तयारी पोसाक निकासीमा १२.८ प्रतिशत बढ्यो


काठमाडौं, १८ जेठ

पछिल्लो ९ महिना अवधिमा मुलकबाट तयारी पोसाकको निकासी १२.८ प्रतिशतले बढेको भएको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको तथ्यांकअनुसार चालू आवको साउनदेखि  चैतसम्म झन्डै साढे ३ अर्ब ९८ करोड ८० लाखको तयारी पोसाक निर्यात भएको छ । यो रकम अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५० करोड २३ लाख अर्थात १२.८ प्रतिशतले बढी हो ।
केन्द्रको तथ्यांकअनुसार आव ०६६/०६७ मा ३ अर्ब ७५ करोड ८१ लाख ६१ हजार बराबरको तयारी पोसाक निर्यात भएको थियो । यो अघिल्लो वर्षको सोही अवधिको तुलनामा झन्डै ६० करोडले कम हो । त्यस्तै, ०६५/०६६ मा ४ अर्ब ३५ करोड, ०६४/०६५ मा ३ अर्ब ३५ करोड र ०६३/०६४ मा ४ अर्ब ७१ करोड रुपैयाँ बराबरको पोसाक निर्यात भएको केन्द्रले जनाएको छ ।
केन्द्रका अनुसार नेपालमा उत्पादन हुने तयारी पोसाकका मुख्य आयातकर्ता युरोपेली मुलुक र भारत हुन् । त्यस्तै, अमेरिका, जर्मनी, बेलायत, फ्रान्स, क्यानडा, जापानलगायतका मुलकमा पनि पोसाक निर्यात हुने गरेको छ । युरोपेली मुलुकले नेपाली पोसाक अत्यधिक रुचाउने गरेका छन् ।
“नौ महिनाको तथ्यांकलाई आधार मान्ने हो भने यो वर्ष ४ अर्ब पुग्ने अनुमान गरेका छौं, यो हाम्रा लागि सकारात्मक संकेत हो,” नेपाल तयारी पोसाक उद्योग संघका अध्यक्ष उदयराज पाण्डेले भने ।
नेपालको आन्तरिक समस्याका कारण निर्यातमा फड्को मार्न नसकिएको जिकिर गर्दै उनले पुरानै मागका आधारमा मात्र निर्यातमा सामान्य वृिद्ध भएको तर्क गरे । “निर्यात बढ्छ या घट्छ भन्ने अवस्था छैन, सामान्य वृद्धिले व्यवसायीको मनोबलमात्र बढाएको हो,” उनले भने ।
पुरानै माग र व्यवसायीको व्यक्तिगत सम्बन्धका कारण थोरै वृद्धि देखिएको बताउँदै उनले राजनीतिक अस्थिरताले माग आउन छाडेको गुनासो गरे । राजनीतिक अस्थिरता, बन्द, हड्ताल, मजदुर समस्याका साथै लोडसेडिङका कारण उत्साहपूर्वक निर्यात हुन नसकेको उनले बताए ।
अनेक समस्याका बेला पनि यो समयमा सामान्य वृद्धि देखिनु तथा अधिकांश उद्योगको उत्पादन घट्दै गए पनि निर्यातमा केही वृद्धि हुनु सकारात्मक संकेत भएको उनको भनाइ छ । “राजनीतिक स्थिरता र  लगानीमैत्री वातावरण हुने हो भने मात्रै पनि हाम्रा उत्पादनले  कोल्टे फेर्न सक्छन्,” पाण्डेले भने ।
उनका अनुसार हालसम्म मुलुकभर ठूला र साना गरी जम्मा ३० वटामात्र तयारी पोसाक उद्योग सञ्चालनमा छन् । एउटा उद्योगमा औसत डेढ अर्बको लगानी रहेको जानकारी दिँदै पाण्डेले यी उद्योगबाट झन्डै १० हजारका लागि रोजगारी सिर्जना भएको बताए ।
वर्ष                  निर्यात (रु हजारमा)
१९९९/२०००     १११२७८५८
२०००/२००१    ११६२३३४६
२००१/२००२    ७९६५७९६
२००२/२००३    १२०१२९४९
२००३/२००४    १०१७९२४४
२००४/२००५    ६७२१४८९
२००५/२००६    ६५८०३८८
२००६/२००७    ४७१२४९०
२००७/२००८    ३३१५४०२
२००८/२००९    ४३५०९१५
२००९/२०१०    ३७५८१६१

Add caption

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक