पस्मिनाको गुणस्तर कायम गर्न संघ र विभागबीच सम्झौता

काठमाडौं, २९ जेठ
नेपाल पस्मिना उद्योग संघले हालै सार्वजनिक गरेको च्याङ्ग्रा पस्मिनाको गुणस्तर कायम गर्ने विषयमा संघ र नेपाल गुणस्तर तथा नापतौल विभागबीच सम्झौता भएको छ । नेपालमा उत्पादन हुने च्याङ्ग्रा पस्मिनाको अन्तर्राष्ट्रियस्तरमा प्रचारप्रसार गर्ने तथा दुबै निकायबीचको सम्बन्धलाई सुमधुर गराउने विषयमा सम्झौता भएको संघले जनाएको छ ।
सम्झौतापत्रमा संघको तर्फबाट अध्यक्ष पुष्पमान श्रेष्ठ र विभागका तर्फबाट महानिर्देशक डा. सीताराम जोशीले हस्ताक्षर गरेका छन् । सम्झौतापत्रमा पस्मिनाको सामूहिक व्यापार चिह्न प्रभावकारी ढंगबाट व्यवस्थापन गर्न संघले व्यापार चिह्नको लेबल वितरण गर्नुअघि सम्बन्धित वस्तुको नमुना फाइबर र सुटेजको गुणस्तर परीक्षण विभागबाट गरिने जनाइएको छ ।
सम्झौताअनुसार संघबाट उपलब्ध गराइएको नमुना वस्तुको गुणस्तर परीक्षणको नतिजा प्राप्त भएको दिनसहित पाँच दिनभित्र विभागले संघलाई उपलब्ध गराउनुपर्ने छ  । यस्तै संघले च्याङ्ग्रा पस्मिनाको सामूहिक व्यापार चिह्न प्रयोग गर्ने सन्दर्भमा फाइबर डाइमेटर मापन गर्ने, पस्मिनाको शुद्धता परीक्षण गर्ने, कम्पोसिजन हेर्ने र त्यसको मिश्रित फाइवर पहिचान गरी मात्रा छुट्ट्याउने फाइवरको लम्बाइ तथा बलियोपन मापन गर्ने र रंगको गुणस्तर परीक्षण गर्नेलगायतका काम विभागलाई सुम्पिएको छ ।
यसमध्ये फाइबरको लम्बाइ, परिपक्वता अर्थात् बलियोपन र रंगको विषयमा भने दुबै निकायले आपसी सहमतिमा निर्णय गर्ने भएका छन् । सहमतिमा भएका निर्णयलाई गुणस्तर विभागले अन्तर्राष्ट्रिय मान्यताका लागि पहल गर्नेसमेत सम्झौता भएको छ ।
सम्झौतापत्रमा उठाइएका सेवा प्रदान गर्दा विभागले पस्मिनाको फाइवर डायमिटर परीक्षणका लागि संयुक्त राष्ट्रसंघीय औद्योगिक विकास संघद्वारा व्यवस्था गरिएको अप्टिकल फाइबर डायमिटर एनालाइजर (ओएफडीए) प्रयोगमा ल्याउनेछ । आवश्यकताअनुसार माइक्रोस्कोपलगायत अन्य आधुनिक उपकरणद्वारा पनि गुणस्तर परीक्षण गर्ने व्यवस्था विभागबाट हुने पनि सम्झौतामा उल्लेख छ ।
विभागका महानिर्देशक डा. जोशीले यो सम्झौतालाई यथाशीघ्र कार्यान्वयनमा ल्याइने जानकारी दिए । सार्वजनिक–निजी साझेदारीको आवधारणालाई अघि बढाइएको भन्दै उनले असार मसान्तभित्र सम्झौता कार्यान्वयनमा आउने दाबी गरे ।
संघका अध्यक्ष पुष्पमान श्रेष्ठले गुणस्तरबिना च्याङ्ग्रा पस्मिनाको बजारीकरणमा समेत अप्ठयारो हुने भन्दै सम्झौताले च्याङ्ग्रा पस्मिनाको विकासमा थप टेवा पुग्ने बताए । सम्झौताले दुबै संस्थाबीचको आपसीसम्बन्ध र सहकार्यमा थप बल पुग्ने उनको भनाइ छ ।

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन