नेपाल साबुनमा आत्मनिर्भर बन्न सकेन

निरु अर्याल
काठमाडौं, २९ कात्तिक
व्यवसायीहरूले सरकारको असहयोगका कारण साबुन उत्पादनमा मुलुक आत्मनिर्भर बन्न नसकेको आरोप लगाएका छन् । साबुन उत्पादनमा नेपाल आत्मनिर्भरताको नजिक पुगे पनि सरकारी उदासीनताले यसको सम्भावना न्यून देखिएको उनीहरूको गुनासो छ ।
व्यवसायीका अनुसार विगत केही वर्षदेखि सरकारले साबुन निर्यातमा चर्को मूल्य अभिवृद्धि कर (भ्याट) लागू गरेपछि यसको सम्भावना कम हुँदै गएको हो । विद्यमान कानुनअनुसार साबुन निर्यातका लागि १३ प्रतिशत भ्याट बुझाउनुपर्छ । “सरकारलाई राजस्व बुझाउनमै उत्पादनको अधिकांश आम्दानी प्रयोग हुन्छ,” स्वदेशी साबुन उद्योगका प्रबन्धक विष्णु श्रेष्ठले भने ।
साबुन उत्पादनका लागि आवश्यक क्लास्टिक सोडा, तेलो फ्याट, पाम एसिडलगायतका वस्तुहरू तेस्रो मुलुकबाट आयात हुँदै आएका छन् । व्यवसायीका अनुसार उत्पादित ४० प्रतिशत साबुन तेस्रो मुलुकमै निर्यात हुन्छ । यद्यपि लुगाधुने साबुनको तुलनामा नुहाउने साबुन भने बाहिरबाटै आयात हुन्छ ।
साबुन उत्पादनका लागि अधिकांश कच्चा पदार्थ वनस्पती घिउ उद्योगले उपलब्ध गराउँदै आएका छन् । केही वर्षयता भारत सरकारले वनस्पती घिउ आयातमा कडाइ गरेपछि अधिकांश उद्योगहरू बन्द छन् । नेपालमै रहेका वनस्पती घिउ उत्पादक प्लान्टसमेत बन्द भइसकेका छन् । यसले साबुन उद्योगमा थप समस्या उब्जिएको श्रेष्ठ बताउँछन् । “सरकारी नीतिका कारण नेपालका वनस्पती घिउ उद्योग बन्द भएका छन्, त्यसको प्रत्यक्ष असर हामीलाई परेको छ,” उनी भन्छन् । चर्को भ्याट तथा न्यून उत्पादनका कारण व्यवसायीले कर बुझाउन सक्ने अवस्था नरहेको श्रेष्ठको भनाइ छ ।
हिमालय सोप, अन्नपूर्ण सोप, क्वालिटी सोप, जगदम्बा सोप एन्ड इन्डस्ट्रिजजस्ता साबुन उद्योगहरू बन्द भइसकेका छन् । हालसम्म नेपालमा उत्पादन भइरहका साबुनहरू उत्पादनका आधारमा ६० प्रतिशत स्वदेशमै खपत हुने गरेका छन् । नेपालबाट पूजा, ओके, अशोका, आहा, जुनेली, लायनजस्ता साबुनहरू उत्पादन हुँदै आएका छन् । यी साबुन नेपालमा मात्रै नभई चीन, भारत, भुटानलगायतका मुलुकमा समेत निर्यात हुने गरेको जानकारी श्रेष्ठले दिए ।
नेपाल साबुन उत्पादक संघसँग अहिले जम्मा पाँच उद्योगको मात्र सूची छ, जबकि सरकारी तथ्यांकअनुसार हालसम्म २ सय ४१ साबुन उद्योग दर्ता छन् । त्यसो त साना उद्योग दर्ता हुने क्रम पनि उत्तिकै छ ।
घरेलु तथा साना उद्योग महासंघमा करिब डेढ सयको हाराहारीमा उद्योग आबद्ध छन् । स्वदेशी साबुन उद्योग तथा संघका अध्यक्ष शिवरतन शारदा भन्छन् “साबुन व्यवसायीहरू छरिएर रहेका कारण हामीसँग व्यवसायीको एकिन विवरण छैन ।” उनले आगामी दिनमा ठूला–साना सबै उद्योगी÷व्यवसायीलाई संघमा आबद्ध गराइने बताए । “देशमा उत्पादनको सम्भावना हुँदाहुँदै पनि सरकारी उदासीनताले साबुन उद्योग संकटमा छन्,” उनी भन्छन् ।
महाशक्ति सोप एन्ड केमिकल इन्डस्स्ट्रिजका सञ्चालक अशोककुमार लोहियाका अनुसार साबुन उत्पादन कम्पनी यस्तो अवस्थामा आइपुग्नुमा वनस्पती घिउ उद्योग बन्द हुनु प्रमुख कारक हो । “वनस्पती घिउ उत्पादन गर्ने सबै प्लान्ट सुचारु भए साबुन उद्योगले राहत पाउने थिए,” उनको भनाइ छ, “नेपालका उद्योग गुणस्तरीय उत्पादन गर्न सफल छन् र लुगा धुने साबुनमा हामी आत्मनिर्भर भइसकेका छौं ।”
नेपालीहरूले नुहाउन प्रयोग गर्ने अधिकांश साबुन बाहिरबाट आयात हुने गरेकोले स्वदेशी उद्योग फष्टाउन नसकेको उनको गुनासो छ । “सरकारले अब साबुन उद्योगका बारेमा गम्भीर भएर सोच्ने बेला आइसकेको छ,” उनी भन्छन्, “स्थानीयस्तरमै आवश्यक कच्चा पदार्थको जोहो गरिदिएमा नेपाल साबुनमा पूर्ण आत्मनिर्भर हुन्छ ।”
http://www.karobardaily.com/news/2387

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक