‘च्यांग्रा पस्मिना’को प्रचार बीबीसी र सीएनएनमा


निर्यात ३० प्रतिशतले बढ्ने अनुमान
काठमाडौं, १४ जेठ
नेपाल पस्मिना उद्योग संघले नेपाली पस्मिनाको प्रवद्र्धनका लागि अन्तर्राष्ट्रिय स्तरका टेलिभिजन च्यानलमार्फत प्रचार गर्ने भएको छ ।
नेपाली पस्मिना युरोपेली मुलुकमा अत्यधिक मात्रामा निर्यात हुने भएकाले यसको बजार विस्तार गर्न बीबीसी, सीएनएनजस्ता च्यानलबाट ‘च्यांग्रा पस्मिना’ को प्रचार गर्र्न लागएको हो । नेपालबाट उत्पादन हुने पस्मिनाको सम्भाव्यतालाई ध्यान दिँदै संंघले यसअघि युरोपेली संघ (ईयू) अन्तर्गतका सबै मुलुकका साथै नर्वे, स्विट्जरल्यान्ड, अस्टे«लिया, न्युजिल्यान्ड, अमेरिका, क्यानडा, जापान, दक्षिण कोरिया, हङकङ, सिंगापुर र नेपाल गरी ३८ वटा मुलुकमा पस्मिनाको सामूहिक टे«डमार्क दर्ता गरिसकेको छ । अन्य आठ वटा देशमा दर्ता प्रक्रियामा छन् ।
नेपाली पस्मिनाको अन्तर्राष्ट्रिय स्तरमा उल्लेख्य माग भएको र बजारीकरण पक्ष कमजोर भएकाले नेपाली च्यानलका अतिरिक्ति विदेशी च्यानलबाट समेत प्रचार–प्रसार गर्न लागिएकोे संघका कार्यक्रम प्रमुख मधुबाबु अधिकारीले जानकारी दिए । “प्रक्रिया अन्तिम चरणमा पुगेको छ,” उनले भने, “साउनबाट यस्तो कार्यक्रम सुरु हुन्छ ।”
अधिकारीका अनुसार पस्मिनाको प्रचारका लागि पहिलो प्राथामिकतामा सीएनएन र बीबीसी च्यानल परेका छन् । “यो हाम्रो सुरुवात हो, आउने दिनमा यसलाई बढाउँदै लैजान्छौं,” उनले भने, “नेपाली पस्मिनालाई अन्तर्राष्ट्रिय स्तरमा अत्यधिक रुचाइने भएकाले बजारीकरणमा बढी खट्नुपर्ने आवश्यकता छ ।”
संघको यो योजनामा सरकारसमेत सकारत्मक भएको बताउँदै उनले यसका लगि आवश्यक बजेट सरकारबाटै उपलब्ध हुने संकेत दिए । “सरकार रहेकाले आवश्यक रकम पाउने आश्वासन पाएका छौं,” उनले थपे ।
यसअघि सरकारले टे«डमार्क अभावमा विदेशमा उत्पादित पस्मिना नेपालीका नाममा बिक्री गर्ने क्रम बढेको भन्दै सामूहिक टे«डमार्क प्रयोगमा ल्याइसकेको छ । नेपालबाट उत्पादन हुने पस्मिना अमेरिका, अस्ट्रेलिया, जापान, इटाली, बेलायत, फ्रान्स, नर्वे, जर्मनलगायत विश्वका ८० भन्दा बढी मुलुकमा निर्यात हुने गरेको छ ।
हालसम्म नेपालमा करिब २ सयको हाराहारीमा पस्मिना उद्योग सञ्चालनमा रहेको तथा करिब ३० हजार व्यक्तिले रोजगारी पाएको अधिकारीले बताए । नेपाली पस्मिनाको उल्लेख्य सम्भाव्यता भएको भन्दै अधिकारीले व्यापार चिन्ह तथा प्रचार–प्रसारले उद्यमीलाई थप बल पुग्ने उल्लेख गरे ।
गएको असारमा सार्वजनिक गरिएको नेपाल व्यापार एकीकृत रणनीति, २०१० (एनटीआईएस) मा निर्यात व्यापारमा नेपाललाई फाइदा हुने १२ वस्तुमध्ये पस्मिना पनि समावेश थियो । यसलाई पारदर्शी बनाउन उद्योग मन्त्रालयले पस्मिनाको धागो जाँच्ने उपकरणका लागि नेपाल गुणस्तर तथा नापतौल विभागलाई ६४ लाख रुपैयाँ बजेट विनियोजन गरिसकेको छ ।
विदेशी च्यानलमार्फत सरकारी लगानीमा नेपाली उत्पादनको प्रचार–प्रसार गर्न लागिएको यो पहिलो पटक हो । साथै, नेपाली उत्पादनमा विदेशीलाई समावेश गराएर सामूहिक टे«डमार्क दिने पनि पस्मिना संघ पहिलो हो । अधिकारी भन्छन्, “यो हाम्रो सुरुवात हो, यसले हाम्रो निर्यातमा ३० प्रतिशतले वृद्धि हुने अनुमान गरेका छौं ।”

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक