रोजगार र सम्बन्ध विस्तारमा ब्युटिपार्लर




काठमाडौं
नेपाली समाज रूपान्तरणसँगै घरभित्रको बुहार्तनलाई चिर्दै सम्पन्न परिवारका महिला पनि व्यवसाय सञ्चालनमा सक्रिय हुने गरेका छन् । सम्पन्न परिवारमा जन्मे हुर्केका छोरीचेलीले कुनै न कुनै व्यवसायलाई रोज्नै पर्ने भएपछि पछिल्लो समयमा ब्युटिपार्लर व्यवसाय उनीहरूको प्रमुख रोजाइमा परेको छ ।
आत्मनिर्भरता र परिचयका लागि व्यवसाय अपनाउने क्रममा छोरीचेलीले राजधानीलगायतका सहरमा कस्मेटिक सामग्रीसहितका ब्युटिपार्लर सञ्चालन गर्दै आएका छन् । कम लगानीबाट सञ्चालन गर्न सकिने र सीपमा निख्खारतासँगै सम्बन्ध विस्तार हुने भएकाले ब्युटिपार्लर व्यवसाय उनीहरूको रोजाइमा परेको हो ।
मध्यमवर्गीय सम्पन्न परिवारकी इरा अधिकारीले विवाह पश्चात्को गृहणी जीवनलाई रूपान्तरण गर्दै ब्युटिपार्लरको तालिमपश्चात् व्यवसायमा हात हालेकी छन् । हाडीगाउँस्थित नारायणथान टोलमा साई ब्युटिपार्लर सञ्चालन गरेकी अधिकारीले आम्दानीको स्रोतसँगै समयको सदुपयोग हुने भएकाले पार्लर सञ्चालन गरेको बताइन् । जागिरे श्रीमान्को कार्यक्षेत्रमा आश्रित भएर जानुभन्दा आफै केही गर्नुपर्छ भन्ने सोचले करिब १ लाख रुपैयाँको लगानीमा पार्लर सुरु गरेकी हुन् ।
 माइती र घरतर्फ कसैको पनि व्यावसायिक अनुभव नभएको बताउने अधिकारीले सामाजिक चुनौतीलाई सामना गर्दै व्यवसायमा जोखिम मोलेको बताइन् । उनले भनिन्, “दिदीबहिनीसँगको सम्बन्ध विस्तारसँगै आत्मनिर्भर हुने भएकाले एक्लो निणर्यमा पार्लर सञ्चालन गरेकी हुँ ।” अफिसर स्तरका श्रीमान् भए पनि व्यवसायमा हात हालेर कुनै पछुतो नभएको उनको तर्क छ । अधिकारीले जस्तै आत्मनिर्भर बन्ने दृढविश्वास राख्दै सिन्धुपाल्चोककी उमा श्रेष्ठले १० हजार रुपैयाँ खर्च गरेर ५ वर्षअघि ब्युटिसियन तालिम लिएको बताइन् ।
 मीनभवनस्थित आलोकनगरमा पार्लर सञ्चालन गर्दे आएकी श्रेष्ठ घरधन्दाबाट बचेको समय सदुपयोग गर्दै चलाएको पार्लरबाट मासिक ३० हजार रुपैयाँसम्म आम्दानी गर्न सफल छिन् । सामान्य अध्ययन र प्रयोगात्मक सीपको प्रयोगबाट आत्मनिर्भर हुन सकिने भएकाले  यो पेसामा आकर्षित भएको उनको ठम्याइ छ । उनले भनिन्, “अरूको निर्देशन मानेर जागिर खानुभन्दा आफ्नै सीपको पौरखमा आत्मनिर्भर हुनु वेश ।” जागिरका अवसरलाई तिलाञ्जली दिँदै आफ्नो पौरखमा विश्वास गरेर ५ वर्षदेखि श्रेष्ठले पार्लर चलाएकी हुन् ।
अर्थशास्तत्रबाट स्नातकोत्तर उत्तीर्ण सन्ध्या केसीले नेपाली समाजमा महिलालेले पनि केही गर्नुपर्छ भन्ने मान्यता स्थापित भएको बताइन् । सानो लगानीबाट उल्लेख्य आम्दानी गर्न सकिने बताउने केसीले नयाँ बानेश्वरमा ब्युटिसियन तालिम तथा प्रशिक्षण केन्द्र सञ्चालन गरेर दिदीबहिनीलाई आत्मनिर्भर हुन सघाउँदै आएकी छन् । कम खर्च गरेर तालिम लिन सकिने भएकाले पनि महिलाको आकर्षण यो व्यवसायमा बढेको हो । तालिमपश्चात् रोजगारीको अवसर जुट्ने भएकाले पार्लर पेसाप्रति महिलाको आकर्षण उत्साहजनक रूपमा वृद्धि भएको केसीको बुझाइ छ । सानो लगानी र समयको पारबन्दीलाई सदुपयोग गरेर आम्दानी स्रोत बनाउन सकिने भएकाले छोरीचेलीको यो पेसा तथा व्यवसायप्रति आकर्षण बढेको उनले बताइन् ।
 राजधानीका घर–घरमा च्याउ उम्रेजस्तै उम्रिएको व्यवसायको आरोप खेप्दै आएका यो व्यवसाय समयको सदुपयोग गर्दै समाजको पुरातन मूल्य मान्यतालाई चुनौती दिन आफैंमा सक्षम छ । सीतापाइलाकी ममता प्रधान व्यवसायको सफलतासँगै चुनौती पनि रहेको बताउँछिन् । प्रधानका अनुसार श्रृंगारले महिलाको व्यक्तित्वलाई झल्काउने भएकाले उनीहरूको समय र अवस्थालाई ध्यान दिनुपर्ने हुन्छ । उनले भनिन्, “मानिसलाई गास, बास, कपासको जत्ति आवश्यकता पर्छ, त्यत्तिकै मात्रामा सुन्दरताको आवश्यकता पर्छ ।” उनले मिडियाको बढ्दो प्रभावसँगै नेपाली दिदीबहिनीले सुन्दरतामा ध्यान दिन लागेको बताइन् । उनले भनिन्, “टिभी र चलचित्रको प्रभावले पनि यो व्यवसायमा महिला सहभागिता बढेको हो ।” देशको कुल जनसंख्याको आधाभन्दा धेरै जनसंख्या महिलाको छ । त्यसमध्ये सहरिया जनजीवन व्यतित गरिरहेको दिदीबहिनी प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा यो व्यवसायसँग आबद्ध छन् । तालिम लिएर यो पेसामा आबद्ध हुने महिलाको संख्या दिनानु दिन बढिरहेको न्यूएन्जेल ब्युटिपार्लर बागबजारकी  सञ्चालक कल्पना क्षेत्री बताउँछिन् । ब्युटिपार्लर तालिम लिएका ८० प्रतिशत महिलाहरूले व्यवासाय सञ्चालन गर्दै आएको क्षेत्री बताउँछिन् । वार्षिक १ सयभन्दा बढी महिलालाई तालिम दिँदै आएको बताउने खत्रीले पढाइ कम र निम्नमध्यम वर्गका महिलाहरूको ब्युटिपार्लर व्यवसाय प्रमुख आर्कषण बन्ने गरेको अनुभव सुनाइन् । विदेश पुगेर पेसा वा व्यवसायको महत्व बुझेर आउनेहरूले यो पेसालाई सम्मान गर्ने गरेको उनले बताइन् ।
महिलालाई आत्मनिर्भर बनाउन सरकारले सिपमूलक तालिम निःशुल्क दिने दिने गरेको छ । त्यसमध्ये महिलाको रोजाइमा ब्युटिपार्लरको तालिम लिने महिलाको संख्या उल्लेख्य हुने गरेको छ । घरेलु तथा साना उद्योग प्रशिक्षण केन्द्र त्रिपुरेश्वरका अनुसार केन्द्रबाट ५ सयभन्दा बढी महिलाले निःशुल्क ब्युटिसियन तालिम लिइसकेका छन् । तालिम लिएपश्चात् रोजगारीको अवसरसँगै विदेशको अवसर आउने भएकाले पनि यो पेसाप्रति महिलाहरू आकर्षित हुने गरेको इनोभेटिभ तालिम केन्द्र बाँनेश्वरकी सञ्चालक केसी बताउँछिन् । http://www.karobardaily.com/news/3003

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन