वनस्पती घिउ उद्योग पाल्मोलिन उत्पादन गर्न बाध्य


काठमाडौं, १५ जेठ
नेपालमा उत्पादन हुने वनस्पती घिउ मूल्यको भारी अन्तरले भारततर्फ निकासी हुन नसकेपछि उद्योगहरू ‘बाइप्रडक्ट’ उत्पादन गर्न बाध्य छन् । विज्ञहरूका अनुसार यिनलाई औद्योगिक उत्पादन मान्न सकिँदैन ।

भारततर्फको निर्यातमा उल्लेख्य गिरावट आउन थालेपछि वनस्पती घिउ उत्पादन गर्ने उद्योगहरू विस्थापित भएका छन् । यस्ता उद्योगले वनस्पती घिउको सट्टा स–साना सहायक वस्तु उत्पादन गर्न थालेका छन् ।
नेपालमा उत्पादन हुने वनस्पती घिउ मूल्यको भारी अन्तरले गर्दा निकासी हुन नसकेपछि यी उद्योगमा पाल्मोलिन, तेलो, एसिड, फट्टी (कोको ब्लान्डेड एक्स्ट्र्याक्ट) जस्ता सामान उत्पादन हुन थालेका छन् । विज्ञहरूका अनुसार यिनलाई औद्योगिक उत्पादन मानिँदैन । यस्ता कच्चा पदार्थहरू घिउ उत्पादन गर्ने मेसिनबाटै उत्पादन गर्न सकिन्छ । तीमध्ये पाल्मोलिन तेल जस्ता अधिकांश उत्पादन साबुन बनाउन प्रयोग हुन्छन् । त्यस्तै, कोको ब्लान्डेड एक्स्ट्र्याक्ट जस्ता वस्तु चकलेट, मिठाइमा नभई नहुने कच्चा पदार्थ हुन् ।
नेपाल वनस्पती घिउ तेल उद्योग संघका अनुसार हालसम्म २१ वटामात्र यस्ता उद्योग सञ्चालनमा रहे पनि आधा दर्जनभन्दा धेरै उद्योग सामानको बजारीकरण गर्न नसकेर बन्द भइसकेका छन् । संघका अध्यक्ष विकास दुगड भन्छन्, “अधिकांश उद्योग बजारीकरणको समस्याले बन्द भइसकेका छन्, भएका उद्योगहरू पनि आन्तरिक तथा बजारका कारण चल्न सकेका छैनन् । त्यसैले अधिकांश उद्योग बाइप्रडक्टका रूपमा प्रयोग हुने कच्चा पदार्थ उत्पादन गर्न बाध्य छन् ।”
भौगिलिक विविधता भएको देशमा वनस्पती घिउको प्रचुर सम्भावना भएको भन्दै उनले हालसम्म यस्ता उद्योगमा झन्डै १५ अर्बको लगानी भइरहेको जानकारी दिए । आन्तरिक कारणले घिउ उत्पादन गर्ने उद्योग विस्थापित हुने अवस्थामा पुगेको जानकारी दिँदै उनले भने, “यसलाई समाधान गर्न सकिए नेपालमा वनस्पती घिउको भविष्य उज्ज्वल छ ।”
वनस्पती घिउ उत्पादनका लागि चाहिने अधिकांश कच्चा पदार्थ अर्जेन्टिना तथा ब्राजिलबाट ल्याउने गरिन्छ । भारत तथा नेपालमा एकै ठाउँबाट कच्चा पदार्थ आयात हुने भएकाले नेपालमा बजारीकरण गर्न थप समस्या भएको दुगडको भनाइ छ । उनका अनुसार नेपालले भारतको बाटो हुँदै ट््यांकरबाट सामान ओसार–पसार गर्दा ढुवानी समस्यासमेत बेहोर्दै आएको छ भने भारतमा भन्दा नेपालमा भ्याट बढी भएकाले मूल्य अन्तर बढी छ ।
नेपाली वनस्पती घिउलाई भारत सरकारले केही वर्षदेखि रोक लगाउँदै आएको छ । केही वर्ष कोटा प्रणालीका आधारमा समेत भारतले निकासी फुकुवा गरे पनि त्यसले नेपाली उद्योगको उत्पादन बढाउन सकेन । चर्को शुल्क तिरेर भारत घिउ निर्यात गर्न नसक्दा यस्ता उद्योग विस्तापित हुने अवस्थामा पुगेको संघको भनाइ छ ।
अधिकांश उद्योगले आफ्नो क्षमताको २० देखि ३० प्रतिशतसम्म मात्र उत्पादन गर्ने गरेको जानकारी संघका सचिव दिवाकर पाण्डेले दिए । “अहिले धेरै उद्योगहरू बाइप्रडक्ट उत्पादनमा प्रयोग हुन थालेका छन्,” उनले भने, “घिउ उत्पादन गरेर उद्योग धन्न नसक्ने अवस्था छ, उद्योगलाई बचाइराख्न व्यवसायीहरूले बाइप्रडक्टमा ध्यान दिनुपरेको हो ।”
उनले आन्तरीक तथा कच्चा पदार्थका अभावले गर्दा बजारीकरणमा ठुलो समस्या परेको बताउदै चक्केट साबुनमा हुने कच्चा पदार्थहरू निर्यात गर्ने तयारी गरिरहेको बताए ।
उनका अनुसार मूल्य अन्तरका कारण विगत तीन वर्षदेखि वनस्पती घिउ भारत निकासी हुन सकेको छैन । “नेपाली वनस्पती घिउ निकासी हुने मुलुक चीन र भारतमात्र हुन्,” उनले भने, “भारतमा त जाने छाड्यो ।”
संघका अनुसार वनस्पती घिउ उत्पादन गर्ने उद्योगबाट प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा झन्डै ८ हजारले रोजगारी पाएका छन् ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक