संस्थानको स्थिर सम्पत्तिमा साढे ५ अर्ब वृद्धि संस्थानको स्थिर सम्पत्तिमा साढे ५ अर्ब वृद्धि

काठमाडौं, २३ असार
नेपाल सरकारको पूर्ण र आंशिक स्वामित्वमा सञ्चालित ३६ सार्वजनिक संस्थानहरूको स्थिर सम्पत्तिमा गत आर्थिक वर्ष २०६६/०६७ मा ५ अर्ब ६२ करोड रुपैयाँले वृद्धि भएको छ ।
उपप्रधान तथा अर्थमन्त्री भरतमोहन अधिकारीले बिहीबार व्यवस्थापिका संसद्मा प्रस्तुत गरेको ‘सार्वजनिक संस्थानहरूको वार्षिक स्थिति समीक्षा २०६८’ अनुसार आव २०६६/६७ को अन्त्यसम्ममा स्थिर सम्पत्ति १ खर्ब ३९ अर्ब ३६ करोड ४८ लाख रुपैयाँ पुगेको छ । आव २०६५/६६ को तुलनामा भने ३ अर्ब २१ करोड २० लाखले कमी आएको छ ।
यस वर्ष खुद स्थिर सम्पत्ति बढाउने समूहमा व्यापारिक, सेवा, वित्तीय क्षेत्रका संस्थान छन् भने औद्योगिक, सामाजिक र जनपयोगी समूहका संस्थानले बढाउन सकेका छैनन् । समीक्षा अवधिमा ३६ मध्ये २२ वटा संस्थान नाफा र बाँकी १४ घाटामा सञ्चालित छन् । आव २०६५/६६ मा १० अर्ब ४७ करोड २० लाख खुद नाफा रहेकोमा २०६६/६७ मा १०.४१ प्रतिशतले वृद्धि भई संस्थानको नाफा ११ अर्ब ५६ करोड २० लाख पुगेको छ ।
महालेखानियन्त्रकको कार्यालयबाट प्राप्त तथ्यांकअनुसार आव २०६६/६७ मा सार्वजनिक संस्थानमा सरकारको सेयर लगानी ८२ अर्ब ७५ करोड ७२ लाख छ । यसमध्ये ऋण लगानीमात्रै ८४ अर्ब ९१ करोड ६३ लाख रुपैयाँ रहेको सर्वेक्षणले देखाएको छ ।
समीक्षाअनुसार औद्योगिक क्षेत्रका सात वटा संस्थानमध्ये नाफामा हेटौंडा सिमेन्ट, उदयपुर सिमेन्ट, दुग्ध विकास संस्थान नाफामा छन् । त्यस्तै, जनकपुर चुरोट कारखाना, नेपाल औषधि लिमिटेड, जडिबुटी उत्पादन तथा प्रशोधन केन्द्र घाटामा छन् । औद्योगिक संस्थानहरूको कुल ऋण गत वर्ष ३ अर्ब ६८ करोड ९४ लाख रहेकोमा ६७ करोड १० लाखले बढेर ४ अर्ब ३६ करोड ३ लाख रुपैयाँ पुगेको छ ।
व्यापारिक क्षेत्रअन्तर्गत सञ्चालित ६ वटा संस्थानले समीक्षा अवधिमा ६० अर्ब ९३ करोड ५८ लाख सञ्चालन आय गरी गत वर्षभन्दा २०.३० प्रतिशतले वृद्धि गरे पनि ५५ करोड ६९ लाख नोक्सानी बेहोरेका छन् । यस क्षेत्रमा कृषि सामग्री कम्पनी लिमिटेड, राष्ट्रिय बीउबिजन कम्पनी लिमिटेड, नेसनल ट्रेडिङ, खाद्य संस्थान, आयल निगम र टिम्बर कर्पोरेसन छन् ।
सेवाक्षेत्रका सात वटा संस्थानको स्थिर सम्पत्ति ११ अर्ब ११ करोड ८८ लाख छ । यस क्षेत्रमा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड, नेसनल कन्स्ट्रक्सन, नेपाल पारवाहन तथा गोदाम व्यवस्था कम्पनी, नेपाल इन्जिनियरिङ कन्सल्टेन्सी, नेपाल वायुसेवा निगम, राष्ट्रिय उत्पादकत्व तथा आर्थिक विकास केन्द्र र नेपाल नागरिक उड्डयन प्राधिकरण छन् । यसमध्ये नेपाल वायुसेवा निगम १ अर्ब १७ करोड ८३ लाखले घाटामा छ ।
सामाजिक क्षेत्रका पाँचवटा संस्थानले पनि आव २०६६/६७ मा १५ करोड २२ लाख रुपैयाँ खुद नोक्सानी बेहोरेका छन् । गत वर्ष यो क्षेत्रले २८ करोड ३२ लाख रुपैयाँ नोक्सानी बेहोरेको थियो । यो क्षेत्रमा गोरखापत्र संस्थान, ग्रामीण आवास कम्पनीले नाफा कमाएका छन् भने बाँकी सांस्कृतिक संस्थान, जनक शिक्षा सामग्री केन्द्र र नेपाल टेलिभिजन घाटामा छन् ।
वित्तीय क्षेत्रका आठ संस्थानले गत वर्ष १० अर्ब ९२ करोड ७४ लाख रुपैयाँ खुद मुनाफा गरेकोमा आव २०६६/६७ मा २३.०९ प्रतिशतले वृद्धि गरी १३ अर्ब ४५ करोड ४ लाख नाफा गरेका छन् । गत वर्ष यस क्षेत्रका कुल सेयरधनी कोष ८० करोड ४६ लाखले ऋणात्मक रहेकोमा यस वर्ष ३ अर्ब ५० करोड ३५ लाखले धनात्मक भएको छ । यस क्षेत्रमा कृषि विकास बैंक, राष्ट्रिय बिमा संस्थान, नेपाल औद्योगिक विकास निगम, राष्ट्रिय वाणिज्य बैंक, निक्षेप तथा कर्जा सुरक्षण निगम, आवास विकास वित्त कम्पनी, नेपाल स्टक एक्स्चेन्ज र नागरिक लगानी कोष छन् ।
सार्वजनिक संस्थानमा कार्यरत जनशक्तिको योगदान सञ्चालन नाफाका आधारमा विश्लेषण गर्दा व्यापारिक क्षेत्रको बढी र औद्योगिक क्षेत्रका कर्मचारीको योगदान कम रहेको प्रतिवेदनमा औंल्याइएको छ ।
पछिल्लो समयमा राजनीतिक प्रभावका कारण कर्मचारी संघ–संगठनमा आबद्ध जनशक्ति आफ्नो सुविधा वृद्धिका लागि हड्ताल, तालाबन्दीजस्ता क्रियाकलापमा संलग्न रहेकाले उद्देश्यअनुसार अत्यावश्यक सेवा, वस्तुको उत्पादन तथा वितरण गर्न संस्थान अपेक्षाअनुरूप प्रभावकारी हुन नसकेको प्रतिवेदनमा उल्लेख छ ।

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन