागले अनुगमनलाई तीव्रता दिएको छ ।
बिहीबार विभागले दुईवटा टोली परिचालन गरी उपत्यकाका त्रिपुरेश्वर, कालिमाटी, कलंकी, नयाँ बसपार्क, पुरानो बसपार्क, कोटेश्वर र थानकोटलगायतका मुख्य–मुख्य सहरी क्षेत्रको अनुगमन गरेको हो ।
अनुगमनका क्रममा दुईवटा मालबाहक ट्रिप्पर र एउटा यात्रुबाहक बसका कागजात विभिन्न कसुरमा नियन्त्रणमा लिई आवश्यक कारबाही अघि बढाइएको विभागले जनाएको छ । टोलीले सवारी साधनको भारवाहन, आरक्षण व्यवस्था, कागजपत्रको चेकजाँच तथा भाडादरका विषयमा अनुगमन गरेको थियो । विभागले यातायात क्षेत्रको अनुगमनलाई प्रभावकारी बनाउन दुईवटै टोलीलाई प्रत्येक दिन परिचालित गर्ने भएको छ ।

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन