३६ अर्बको स्टिलजन्य वस्तु आयात

 काठमाडौं, १५ असार
चालू आर्थिक वर्षको पछिल्लो १० महिनासम्ममा ३६ अर्ब २ करोड रुपैयाँबराबरको फलाम तथा स्टिलजन्य वस्तु आयात भएको छ । व्यापार तथा निकासी केन्द्रको तथ्यांकअनुसार यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६.८ प्रतिशतले बढी हो ।
केन्द्रका अनुसार चालू आवको १० महिनामा सबैभन्दा धेरै आयात हुने वस्तुमध्ये फलाम तथा स्टिलजन्य वस्तु दोस्रो स्थानमा परेको छ । यो अवधिमा सबैभन्दा धेरै ५७ अर्ब ९ करोड रुपैयाँबराबरको पेट्रोलियम पदार्थ आयात भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चालू आवको पछिल्लो १० महिनामा आयातित वस्तुमा मात्रै १०.९ प्रतिशतले वृद्धि भएको छ ।
नेपालमा पेट्रोलियम पदार्थ, औषधिजन्य वस्तु, पामवेल, फलामजन्य वस्तु, सवारीसाधनका पार्टपुर्जा, विद्युतीय सामग्री, पोलिथिनका लागि आवश्यक पर्ने कच्चा पदार्थ, सुनलगायतका वस्तु अत्यधिक आयात हुने गरेका छन् ।
तथ्यांकअनुसार यो अवधिमा २० अर्ब रुपैयाँबराबरका सवारीजन्य सामान र १५ अर्ब ३२ करोड रुपैयाँबराबरको विद्युतीय सामान आयात भएकोे छ । यसैगरी यो अवधिमा ९ अर्ब ३४ करोडबराबरको औषधिजन्य वस्तु, २० अर्ब ४९ करोडबराबरको पोलिथिनजन्य कच्चा पदार्थ र ६ अर्ब ७२ करोडबराबरको सुन आयात भएको केन्द्रले जनाएको छ । यस्तै यो अवधिमा १ अर्ब ७२ करोडको हवाईजहाज इन्धन र ६ अर्ब ५६ करोडको सिमेन्ट क्लिंकरसमेत आयात भएको तथ्यांकमा उल्लेख छ ।
नेपालमा विशेषगरी भारत, चीन, अर्जेन्टिना, इन्डोनोसिया, थाइल्यान्ड, कोरिया, मलेसिया, जापान, संयुक्त राज्य अमेरिका, सिंगापुर, साउदी अरबलगायतका मुलुकबाट सामान आयात गर्ने गरिएको छ ।
निर्यातित वस्तुमा सामान्य सुधार देखिए पनि आयातित वस्तुमा भारी वृद्धि भएको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार चालू आवको पछिल्लो १० महिनासम्ममा  मात्रै नेपालको व्यापारघाटा २ सय ६१ अर्ब ७७ करोड रुपैयाँ पुगेको छ । 

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन