Wednesday, June 29, 2011

‘९३ प्रतिशत साना उद्योग संकटग्रस्त’



काठमाडौं, ४ पुस

*    ३२ हजार साना उद्योग सञ्चालनमा

*   ९३  प्रतिशत उद्योग अनेक समस्याबाट ग्रसित

*   ९७ प्रतिशत उद्योग व्यक्तिगत

*   साना उद्योगमा ३० अर्ब ३ करोड लगानी

*   ४१ अर्ब ४९ करोड बराबरको वस्तु उत्पादन




सञ्चालनमा रहेका ९३ प्रतिशत साना उद्योगहरू संकटग्रस्त अवस्थामा रहको एक
अध्ययनले देखाएको छ । केन्द्रीय तथ्यांक विभागले आइतबार सार्वजनिक गरेको
प्रतिवेदनअनुसार सञ्चालनमा रहेका मध्ये ७ प्रतिशत उद्योगमात्र सबल छन् ।

समस्यामा परेका कुल उद्योगमध्ये ४१ प्रतिशत उद्योगमा विद्युत् शक्तिको अभाव
पहिलो समस्याको रूपमा देखिएको छ भने २१ प्रतिशत उद्योगले पुँजी अभावलाई
प्राथमिकतामा राखेका छन् । त्यस्तै, उत्पादित वस्तुको बजारीकरण तथा
कच्चापदार्थ अभावलाई ८÷८ प्रतिशत उद्योगले पहिलो समस्या भनी किटान गरेका
छन् । नीति–नियम अभाव तथा बन्द–हड्ताललाई ३ प्रतिशत उद्योगले मात्रै समस्या
देखाएको विभागले जनाएको छ । समयमै तलब सुविधा पु¥याउन नसक्नु तथा
व्यवस्थापन र मजदुरबीचको विवादलाई मुख्य समस्या भन्ने उद्योग १
प्रतिशतमात्र छन् ।

विभागका अनुसार गत वर्षको असार मसान्तसम्म ३२ हजार ३ सय २६ उद्योग
सञ्चालनमा थिए । प्रतिवेदनका अनुसार ९७ प्रतिशत उद्योग व्यक्तिगत तथा अन्य
सहकारी र साझेदारीमा सञ्चालन भइरहेका छन् भने ३३ प्रतिशत उद्योगले तलबी
कामदार राखेका छैनन् ।

तथ्यांक सार्वजनिक गर्दै विभाग निर्देशक गंगादेवी भण्डारीले हालसम्म
सञ्चालमा रहेका उद्योगमध्ये ६२ प्रतिशत ग्रामीण तथा ३८ प्रतिशत
सहरकेन्द्रित भएको जानकारी दिइन् ।

राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. जगदीशचन्द्र पोखरेलले नेपालको
अर्थतन्त्रमा साना उद्योगको क्षमता अपेक्षा गरेभन्दा कम रहेको बताए ।
उद्यमीलाई प्रेरित गर्न नयाँ नीति आवश्यक रहेको भन्दै उनले द्वन्द्वका
बेलामा पनि चल्न सक्ने उद्योग स्थापित गर्नुपर्नेमा जोड दिए ।

तथ्यांकमा ग्रामीण तथा सहरी क्षेत्रबीच फरक देखिएको तथा महिला–पुरुषको
तलबमा आधाको अन्तर रहेको भन्दै उनले आयोगले बनाउन लागेको तीन वर्षे नीतिमा
साना उद्योगमा देखिएका समस्यालाई समावेश गरिने जानकारी दिए । “उत्पादनशील
उद्योगको संख्या पनि निकै कम देखिएको छ,” उनले भने ।

नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष प्रदीपजंग पाण्डेले सार्वजनिक
तथ्यांकले साना उद्योगको समस्या बुझ्न सहज भएको भन्दै पहल गर्दागर्दै पनि
राजनीतिक पहुँचभन्दा बाहिरका उपलब्धि हुन नसकेको उल्लेख गरे । राष्ट्रलाई
आर्थिक रूपबाट बलियो बनाउने सवालमा निजी क्षेत्रले पहल गरेको भन्दै उनले
नयाँ नीति कार्यान्वयनपश्चात् साना उद्योगका अधिकांश समस्याको छिनोफानो
हुने दाबी पनि गरे ।

नेपालमा हालसम्म ३० अर्ब ३ करोडको रुपैयाँ लगानी गरेर साना उद्योगले ४१
अर्ब ४९ करोड मूल्य बराबरको वस्तु उत्पादन तथा सेवा प्रवाह गरिसकेका छन् ।
तथ्यांक विभागका अनुसार कुल उद्योगमध्ये ८ प्रतिशत उद्योगले मात्र आफ्नो
क्षमताको ८० प्रतिशतभन्दा बढी उपयोग गरेका छन् । अघिल्लो तथ्यांकको तुलनामा
उत्पादनशील उद्योग ओरालो लागेको तथा सेवामूलक उद्योग बढेको विभागले जनाएको
छ ।

विभागले जिल्लास्तरीय कार्यालयको सहयोगमा अनुगमन गरी प्रत्येक १० वर्षमा
यस्तो तथ्यांक सार्वजनिक गर्दै आएको छ । यो विभागको दोस्रो सर्वेक्षण हो ।
विभागले आगामी दिनमा कृषि तथा जनगणनाको समेत सर्वेक्षण गर्ने जानकारी दिएको
छ ।
http://www.karobardaily.com/news/3418


No comments:

Post a Comment

सम्भावनाको संघारमा

दश वर्षपछिको नेपाली अर्थतन्त्र कुनै पनि मुलुकको आर्थिक अवस्था कस्तो छ भनेर बुझ्न र हेर्न त्यो देशको कुल गार्हस्थ्य उत्पादन (जिपिडी) कति...