बंगलादेशको तयारी पोसाक उद्योगबारे अध्ययन गरिने

तयारी पोसाकको प्रतिस्पर्धी क्षमता वृद्धि गरी निर्यातमा सुधार ल्याउने उद्देश्यले नेपालले बंगलादेशको तयारी पोसाक उद्योगबारे अध्ययन गर्ने भएको छ । मुलुकको प्रमुख निकासीजन्य वस्तु तयारी पोसाक निकासीको सम्भावना रहेकाले सरकार, तयारी पोसाक उद्योग संघ र श्रमिक संगठनका प्रतिनिधिले संयुक्त रूपमा बंगलादेशी उद्योगको अध्ययन गर्ने तयारी गरेका हुन् ।
मे महिनाको अन्तिम साता व्यापार तथा निकासी प्रवद्र्धन केन्द्र, संघ र पाँचवटा टे«ड युनियनका प्रतिनिधि बंगलादेश जाने तयारी भएको संघका अध्यक्ष उदयराज पाण्डेले जनाए । “गार्मेन्ट इन्डस्ट्रिजका बारेमा बंगलादेशबाट नेपालले धेरै सिक्ने कुरा रहेकाले त्यहाँका उद्योगहरुको अध्ययन गर्न लागिएको हो,” उनले भने ।
नेपाली प्रतिनिधिहरुले बंगलादेशी तयारी पोसाक उद्योगहरुको उत्पादन क्षमता तथा गुणस्तर, उत्पादन प्रक्रिया, त्यहाँको सरकारले उद्योगलाई दिएको सहुलियत, सरकारी नीति, उद्योगी र श्रमिकबीचको सम्बन्ध, श्रमिकहरुको तलब तथा सुविधा, बजार पहुँच तथा विस्तारलगायतका सम्पूर्ण पक्षको अध्ययन गर्नेछन् । संघले बंगलादेश गार्मेन्ट म्यानुफ्याक्चर्स एन्ड एक्पोर्ट एसोसिएसनसँग पनि छलफल गर्ने योजना बनाएको अध्यक्ष पाण्डेले जानकारी दिए । अध्ययन प्रतिवेदनको सुझावका आधारमा नेपाली तयारी पोसाक निकासीको अवस्थामा सुधार ल्याउन सकिने संघले जनाएको छ ।
नेपालको तयारी पोसाकको निकासी अवस्था
आर्थिक वर्ष (सन्)    कुल निकासी
२००१÷०२    ८ अर्ब
२००२÷०३    १२ अर्ब
२००३÷०४    १० अर्ब
२००४÷०५    ६ अर्ब ७२ करोड
२००५÷०६    ६ अर्ब ५८ करोड
२००६÷०७    ४ अर्ब ७१ करोड
२००७÷०८    ३ अर्ब ३१ करोड
२००८÷०९    ४ अर्ब ३५ करोड
२००९÷१०    ३ अर्ब ७५ करोड
नेपाल जस्तै अतिकम विकसित मुलुकअन्तर्गत पर्ने बगंलादेशले गुणस्तरीय तयारी पोसाक उत्पादन गरी विश्वभर निकासी गर्दै आएको छ । बंगलादेशलाई तयारी पोसाक निकासीमा भारत, अमेरिका, युरोपेली संघलगायतका अन्य प्रमुख आयातकर्ता राष्ट्रले भन्सार सहुलियत दिँदै आएका छन् । गत आर्थिक वर्षमा बंगलादेशले ३० करोड अमेरिकी डलरबराबरको तयारी पोसाक निकासी गरेको थियो ।
अमेरिकाले सन् २००५ को जनवरीदेखि मल्टिफाइवर एग्रिमेन्टअनुसार तयारी पोसाकको कोटा प्रणाली खारेजी गरेपछि नेपालबाट निरन्तर निकासी घट्दै गएको छ  । निकासी घट्दै गएपछि बितेका पाँच वर्षको अवधिमा २ सय तयारी पोसाक उद्योग बन्द भएका छन् ।
ठूलो संख्यामा उद्योग बन्द भएपछि पाँच वर्षको अवधिमा तयारी पोसाकको निकासीमा ९० प्रतिशतले गिरावट आएको छ भने डेढ लाखले प्रत्यक्ष रूपमा रोजगारी गुमाएका छन् ।
नेपालमा अहिले तयारी पोसाकका एक दर्जन उद्योगमात्र सञ्चालनमा छन् । नेपालमा उत्पादित तयारी पोसाक युरोपेली संघ, अमेरिका, भारत, क्यानडा, जर्मनी, स्पेन, जापान, इटालीलगायतका मुलुकमा निकासी हुने गरेको छ ।
बितेका ६ वर्षयता खस्कँदै गएको तयारी पोसाकको निर्यातमा चालू आवमा केही सुधार देखिएको छ । एक वर्षयता व्यापारिक साझेदार भारततर्फ तयारी पोसाकको माग बढ्नुका साथै विभिन्न भारतीय प्रसिद्ध कम्पनीहरु नेपाली तयारी पोसाकमा आकर्षित भएकाले निकासीमा केही वृद्धि भएको संघका अध्यक्ष पाण्डेले जानकारी दिए ।
भारततर्फको निकासी बढेकाले चालू आवको पहिलो आठ महिनामा गत आवको सोही अवधिको तुलनामा १४ प्रतिशतले निकासी वृद्धि भएको संघको तथ्यांकमा उल्लेख छ । यो अवधिमा भारतको सबैभन्दा ठूलो चेनस्टोर बिग बजार, पिटर इंग्ल्यान्ड, लिभरपुललगायतका कम्पनीहरुले नेपाली तयारी पोसाक खरिद गरिरहेका छन् ।
मुलुकको अस्थित राजनीति, मजदुर तथा ऊर्जा समस्याले नेपाली उद्योगले मागबमोजिम समयमै सामान आपूर्ति गर्न सकिरहेका छैनन् ।

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक