गलैंचाको कच्चा पदार्थ अब स्वदेशमै

 काठमाडौं, १५ भदौ
मुलुकको प्रमुख निकासीजन्य वस्तु गलैंचाको कच्चा पदार्थ स्वदेशमै उत्पादन हुने भएको छ । व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रले पाँचवटै विकास क्षेत्रमा कच्चा पदार्थ उत्पादन गर्न गलैंचा तालिम केन्द्र स्थापनाको तयारी गरिरहेकाले यो सम्भव भएको हो ।
पूर्वाञ्चल, पश्चिमाञ्चल, मध्यपश्चिमाञ्चल विकास क्षेत्रमा क्रमशः मोरङ, पोखरा र सुर्खेतमा केन्द्र बनाउन सम्भाव्यता अध्ययन गरिसकेको केन्द्रका टेक्स्टाइल इन्जिनियर राजेन्द्र सिंहले बताए । गलैंचा उद्योगमा मजदुर अभाव भएकाले हाल मागअनुसार उत्पादन गर्न नसकेको भन्दै केन्द्रले यस्तो अवधारणा अघि सारेको हो । यस कार्यक्रमका लागि सरकारले हरेक विकास क्षेत्रमा ५ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।
केन्द्रले गरेको अध्ययनमा पाँचै विकासक्षेत्रको स्थानीय उद्योग वाणिज्य संघको संयोजनमा केन्द्र स्थापनाका लागि सहज वातावरण उपलब्ध हुने देखिएको छ । तालिम केन्द्रले व्यवसायीलाई कच्चा पदार्थ उत्पादन गर्ने प्रविधि, गलैंचा तयार गर्दाको सुरुदेखि अन्तिम चरणसम्म आवश्यक पर्ने सम्पूर्ण तालिम दिनेछ । नेपालमा हाल गलैंचा उत्पादनमा काम गर्ने मजदुरको अभाव भइरहेकाले केन्द्रले श्रम सशक्तीकरणमा पनि सघाउ पु¥याउने टेक्स्टाइल इन्जिनियर सिंहले बताए ।
अहिले विभिन्न मुलुकबाट गलैंचाको माग आए पनि कामदार अभाव र कच्चा पदार्थ समयमै उपलब्ध हुन नसक्दा मागअनुसार आपूर्ति गर्न सकिएको छैन । यस्ता आन्तरिक समस्याले गर्दा गलैंचाको निर्यातमा गएको ६ वर्षयता गिरावट आइरहेको छ । यो अवधिमा ८० प्रतिशतले गलैंचा निकासीमा ह्रास आएको भने करिब साढे ३ लाखले रोजगारी गुमाएका छन् ।
हाल नेपालले वार्षिक करिब २ अर्ब ५० करोड रुपैयाँ बराबरको कच्चा पदार्थ आयात गर्दै आएको छ । नेपालमा करिब १ सयको हाराहारीमा गलैंचा उद्योग सञ्चालनमा छन् भने करिब २ सय ५० गलैंचा उद्योग बन्द भइसकेका छन् ।
नेपालबाट अमेरिका, जर्मनी, बेलायत, स्विट्जरल्यान्ड, बेल्जियम, ब्राजिल, इटली, अस्ट्रेलिया, रूस, चीन, कोरिया, जापान, भुटान, मेक्सिको, मलेसिया, हङकङ, थाइल्यान्ड, माल्दिभ्सलगायत देशमा गलैंचा निर्यात हुने गरेको छ ।

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन