टेस्टिङ ल्याब भदौ मसान्तदेखि सञ्चालनमा आउने

 काठमाडौं, २३ साउनचाँदीका गहनाको गुणस्तर परीक्षण गर्ने मेसिन भदौ मसान्तदेखि विधिवत् रूपमा सञ्चालनमा आउने भएको छ । धातुजन्य वस्तु परीक्षण गर्ने सो उपकरण सोमबार भारत हुँदै नेपाल भित्रिए पनि एक महिनापछि मात्र सञ्चालनमा ल्याइने भएको हो ।
अन्तर्राष्ट्रियस्तरका निर्यातजन्य धातुका सामान गुणस्तरीय नभएका गुनासाहरू बढ्दै गएकाले यसको समाधान गर्न सार्वजनिक–निजी साझेदारीको आवधारणाअनुरुप टेस्टिङ ल्याब सञ्चालनमा ल्याउन लागिएको हो । वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहयोगमा नेपाल हस्तकला महासंघ व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र र नेपाल गुणस्तर तथा नापतौल विभागले संयुक्त रूपमा मेसिन खरिद गरेका हुन् ।
धातुजन्य वस्तुमा क्याडमियम नामक रसायन परीक्षणका लागि खरिद गरिएको सो मेसिन जापानको सिमाज्दु कम्पनीको रहेको नेपाल हस्तकला महासंघले जनाएको छ । महासंघका अनुसार सो मेसिनको मूल्य ४२ लाख रुपैयाँ हो ।
मेसिनलाई प्रारम्भिक परीक्षणका लागि नेपाल गुणस्तर विभागपरिसरमा राखिने  महासंघ अध्यक्ष विकासरत्न धाख्वाले जानकारी दिए । “परीक्षणपछि त्रिपुरेश्वरस्थित घरेलु तथा साना उद्योग विभागपरिसरमा राखिनेछ,” उनले भने । हस्तकलाजन्य उद्योग पनि घरेलु उद्योग भएकाले घरेलु विभागपरिसरमा राख्ने निर्णय भएको उनले बताए ।
अध्यक्ष धाख्वाका अनुसार मेसिनको खरिद मूल्य ४२ लाख रहे पनि सरकार र महासंघले ६०÷६० लाख गरी १ करोड २० लाख छुट्ट्याएका थिए ।
नेपालमा हालसम्म क्याडमियम परीक्षण गर्ने कुनै उपकरण तथा प्रयोगशाला छैन । जसका कारण केही वर्षयता नेपाली हस्तकलाका सामान गुणस्तरीय नभएको भन्दै आयात गर्ने राष्ट्रले नेपालमा प्रयोगशाला स्थापना गर्न दबाब दिँदै आएका छन् । यसैको दबाबमा परेर नेपाली सामानको प्रचारप्रसार गर्न तथा अन्तर्राष्ट्रियस्तरमा नेपाली सामानको गुणस्तर कायम गर्न प्रयोगशाला स्थापनामा पहल गरिएको महासंघको भनाइ छ ।
नेपालमा बन्ने चाँदीका गरगहना अमेरिका, जापान, जर्मनी, नेदरल्यान्ड, अस्ट्रेलिया, टर्की, रसिया, क्यानडालगायतका झन्डै ८० मुलुकमा निर्यात हुँदै आएका छन् । प्रयोगशाला स्थापना गर्ने विषयमा उद्योग मन्त्रालयको संयोजकत्वमा व्यापार तथा निकासी केन्द्र र नेपाल गुणस्तर तथा नापतौल विभागबीच विभिन्न कार्यक्रम गरी नेपाल हस्तकला महासंघले त्रिपक्षीय सम्झौता गर्दैै आएको छ ।
महासंघका अनुसार मेसिन खरिद गर्नका लागि वाणिज्य मन्त्रालयले नेपाल व्यापार एकीकृत रणनीतिमार्फत गुणस्तर तथा नापतौल विभागलाई ६० लाख रुपैयाँ  दिएको थियो । रणनीतिले निर्यात प्रवद्र्धन गर्दा नेपाललाई तुलनात्मक लाभ पाइने भनी १२ वटा निर्यातजन्य वस्तुको पहिचान गरेको छ । चाँदी तथा धातुका गरगहना पनि नेपालबाट निर्यात हुने १२ वटा वस्तुमध्येको एक हो ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक