पर्यटनसम्बद्ध ३ सय ५१ उद्योग थपिए पर्यटनसम्बद्ध ३ सय ५१ उद्योग थपिए



 काठमाडौं, २५ असारसरकारले २०११ लाई पर्यटन वर्ष मनाउने घोषणा गरे पनि पर्यटन वर्षको पहिलो ६ महिनामा पर्यटनसम्बद्ध उद्योग दर्तामा कमी आएको छ । यो अवधिमा ३ सय ५१ उद्योग थपिएका छन् । अघिल्लो वर्षको सोही अवधिमा ३ सय ८७ उद्योग दर्ता भएका थिए ।
यसअघि दर्ता गरिएका उद्योगले आंशिक रूपमा समेत सफलता पाउन छोडेपछि यो क्षेत्रको उद्योग दर्तामा कमी आएको कम्पनी रजिस्ट्रारको कार्यालयले जनाएको छ ।
कार्यालयका अनुसार २०११ को जनवरीदेखि जुनसम्मको अवधिमा ट्राभल्स तथा टुर्स र टे«किङ एजेन्सी गरी ३ सय ५१ उद्योग दर्ता भएका हुन् । यो संख्या गत वर्षको तुलनामा ३६ ले कमी हो ।
तथ्यांकअनुसार सन् २०१० को अन्त्यसम्ममा दर्ता हुने यस्ता कम्पनीको संख्या १३ हजारभन्दा माथि छ ।
सरकारले करिब अढाइ वर्षअघि सन् २०११ को अन्त्यसम्ममा नेपाल पर्यटन वर्ष सफल पार्न १० लाख पर्यटक भित्र्याउने महत्वकांक्षी लक्ष्य लिएको छ । आन्तरिक रूपमा पर्यटन वर्षको सामान्य प्रचारप्रसार भए पनि ६ महिनाको तथ्यांकले अन्तर्राष्ट्रियस्तरमा उल्लेख्य प्रचार नभएकाले सोचेअनुरुप सफलता पाउन नसकेको सरोकारवालाले बताउँदै आएका छन् ।
पर्यटन वर्षलाई आधार मानेर सञ्चालन भएका अधिकांश उद्योग चुस्त रूपमा चल्न नसककाले नयाँ उद्योग दर्तातर्फ व्यवसायी उत्साहित नदेखिएको हुन सक्ने ट्रेकिङ एजेन्सी एसोसिएसन अफ नेपाल (टान) का पूर्वअध्यक्ष दीपक महतले बताए ।
उनले २०११ लाई पर्यटन वर्ष मनाउने भनिए पनि आर्थिक अभाव, प्रचारात्मक समस्या तथा अन्तरिक गतिविधिको कमीले महत्वकांक्षी लक्ष्य सफल हुनेमा आशंका बढेको धारणा राखे । “पर्यटन वर्ष सफल पार्न यस क्षेत्रमा ४५ प्रतिशतले वृद्धि हुनुपर्ने थियो,” उनले भने, “६ महिनाको तथ्यांक हेर्दा त्यो देखिएन, यसले आशंका पैदा गरिदिएको छ ।”
उनले लगानीमैत्री वातावरण र राजनीतिक अस्थिरताका कारण पर्यटन व्यवसाय लक्षित रूपमा फस्टाउन नसकेकाले व्यवसायीमा निराशा बढेको जनाए । उत्साहअनुसारको लक्ष्य हासिल गर्न नसकेको बताउँदै उनले भने, “६ महिनाको तथ्यांकलाई आधार मान्ने हो भने हाम्रो लक्ष्य २५ प्रतिशतमा सीमित हुन्छ ।”
यद्यपि, सरकारी निकायले भने १० लाख पर्यटक भित्र्याउन पर्याप्त कम्पनी भएकाले पछिल्लो समयमा यस्ता कम्पनी दर्तामा कमी आएको बताएको छ । “खोलिएका कम्पनीले चुस्त रूपमा काम गर्ने हो भने पुरानै कम्पनी पर्याप्त छन्,” पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता लक्ष्मण भट्टराईले भने । पर्यटन वर्षलाई लक्षित गरेर खोलिएका कम्पनी दीर्घकालीन रूपमा फस्टाउन नसक्ने धारणा राख्दै उनले भने, “पहिले नै यस्ता कम्पनी आवश्यकताभन्दा बढी दर्ता भएका छन् नयाँ दर्ताको खासै अर्थ छैन ।”
भट्टराईका अनुसार चालू आवको पछिल्लो ६ महिनामा २ लाख ४८ पर्यटकमात्रै नेपाल आएका छन् । सन् २०१० को पहिलो ६ महिनामा नेपाल आउने पर्यटक १ लाख ९६ हजार ३ सय १९ छन् । कम्पनी रजिस्ट्रारको तथ्यांकअनुसार गत वर्षमा मात्रै पर्यटन क्षेत्रमा ६ अर्ब लगानीको प्रतिबद्धता आएको छ ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक