नीतिगत समस्याले साना उद्योग ओझेलमा



नीतिगत समस्याले अधिकांश घरेलु तथा साना उद्योग ओझेलमा परेको सरोकारवालाहरुले गुनासो गरेका छन् ।
उद्यमी व्यवसायीका समस्यालाई सम्बोधन गर्ने वातावरण गराउने उद्देश्यले घरेलु तथा साना उद्योग कार्यालयले आइतबार राजाधानीमा आयोजना गरेको अन्तत्र्रिmयामा सहभागी अधिकांश उद्यमीले उद्योगको सञ्चालनमा नीतिनियम पारदर्शी नभएको गुनासो गरे । अर्थतन्त्रको मेरुदण्डका रूपमा लिइएको घरेलु तथा साना उद्योग राजनीतिक कारणले ओझेलमा परेको भन्दै घरेलु तथा साना उद्योगका कार्यालय प्रमुख ताराप्रसाद भट्टराईले नीति बन्ने र ऐन कार्यान्वयनमा आउन नसक्दा उद्योग दर्तामा समेत ह्रास आएको बताए ।
नयाँ नीतिमा विद्युत, कृषिलगायतका क्षेत्रमा छुट्ट्याएको सेवा सुविधाबाट उद्यमीहरु वञ्चित हुनुपरेको धारणा राख्दै उनले भने, “सरकारको प्राथमिकतामा कर उठाउने विषय अगाडि छ तर उत्पादन क्षेत्रमा लगानी गर्ने र उद्यमीलाई प्रोत्साहन गर्ने विषय ओझेलमा छ ।”
नेपाल घरेलु तथा साना उद्योग महासंघ गुणस्तर तथा उत्पादकत्व अभिवृद्धि समितिका सभापति विष्णुबहादुर लुइँटेलले नीतिको अस्पष्टताले साना उद्योगमा समस्या थपिँदै गएको बताए । साना तथा घरेलु उद्योगले गरिबी न्यूनीकरण गर्न सहयोग मिलेको भन्दै नीति बनाउने र त्यसलाई कार्यान्वयन गर्न नसक्ने सरकारको अपरिपक्वताले साना उद्योग जटिल मोडमा पुगेको धारणा राखे । “पछिल्लो तथ्यांकअनुसार कुल गार्हस्थ्य उत्पादन १० बाट ७ मा झरेको छ । यस्तै हो भने नेपाल डम्पिङ साइड हुन सक्छ,” उनले भने ।
ग्रिल व्यवसायी महासंघका महासचिव लिलाबहादुर खड्काले नीति–नियमको अभावमा नेपालको औद्योगिक अवस्था आरालोतिर झरिरहेको बताए । घरेलु तथा साना उद्योगका निमित्त महानिर्देशक गोकुलप्रसाद धितालले पछिल्लो समयमा सार्वजनिक–निजी साझेदारीको माध्यमबाट उद्योगको विकास गर्न खोजिएको भन्दै सरकारको फेरबदलका कारण नीति–नियममा कठिनाइ भएको धारणा राखे ।
भारत, चीन, जापानजस्ता मुलुक औद्योगीकरणको माध्यमबाट विकसित राष्ट्रमा परिणत भएको धारणा राख्दै नेपालमा औद्योगीकरणको सम्भावना रहेको बताए । सरकार र निजी क्षेत्रबीच विभागले पुलको काम गरिरहेको भन्दै आगामी दिनमा पनि उद्योग र उद्यमीका समस्यालाई उजागर गर्न विभाग सक्रियताका साथ अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
कार्यक्रममा सहभागी अधिकांश उद्योगी व्यवसायीले औद्योगिक ऐन तत्काल ल्याउन सरकारसँग माग गरेका थिए ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक