२० वर्षमा १ लाख उद्योग खारेज



काठमाडौं, १२ असार
बन्द, हड्ताल, औद्योगिक असुरक्षा एवं लगानीमैत्री वातावरणको अभावमा ०४७ सालयता दर्ता भएका घरेलु तथा साना उद्योगमध्ये १ लाख १८ हजार उद्योग खारेज भएका छन् । घरेलु तथा साना उद्योग विभागले हालै सार्वजनिक गरेको औद्योगिक प्रवद्र्धन तथ्यांक ०६७ अनुसार चालू आवको चैत मसान्तसम्म विभागमा दर्ता भएका करिब २ लाख ३० हजारमध्ये करिब ५० प्रतिशत उद्योग खारेज भएको देखिएको हो ।
ऊर्जा संकट, कच्चा पदार्थको अभाव, राजनीतिक अस्थिरता, बैंकको चर्को ब्याज, पूर्वाधार अभावजस्ता समस्याले उद्योग खारेज भएको विभागले जनाएको छ । तथ्यांक अनुसार यो अवधिमा ५३ अर्ब ५१ करोड ४९ लाख रुपैयाँबराबरको लगानी खेर गएको छ ।
उद्योगको अवस्थाबारे कुनै विवरण नभए पनि यो अवधिमा करिब १० लाखको रोजगारी गुमेको तथ्यांकले देखाएको छ । यो संख्या मुलकभरबाट विभागमा दर्ता हुन आएका घरेलु तथा साना उद्योगको मात्रै हो । सो अवधिमा ९ लाख ९८ हजार ९ सय ३० जनाको रोजगारी गुमेको घरेलु तथा साना उद्योग महासंघको औद्योगिक प्रवद्र्धन तथ्यांकले देखाएको छ ।
राजनीतिक अस्थिरताका कारण लगानीमैत्री वातावरण नभएकाले उद्योगहरू धमाधम खारेजीमा पर्न थालेको विभागले जनाएको छ ।
घरेलु तथा साना उद्योग विभागका प्रवक्ता हरिराम नागिलाले मुलुकको औद्योगिक वातावरण दैनिकजसो खस्किँदै गएको र त्यसबाट साना तथा घरेलुजन्य उद्योग प्रत्यक्ष मारमा परेको बताए । “राजनीतिक अस्थिरता छ, लगानीको वातावरण छैन सुरक्षा छैन, ऐन पनि आउन सकेको छैन,” उनले भने ।
उद्योग दर्ता र खारेजीजस्तै उद्योग सञ्चालन गर्ने नीतिहरू परिपक्व नभएको धारणा राख्दै नागिलाले औद्योगिक नीतिमा जायज कुरा समावेश गरिएको भए पनि ऐन आउन नसक्दा उद्योग सञ्चालनमा कठिनाइ भएको जिकिर गरे । उनका अनुसार केही वर्षयता वार्षिक करिब ४ हजारका दरले उद्योग खारेज हुने गरेका छन् ।
त्यस्तै, घरेलु तथा साना उद्योग महासंघका महासचिव श्यामप्रसाद गिरीले असुरक्षा र लगानीमैत्री वातावरणको अभावमा उद्योग खारेजी हुने क्रम बढ्दै गएको बताए । “सरकारले साना र ठूला उद्योगमा विभेदकारी नीति अवलम्बन गरेको छ,” उनले भने, “ठूला उद्योग आफैंमा सक्षम छन् र पनि उनीहरूलाई सरकारले सेवा र सहुलियत दिएको छ तर साना उद्योग आफैंमा समस्याग्रस्त छन् र पनि प्रोत्साहन दिने नीति ल्याउन सकिएको छैन ।”
तथ्यांकअनुसार हालसम्म मुलुकभर सञ्चालनमा रहेका घरेलु तथा साना उद्योगमा मात्रै १ खर्ब ७ अर्ब ५ करोड लगानी छ । यसबाट १ लाख १० हजार ७ सय ६१ उद्योग सञ्चालनमा रही ९ लाख १५ हजार ५ सय ३९ जनाले रोजगारी पाएका छन् ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक