होम › प्रमुख समाचार › राजनीतिक अन्योलले अर्थतन्त्र डामाडोल राजनीतिक अन्योलले अर्थतन्त्र डामाडोल

कारोबार टिमकाठमाडौं, १४ जेठ
देश राजनीतिक अन्योलको भूमरीमा परिरहेको अवस्थाले व्यापार र उद्योग क्षेत्रमा पनि ठूलो समस्या देखिएको छ । २०६५ जेठ १४ देखि संविधान बनाउन असफल संविधानसभाको बढाइएको एक वर्षे आयु सकिन लागेको पूर्वसन्ध्यामा कारोबारले देशका मुख्य व्यापारिक क्षेत्रहरुमा गरेको एक अध्ययनअनुसार राजनीतिक अन्योलका कारण गएको तीन वर्षमा देशले अर्बौंबराबरको लगानी र उत्पादनमा ह्रास बेहोर्नुपरेको छ ।
देशभरका उद्यमीहरुले पटक–पटक संविधानसभाको म्याद थपिँदा देश चरम आर्थिक संकटतर्फ उन्मुख भइरहेको जनाएका छन् । यो जेठ १४ सम्म पनि संविधान बन्न नसक्दा संक्रमणकालको अवस्था लम्बिँदै गएको र भएका उद्योग समस्याग्रस्त भएका तथा नयाँ आउन नसकेको कुरा देशभरका उद्योगी, व्यवसायीहरुले बताएका छन् ।
विराटनगरका लगानीकर्ता पलायन
गएको तीन वर्षमा संविधान बन्न नसकेकाले विराटनगरका धेरै उद्योगी पलायन भइसकेको उद्योग संगठन मोरङका अध्यक्ष दिनेश गोल्छाले बताए । उनका अनुसार देशमा संक्रमणकालीन अवस्था लम्बिँदै गएकाले नयाँ लगानी भित्रिन सकेको छैन ।
“समयमै संविधान बनेको भए देशले निकास पाई यहाँको आर्थिक, सामाजिक तथा राजनीतिक अवस्थाले गति लिने थियो,” उनले भने, “तर एकपछि अर्को गर्दै हरेक वर्ष संविधानसभाको म्याद थपिँदा नयाँ लगानी होइन भएका उद्योग सञ्चालन गर्नसमेत हम्मेहम्मे परिरहेको छ ।”
संविधान लेखन कार्य पूरा नभएसम्म बन्द, हडताल, चन्दाआतंक, असुरक्षालगायतका समस्या कम नहुने तर्क प्रस्तुत गर्दै गोल्छाले भने, “संविधान लेख्ने दायित्व दलहरूले पूरा गरे देश एउटा नयाँ मोडतर्फ जाने थियो र यहाँका उद्योग–व्यवसाय फस्टाई देशले चाँडै नै आर्थिक उन्नति गर्ने थियो ।”
अहिले पूर्वाञ्चलका उद्योगी–व्यवसायीका लागि सबैभन्दा ठूलो समस्या लोडसेडिङ भएको उल्लेख गर्दै संविधान लेखनका क्रममा खर्च भएको एक चौथाइ रकममात्रै भए पनि विद्युत्मा लगानी गरेको भए उद्योगका लागि ठूलो राहत हुने उनले बताए । “नेपालमै विद्युत् उत्पादन गर्न नसकेको भए पनि भारतबाट त्यो पैसाबाट खरिद गर्न सकिएको भए यहाँको लोडसेडिङको समस्या हल हुने थियो,” उनको भनाइ थियो, “अहिले विद्युत् समस्याकै कारण पूर्वका आधाभन्दा बढी उद्योग बन्द छन् ।” दलहरू संविधान बनाउनेमा भन्दा सरकार बनाउने खेलमा लागेका कारण जनतामा नैराश्यता उत्पन्न भएको उनको आरोप छ ।
त्यस्तै थुप्रै बहुराष्ट्रिय लगानीकर्ताहरू नेपालमा लगानी गर्न उचित वातावरण पर्खिएर बसिरहेको मोरङ व्यापार संघका महासचिव अविनाश बोहराले बताए । “लगानीकर्ताले कुनै पनि देशमा लगानीको पोलिसी कस्तो छ भनेर हेर्छ तर यहाँ अझै पनि लगानीको पोलिसी निर्माण हुनसकेको छैन,” उनले भने, “अब पनि संविधान निर्माण हुन नसके यहाँ सञ्चालनमा रहेका उद्योगसमेत बन्द गर्नुको विकल्प छैन ।” उनका अनुसार अहिले अधिकांश उद्योगीले घाटा सहेरै भए पनि उद्योग सञ्चालन गरिरहेका छन् ।
“युवापुस्तामा त नेपालमा लगानी गर्ने सोच नै हराइसक्यो,” उनले भने, “यस्तै अवस्था रहने हो भने यो देशमा बूढापाका उद्योगीमात्रै बाँकी रहनेछन् ।”
राजनीति अस्थिरताकै कारण मोरङ–सुनसरी औद्योगिक क्षेत्रका उद्योगको उत्पादन क्षमता दैनिक १ अर्बभन्दा बढी भए पनि हाल ४० करोडभन्दा कम उत्पादन गर्न बाध्य हुनुपरेको वरिष्ठ उद्योगपति नवलकिशोर काबराले बताए । संविधानसभाको म्याद कथांकदाचित थपिएमा अब थपिएको समयको भत्ता लिँदैनौं भन्ने सभासद्हरुबाट प्रतिबद्धता आउनुपर्ने र उक्त भत्ताबापतको रकम विद्युत् उत्पादनमा लगानी गर्नुपर्ने उद्योगपति काबराको माग छ ।
भैरहवाबाट पुँजी पलायन र उद्योग विस्थापन
मुलुक सञ्चालनको मुख्य अंग संविधान तोकिएको समयमा बन्न नसक्दा औद्योगिक क्षेत्र धराशायी बन्दै गइरहेको, लगानीकर्ताहरु निरुत्साहित भएको, संक्रमणकालको फाइदा उठाउँदै चन्दा आतंक, हत्या अपहरण मौलाउँदै गएको रुपन्देहीका उद्योग व्यवसायसम्बद्ध संघसंस्था तथा व्यवसायीले जनाएका छन् ।
अस्थिर राजनीतिको कारणले दण्डहीनता मौलाउँदै जाँदा छाडातन्त्रले प्रश्रय पाइरहँदा आर्थिक क्षेत्र धराशायी बन्दै गइरहेको उनीहरुको भनाइ थियो । लगानीमैत्री वातावरण बन्न नसक्दा लगानिकर्ता धमाधम फर्किरहेको र मुलुक विकासका लागि मेरुदण्डको रूपमा रहेको आर्थिक क्षेत्र अहिले सबैभन्दा बढी मारमा परेको उनीहरुको भनाइ छ ।
तोकिएको समयमा संविधान बन्न नसक्दा उद्योग व्यवसाय क्षेत्रमा अन्योल छाएको सिद्धार्थनगर उद्योग वाणिज्य संघका अध्यक्ष महेन्द्रकुमार श्रेष्ठले बताए । “संविधान समयमा बन्ने सम्भावना नदेखिएपछि यस क्षेत्रका उद्योगीहरुमा नैराश्यता छाएको, उद्योग क्षेत्रमा लगानी घट्दो क्रममा रहेको, पुँजी पलायन र उद्योगहरु विस्थापित हुन सक्ने खतरा बढिरहेको छ,” उनले भने, “नयाँ उद्योग स्थापनाको त के सञ्चालित उद्योग पनि पूर्ण क्षमतामा सञ्चालन हुन सकेका छैनन् ।”
तोकिएको समयमा संविधान नबन्दा अशान्ति छाएको, अराजकता र दण्डहीनताले प्रश्रय पाउँदा त्यसको प्रत्यक्ष मार उद्योग व्यवसायमा परेको रुपन्देही उद्योग संघका अध्यक्ष एजाज आलमले बताए । “संविधान बन्दा उद्योग क्षेत्रका लागि समेत कानुन बनेर आउने र त्यसले औद्योगिक वातावरण सिर्जना गर्ने हुँदा तोकिएको समयमै संविधान बन्नुपथ्र्यो तर बन्न नसक्दा उद्योग व्यवसाय क्षेत्रमा अन्योल कायम छ,” आलमले भने ।
तोकिएको समयमा संविधान घोषणा हुन नसक्दा नयाँ उद्योग स्थापना गर्न सबै हिच्किचाइरहेको र बैंकहरुले पनि उत्साहप्रद रूपमा लगानी गर्न छाडेको युवा उद्योगी तथा सिद्धार्थ ग्रुपका निर्देशक राजेश अग्रवाल बताउँछन् ।
सबै तिरबाट विश्वासको वातावरण बिगिँ्रदै गएको र भोलि जे पनि हुन सक्ने भन्दै सर्वसाधारणले लगानी गर्नुको सट्टा नगद र सुन, हीरा किनेर राख्न सुरु गरेको अग्रवालको दाबी छ ।
वीरगन्जका उद्यमीमा त्रास
संविधानसभाको म्याद थपिन्छ कि थपिन्न वा थपिए पनि देश कस्तो प्रकारको राजनीतिक व्यवस्थातर्फ जान्छ भन्ने त्रास पर्साका व्यापारीमा व्याप्त छ । “अहिले मुलुक अन्तरिम संविधानअन्तर्गत चल्दैछ, नयाँ  संविधान बन्ने क्रममा छ, बनेन भने के हुन्छ ? भने त्रास उद्योगी व्यापारीमा छ,” वरिष्ठ उद्योगी एवं वीरगन्ज उद्योग वाणिज्य संघका आमन्त्रित सदस्य जगदीश अग्रवालले भने ।
देशमा लोकतन्त्र आएपश्चात् उद्योग जगतको विकासका मौलिक मुद्दा कार्यान्वयन हुन सकेको छैन, नयाँ संविधान बनेपछि उद्योग व्यवसायको विकास हुन्छ भन्ने आश उद्योगी–व्यवसायीमा थियो । “तर निर्धारित समयमा संविधान निर्माण हुन नसकेकाले वर्तमान अवस्थामा लगानी रोकिएको हो,” उनले भने ।
राजनीतिक अस्थिरताको नकारात्मक प्रभावका कारण अर्थजगत अन्योलको चपेटमा परेकोले अहिलेको तरल अवस्थामा स्वदेशी र विदेशी लगानीकर्ताले लगानी गर्न नचाहेको उनको तर्क छ ।  अस्थिरताका कारण देशका अधिकांश युवा उद्यमीले विदेशमा लगानी गरिरहेको पनि उनले बताए ।
वीरगन्ज उद्योग वाणिज्य संघका पूर्वअध्यक्ष ओमप्रकाश सिकारियाले अहिलेको राजनीतिक अस्थिरताले लगानीकर्तासामु असहज परिस्थति सिर्जना भएको बताएका छन् । स्थिर र सुनिश्चित राजनीतिक प्रणालीअन्तर्गत मात्र आर्थिक क्षेत्रको विकास सम्भव हुने बताउँदै सिकारियाले अनिश्चितताका कारण अहिले उद्योगी व्यापारी द्विविधामा परेको बताए । राजनीतिक अस्थिरताले बजेटअनुरुपको खर्च, विकास कार्य हुन नसकेकाले आयातकर्र्ता मारमा परेको उनले बताए ।
अहिलेको अस्थिरताले सेयर मार्केटदेखि सबै प्रकारका आर्थिक सूचकांकमा नराम्रो प्रभाव परेको उनले बताए । “जेठ १४ पछि के हुने हो भन्ने त्रास सबैमा रहेका कारण समग्र व्यापार, उत्पादन घटेको छ । सबै पर्ख र हेरको स्थितिमा छन्,” वीरगन्ज उद्योग वाणिज्य संघका एक पदाधिकारीले भने ।
इटहरीबाट नेपाली रुपैयाँ भारत गयो
पटक–पटक संविधानसभाको म्याद थप्नुपर्दा करोडौं रुपैयाँ भारततर्फ गइरहेको सुनसरीका व्यवसायीहरुले बताएका छन् । संविधानसभाको म्याद थप्ने समयमा विभिन्न समूहले गर्ने बन्दका क्रममा व्यवसायीबाट ठूलो रकम विदेशतर्फ गइरहेको उनीहरुको भनाइ छ । बन्द भएपछि व्यवसायीहरु भारतका विभिन्न सहरमा घुम्न जाने र ठूलोमात्रमा खर्च गर्ने गरेकाले सो रकम भारततर्फ गइरहेको उद्योग वाणिज्य संघ इटहरीका अध्यक्ष रोहित प्रसाईंले बताए ।
उनले बन्दका बेला सीमानजिकका धेरै व्यवसायी सपरिवार भारतका विभिन्न सहरमा घुम्न जाने भएकाले धेरै नेपाली रुपैयाँ भारत जाने गरेको बताएका हुन् । “संविधानसभाको म्याद थप गर्ने समयमा विभिन्न समूहले बन्द गराउँछन् । १५ दिनयता दिनहँुजसो भइरहेको बन्दले इटहरी क्षेत्रमा मात्र दैनिक ३ करोडको क्षति भइरहेको छ,” उनले भने ।
संविधान नबन्दा मुलकमा सरकार दरिलो नभएका कारण उद्योगी व्यवसायी मारमा परेको बताउँछन् पूर्वाञ्चल उद्योग व्यवसायी संरक्षण मञ्चका अध्यक्ष टंक दुलाल । उनले संविधान निमार्णको म्याद पटक–पटक सारिँदा औद्योगिक र व्यावसायिक क्षेत्रमा लगानी गर्ने वतावरण नभएको बताए ।
संविधानसभाको म्याद पटक–पटक सार्दा मुलुक अन्योलको भुमरीमा फसेको हेल्दी फुड प्रोडक्टस्का निर्देशक निर्मल रिजालले बताए । उनले म्याद थप्ने समय हुन लाग्दा विभिन्न समूहले गरेको बन्दका कारण औद्योगिक उत्पादनमा ह्रास आएको र कर्मचारीलाई तलब खुवाउनसमेत गाह्रो भएको बताए ।
घाटामा झापाको व्यापार
नेपालको राजनीतिक गतिरोध लम्बिरहँदा पूर्वका उद्यमीहरुले घाटाको व्यवसाय गर्नुपरेको बताएका छन् । राजनीतिक परिवर्तन हुने र व्यावसायिक स्थिरता आउने आशामा घाटामा भए पनि व्यवासाय चलाउनुपरेको उनीहरुको भनाइ छ ।
मेची उद्योग वाणिज्य संघका अध्यक्ष केशव पाण्डे सरकारले लगानीमैत्री वातावरण र नीति बनाउन नसक्दा लगानीकर्ता व्यवसाय छोड्ने अवस्थामा पुगेको बताउँछन् । कतिपय लगानीकर्ता लगानी झिकेर अन्यत्र लगानी गर्न थालेको उनको भनाइ छ ।
नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्यसमेत रहेका उनले कतिपय झापाका व्यवसायीहरुले लगानी झिकेर भारतका विभिन्न सहरमा लगानी गर्न थालेको बताए । खासगरी पश्चिम बंगालमा आएको राजनीतिक परिवर्तनले लगानीको अवसर बढाउँदै लगेकाले नेपाली व्यवसायीले समेत त्यतातर्फ लगानी गर्न थालको उनको भनाइ छ ।
यस्तै झापा उद्योग वाणिज्य संघका अध्यक्ष राजेन्द्र घिमिरले सरकारले लगानी संरक्षणको नीति बनाउन नसक्ने हो भने अझै पनि व्यवसायीले लगानी झिक्न सक्ने अवस्था आउने बताए । उनले भने, “व्यवसायीहरुले राजनीतिक परिवर्तनलाई स्वीकार गरेर यतिन्जेल धैर्य गरेर घाटामा भए पनि व्यवसाय चलाए तर धैर्य सकिइसक्यो ।”
झापाको हङकङ बजार भनेर चिनिने धुलाबारीका तीन दर्जनभन्दा बढी व्यवसायीले नेपालको लगानी निकालेर पश्चिम बंगालको सिलगुडीमा लगानी गर्न थालेको उनले बताए । दमक उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश प्रसाईंले जतिसक्दो चाँडो राजनीतिक तरलताको अन्त्य गरी लगानी सुरक्षित हुने अवस्था सिर्जना गर्नुपरेको बताए । पछिल्लो तीन वर्षमा लगानी बढाउने भन्दा पनि व्यवसायीलाई भएको लगानीको सुरक्षा गर्नु नै चुनौती भएको उनले बताए ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक