रेशम खेतीले उत्साहित बनायो


रामनाथ अधिकारी
सञ्चालक
रेशम प्रशोधन तथा स्रोतकेन्द्र, धादिङ
पञ्चायतकालमा म किमुको खेती गर्थें । बाबु–बाजेले किमुखेती गर्ने हुँदा म पनि त्यसैमा रमाउँथें । अहिले पेसा फेरिएको छ । हिजो–आज म रेशम धागो उत्पादन गर्न रमाउन थालेको छु ।
मेरो जग्गामा भएको किमुको घाँस रेशम कीरा पाल्ने व्यवसायीले किन्थे । पछि अरुलाई बेच्नुभन्दा आफै यसमा किन नलाग्ने भन्ने भयो । घाँस भएपछि कीरा पाल्न तथा रेशम धागो उत्पादन गर्न सहज हुने भएकाले म यो पेसातिर तानिएँ ।
सुरुमा काभ्रको खोपासी भन्ने ठाउँबाट १ हजार रुपैयाँमा ५ हजार कीरा किनेर ल्याएको थिएँ । त्यो सानो परिमाणको व्यवसाय अहिले झन्डै ८ लाख रुपैयाँमा पुगेको छ । काम गर्दै जाँदा धेरै अनुभव सँगाल्न पाएकोले अन्य पेसातिर ध्यानै गएन । रेशमखेती आयआर्जनका लागि निकै सजिलो पेसा भएकाले पनि मन अरुतिर गएन । यसबाट आयआर्जन गर्न सकिएपछि परिवार पनि निकै उत्साहित भएका छन् । २५ वर्ष भयो– अहिलेसम्म यो कामबाट घाटा बेहोरेको छैन ।
काम गर्न जानियो र इमान्दार भइयो भने जस्तो कामबाट पनि सफल हुन सकिन्छ । यही खेती गरेर मैले उद्योगलाई आवश्यक पर्ने चर्खा, सोलारलगायत अधिकांश मेसिन जोडेको छु । जापानको अन्तर्राष्ट्रिय सहयोगी संस्था (जाइका) ले समेत रेशम धागो उत्पादन गर्ने १० वटा मसिन जोडिदिएको छ । यहीँबाट परिवारका सदस्यसहित १५ जनाले रोजगारी पाएका छन् । मेरो लागि योभन्दा ठूलो अरु के हुन सक्छ ?
यहाँ उत्पादन हुने रेशम धागो अन्तर्राष्ट्रिय स्तरमा समेत औधि रुचाइएको छ । तर, मागअनुसारको उत्पादन भने हुन सकको छैन । मेरै पहलमा धादिङमा १४ वटा समूह गठन भएका छन् ।
स्याङ्जा, पोखरा, पाल्पा, तनहुँ, चितवत, इटहरी, इलामलगायतका जिल्लामा रेशम खेती हुन्छ । सरकारले रेशम खेतीलाई प्राथमिकताभित्र नपारे पनि यसको माग दिनप्रतिदिन बढ्दो छ । यसैलाई मध्यनजर गरेर मैले स्थानीय स्तरमा यो व्यवसायलाई प्रवद्र्धन गर्ने काम गरिरेहको छु ।
हाम्रोजस्तो गरिब मुलुकमा रेशम उत्पादनलाई सरकारी स्तरबाट केही सहयोग हुने हो भने यसको भविष्य सुनिश्चित छ । यसैलाई आत्मसात गर्दै म पनि यो पेसामा तन, मन दिएर लागिपरेको छु ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक