नेपाली उद्योगमा ५८ अर्बको विदेशी लगानी


विदेशी लगानीका १८९८ उद्योग दर्ता
*   १ लाख ४४ हजार ५ सय १३ लाई रोजगारी
*    भारतपछि लगानी गर्नेमा चीन र अमेरिका
 काठमाडौं, २८ मंसिर
नेपालमा प्रत्यक्ष विदेशी लगानीको अवस्था खस्कँदै गइरहेको बताइए पनि लगानीको प्रतिबद्धता भने घटेको छैन । सरकारी निकायहरूका अनुसार पछिल्ला दिनमा राजनीतिक अस्थिरता बढे पनि विदेशी लगानीका उद्योग दर्ता हुने क्रम घटेको छैन ।
चालू आर्थिक वर्षको पहिलो चौमासिकको अन्त्यसम्म नेपालमा ५७ अर्ब ९५ करोड ७६ लाख लाख रुपैयाँ बराबरको विदेशी लगानी प्रतिबद्धता प्राप्त भएको छ । नेपालमा विदेशी लगानीका १ हजार ८ सय ९८ उद्योग दर्ता भएका छन् । ती उद्योगमा नेपाली साझेदारसहित कुल लगानी १ खर्ब १९ अर्ब ७३ करोड ३९ लाख रुपैयाँ रहेको विभागको तथ्यांक छ ।
नेपालमा लगानी गर्ने मुलुकमध्ये छिमेकी देश भारत पहिलो स्थानमा रहेको उद्योग विभागले जनाएको छ । विभागका अनुसार भारतले नेपालमा सञ्चालित र हुन लागेका ४ सय ६२ वटा उद्योगमा करिब साढे २५ अर्ब रुपैयाँ लगानी गर्ने प्रतिबद्धता जनाएको छ ।
विभागमा लगानी प्रतिबद्धता जनाइएका सबै उद्योगहरू सञ्चालन भएका छन्÷छैनन् भनेर हेर्ने कुनै सरकारी संयन्त्र भने छैन । विभागमा उद्योग सञ्चालनपूर्व स्वीकृति लिन आउँदा गरिएको प्रतिबद्धताअनुसार भारतीय लगानी सबैभन्दा अगाडि देखिएको हो । भारतीय उद्योगीहरूले नेपाली व्यवसायीसँगको साझेदारीमा हालसम्म २५ अर्ब ५० करोड रुपैयाँ लगानीको प्रतिबद्धता जनाएका हुन् । नेपालमा भारतीय लगानीमा कृषि, ऊर्जा, खनिज, ग्यास, सिमेन्ट, सूचना–प्रविधि, बैंक तथा वित्तीय संस्था, स्वास्थ्य प्रयोगशालाजस्ता उद्योग सञ्चालित छन्् ।
विभागमा दर्ता भएका उद्योगमध्ये दोस्रो बाह्य लगानीकर्ता मुलुकको रूपमा चीन छ । विभागका अनुसार चिनियाँ उद्योगीसँगको साझेदारीमा यहाँ ३ सय ३२ वटा उद्योग सञ्चालनमा छन् । ती उद्योगमा करिब ६ अर्ब रुपैया चिनियाँ लगानी छ । चीनले नेपालको शिक्षा, स्वास्थ्य, सडक निर्माणलगायतका क्षेत्रमा लगानी गरेको छ ।
नेपालमा लगानी गर्ने बाह्य मुलुकमा अमेरिका तेस्रो छ । विभागका अनुसार १ सय ६६ वटा उद्योगमा ५० करोड रुपैयाँ अमेरिकी लगानी छ । अमेरिकी लगानीमा सूचना–प्रविधि, गार्मेन्ट, वायुऊर्जालगायतका उद्योगहरू चालू हालतमा छन् ।
विभागका अनुसार नेपालमा यी तीनसहित ६८ मुलुकको लगानी भित्रिएको छ । नेपाली व्यवसायीसँगको साझेदारीमा जापान, बेलायत, दक्षिण कोरिया, जर्मनी, फ्रान्स, नेदरल्यान्ड, स्विट्जरल्यान्ड, थाइल्यान्ड, अस्ट्रेलिया, डेनमार्कलगायतका मुलुकले मुख्यतया मदिरा, चाउचाउ, पेन्ट, निर्माण, होटललगायतका उद्योग÷व्यवसायमा लगानी गरेका छन् ।
तथ्यांकअनुसार कृषि क्षेत्रमा ३७, निर्माणमा ४१, ऊर्जामा ४१ उत्पादनमूलक क्षेत्रमा ६ सय ७३, खनिज क्षेत्रमा ३१, सेवाप्रदायकमा ५ सय ६१ र पर्यटनमा ५ सय १४ उद्योग सञ्चालनमा छन् । यी उद्योगमा १ लाख ४४ हजार ५ सय १३ जनाले रोजगारी पाएको विभागले जनाएको छ । भारतीय लगानीमा सञ्चालित उद्योगमा मात्रै करिब ५४ हजारले रोजगारी पाएका छन् । तर, भारतीय लगानीका उद्योगमा प्राविधिक तथा उच्च तहमा भने भारतीय नागरिकलाई नै प्राथमिकता दिइन्छ ।
चिनियाँ लगानीमा सञ्चालित उद्योगमा २० हजारभन्दा धेरै र अमेरिकीमा १२ हजारभन्दा धेरैले रोजगार पाएको विभागको तथ्यांक छ ।
http://www.karobardaily.com/news/3283

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन