गत वर्ष साढे नौ प्रतिशतको मूल्यवृद्धि

काठमाडौं, १९ भदौ
गत वर्ष उपभोग्य वस्तुको मूल्यवृद्धिदर ९.६ प्रतिशत रहेको छ । सरकारले यो दर साढे ७ प्रतिशतमा सीमित राख्ने लक्ष्य लिएको थियो । अघिल्लो आर्थिक वर्षमा मुद्रास्फीति ९.६ प्रतिशत थियो ।
समीक्षा अवधिमा अघिल्लो वर्षझैं खाद्य तथा पेय पदार्थ समूहको मूल्य सूचकांक १४.७ प्रतिशतको उच्च दरले वृद्धि भए पनि गैरखाद्य तथा सेवा समूहको मूल्य सूचकांक ५.४ प्रतिशतले मात्र वृद्धि भएकाले समग्रमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति अघिल्लो आवको स्तरमा नै रहन गएको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो आवमा यी समूहहरुको मूल्य सूचकांकको औसत वृद्धि क्रमशः १५.१ प्रतिशत र ४.९ प्रतिशत थियो ।
गत वर्ष खाद्य तथा पेयपदार्थ समूहमा पर्ने वस्तुहरुमध्ये तरकारीको वार्षिक औसत मूल्यवृद्धि सबैभन्दा बढी ३५ प्रतिशत छ । आव ०६६÷६७ मा पनि यस उपसमूहको मूल्य सूचकांकको वार्षिक औसत वृद्धि २०.५ प्रतिशत थियो ।
समीक्षा वर्षमा मसला, चिनी तथा मिठाई र फलफूलको मूल्य सूचकांकमा वार्षिक औसत वृद्धि क्रमशः २३.२, १९.५ र १९.४ प्रतिशत छ । अघिल्लो आवमा सो वृद्धिदर क्रमशः २७.४, ४५.३ र २०.५ प्रतिशत थियो । अघिल्लो वर्ष २०.३ प्रतिशतले वृद्धि भएको रेस्टुराँ तथा होटलको वार्षिक औसत मूल्य सूचकांकमा समीक्षा वर्षमा १५.५ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्ष गैर–खाद्यवस्तु तथा सेवा समूहका वस्तुमध्ये लत्ताकपडा तथा जुत्ताचप्पल र घरायसी उपयोगका सामानको वार्षिक औसत मूल्य सूचकांक क्रमशः १३.३ र ७.५ प्रतिशतले वृद्धि भएको छ । उक्त वृद्धिदर अघिल्लो वर्ष क्रमशः ७.६ र ३.१ प्रतिशत थियो । गत वर्ष उपत्यका, पहाड र तराईको वार्षिक औसत मूल्य सूचकांक क्रमशः १२.१, १०.६ र ७.२ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो वृद्धिदर क्रमशः ९.२, १०.३ र ९.५ प्रतिशत थियो ।
त्यसैगरी, गत वर्ष थोक मूल्य सूचकांक ९.९ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष यस्तो वृद्धिदर १२.६ प्रतिशत थियो । थोक मूल्यअन्तर्गतका कृषिजन्य वस्तु र स्वदेशी उत्पादित वस्तुहरुको वार्षिक औसत मूल्य सूचकांक क्रमशः १०.८ र ९.१ प्रतिशतले वृद्धि भएको छ ।
गत वर्ष कृषिजन्य वस्तुअन्तर्गत मसला, फलफूल तथा तरकारी र खाद्यान्न समूहतर्फको वार्षिक औसत मूल्य सूचकांकको वृद्धिदर क्रमशः ३८.१, २३.६ र १३ प्रतिशत छ । अघिल्लो वर्ष यस्तो वृद्धिदर क्रमशः ३७.६, ९.४ र १७.२ प्रतिशत थियो ।
गत वर्ष स्वदेशमा उत्पादित वस्तुमध्ये पेय पदार्थ तथा सुर्तीजन्य वस्तु र खाद्यजन्य वस्तुको वार्षिक औसत मूल्य सूचकांक क्रमशः १४.३ र ५.७ प्रतिशतले बढेको छ । अघिल्लो वर्ष उक्त सूचकांकहरुमा क्रमशः १३.४ र १२.५ प्रतिशतले वृद्धि भएको थियो । अघिल्लो वर्ष निर्माण सामग्रीको वार्षिक औसत मूल्य सूचकांकमा ४ प्रतिशतले वृद्धि भएकोमा समीक्षा वर्षमा ५.२ प्रतिशतले वृद्धि भएको छ ।
आयातित समूहतर्फ पेट्रोलियम पदार्थ तथा कोइला र यातायातका साधन तथा मेसिनरी सामानको वार्षिक औसत मूल्य सूचकांकमा क्रमशः १५.८ र ५.८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यी समूहहरुमा क्रमशः ४.८ र १.५ प्रतिशतले ह्रास आएको थियो ।
तलब तथा ज्यालादर पनि बढ्यो
मूल्यवृद्धिको तुलनामा औसत राष्ट्रिय तलब तथा ज्यालादर सूचकांकमा पनि वृद्धि भएको छ । यस्तो सूचकांकमा १८ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो वृद्धिदर १७.२ प्रतिशत थियो । गत वर्ष राष्ट्रिय तलब तथा ज्यालादर सूचकांकमध्ये तलबको सूचकांक स्थिर छ भने ज्यालादर सूचकांकको वार्षिक औसत वृद्धिदर २४ प्रतिशत छ । यस्तो वृद्धिदर अघिल्लो वर्ष क्रमशः २०.२ र १६.३ प्रतिशत थियो । समीक्षा वर्षमा ज्यालादरतर्फ कृषि मजदुरहरूको ज्यालादर सूचकांकको वार्षिक औसत वृद्धिदर ३२.३ प्रतिशत छ भने औद्योगिक र निर्माण मजदुरहरुको ज्यालादर सूचकांकको वार्षिक औसत वृद्धिदर क्रमशः ९.५र २१.३ प्रतिशतले बढेको छ

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक