‘हलो ब्रिक’ प्रवद्र्धन गर्न कार्यशाला


काठमाडौं, ६ असार
उद्योग मन्त्रालयअन्तर्गतको औद्योगिक ऊर्जा व्यवस्था आयोजनाले अन्तर्राष्ट्रियस्तरमा प्रयोग भइरहेकोे ‘हलो ब्रिक’ नामक इँटा नेपालमा ल्याउने तयारी गरेको छ । गह्रुँगो इँटाले नेपालमा भूकम्पीय खतरा बढ्न थालेको भन्दै आयोजनाले कम तौल भएको र बनाउँदा थोरै बिजुली खपत हुने इँटा ल्याउन लागेको हो ।
यो इँटाको प्रवद्र्धनका लागि राजधानीमा सोमबारदेखि हलो ब्रिकसम्बन्धी दुई दिने कार्याशाला सुरु भएको छ । नेपालमा दिनप्रतिदन घर निर्माण हुने क्रम बढ्दै गएको र नयाँ–नयाँ प्रविधिबारे व्यवसायीलाई जानकारी गराउन कार्यशालाको आयोजना गरिएको हो । कार्याशालामा अन्तर्राष्ट्रियस्तरमा समेत अत्यधिक रुचाइएको ‘हलो ब्रिक’ नामक इँटाबारे छलफल हुनेछ ।
उद्योग मन्त्रालयअन्तर्गतको औद्योगिक ऊर्जा व्यवस्थापन आयोजनाद्वारा आयोजित कार्यक्रममा करिब ५० इँटा व्यवसायी सहभागी छन् । कार्यक्रममा नेपालको प्रविधि विकासमा धेरै लामो समयदेखि काम गर्दै आएको जर्मन विकास सहयोग नियोग र नर्थ इस्ट इनर्जी इफिसिएन्सी पार्टनरसिप (एनईईपी) नामक दुई गैरसरकारी संस्थाले सहभागिता जनाएका छन् ।
कार्यक्रममा यो क्षेत्रमा उल्लेख्य योगदान दिएका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय व्यवसायी सहभागी रहेको आयोजकले जनाएको छ । कार्यक्रममा हलो ब्रिकबारे जानकारी दिँदै औद्योगिक ऊर्जा व्यवस्थापन आयोजनाका प्रमुख कमल मानन्धरले नेपालमा इँटा उद्योगहरु दिनप्रतिदिन थपिँदै गए पनि नयाँ प्रविधिको विकास हुन नसकेकाले व्यवसायीलाई प्रविधिको बारेमा जानकारी दिन कार्याशाला आयोजना गरिएको बताए ।
नेपालमा विद्युत् अभावका कारण सबैखाले उद्योग तहसनहस भइरहेको बताउँदै हलो ब्रिक उनले उत्पादन गर्दा करिब ४० प्रतिशतसम्म विद्युत बचत हुने जानकारी दिए । उनका अनुसार यो इँटामा अन्य इँटाको तुलनामा ३० प्रतिशत भार थोरै हुन्छ ।
यसैगरी यो इँटामा राखिएका साना–साना प्वालहरुले घरलाई गर्मी मौसममा चिसो र जाडोमा तापक्रम बढेर कोठालाई न्यानो बनाउने काम गर्छ । “बाहिरी र भित्रको तापक्रममा २–२ सेन्टिग्रेटका दरले फरक पार्छ,” मानन्धरले भने ।
इँटा पोल्न आवश्यक पर्ने बिजुलीमा समेत ४० प्रतिशतसम्म बचाउन सकिने जानकारी दिँदै  मानन्धरले भने, “अहिले इँटा उत्पादन भइरहेको मेसिनबाटै यो इँटा प्रयोग हुने हुँदा व्यवसायीलाई पनि थप आर्थिक भार पर्दैन ।”
बढ्दो सहरीकरण र लोडसेडिङका कारण नेपाल जस्तो मुलुकमा यो इँटा अत्यन्त उपयोगी हुने उनको विश्वास छ । “अन्तर्राष्ट्रियस्तरमा यो इँटा धेरैले रुचाउने गरेका छन् यसलाई प्रयोगमा ल्याउन सकियो भने यसले विद्युत, भूकम्पीय क्षति, वातावरण जस्ता क्षेत्रमा न्यूनीकरण गर्न सहज हुन्छ,” उनले भने ।
उद्योग विभागका महानिर्देशक ढुण्डीराज पोखरेलले विभिन्न कारणले उद्योग सञ्चालनमा कठिनाइ आएको बताउँदै आयोजनाले ल्याएको यो प्रविधि इँटा व्यवसायीका लागि वैकल्पिक उपाय हुन सक्ने बताए । कार्याशालामा सहभागी अधिकांश व्यवसायीले यो इँटा नेपाल जस्तो मुलुकमा अत्यन्त सान्दर्भिक भएको भन्दै यसलाई प्रयोगमा ल्याउन लागि आयोजकले उचित पहल गर्नुपर्ने बताएका थिए ।
आयोजकका अनुसार कार्यशालामा इँटाको प्रयोग गर्ने विधि, फाइदा–बेफाइदा र यसको उपयोगितासम्बन्धी सम्पूर्ण जानकारी दिइनेछ । कार्यशालामा इँटा व्यवसायी, सिभिल इन्जिनियर, आरर्किटेक्चर, निर्यात व्यापारीलगायत इँटासँग सम्बन्धित विदेशीहरुको समेत सहभागिता छ ।

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन