साढे ४ हजार घरेलु उद्योग बन्द




 काठमाडौं, २३ चैतपछिल्लो एक वर्षमा साढे ४ हजार घरेलु तथा साना उद्योग बन्द भएका छन् । घरेलु तथा साना उद्योग महासंघले बुधबार सार्वजनिक गरेको प्रतिवेदनअनुसार आव ०६६/०६७ मा मुलुकभर १३ हजार २० उद्योगमात्र सञ्चालनमा छन्, जुन अघिल्लो वर्षभन्दा ४ हजार ७ सय २ ले कम हो ।
घरेलु उद्योगीहरूका अनुसार सरकारको विभेद र ऊर्जा संकटका कारण यसरी उद्योग बन्द भएका हुन् । अझ चन्दा तथा आतंकले पनि उद्यमीहरूको मनोबल गिराएको उनीहरूले बताएका छन् ।
तथ्यांकअनुसार सुरुदेखि ०६५/०६६ को अन्त्यसम्म १ लाख १८ हजार ९ सय २२ उद्योग खारेज भएका छन् भने ५३ करोड ५१ लाख रुपैयाँ लगानी खेर गएको छ । यो अवधिमा ९ लाख ९८ हजार ९ सय ३० व्यक्तिको रोजगारी गुमेको महासंघको औद्योगिक प्रवद्र्धन तथ्यांकमा उल्लेख छ ।
ऊर्जा संकटका कारण पछिल्लो समयमा उद्योग बन्द हुने क्रम बढेको बताउँदै महासंघका महासचिव श्यामप्रसाद गिरीले सरकारले साना र ठूला उद्योगमा विभेदकारी नीति आवलम्बन गरेको गुनासो गरे । “ठूला उद्योग आफैंमा सक्षम छन् तर सरकारले उनीहरूलाई नै सेवा र सहुलियत दिएको छ,” उनले भने, “साना उद्योग आफैंमा समस्याग्रस्त छन्, उनीहरूलाई प्रोत्साहन दिने सवालमा भने सरकारले कुनै नीति अवलम्बन गरेको छैन । बजेटमा समेत ठूला उद्योगलाई नीतिगत प्रोत्साहन दिइएको छ तर सानालाई केही छैन ।”
घरेलु साना उद्योग अर्थतन्त्रको मेरुदण्डका रूपमा स्थापित भएको बताउँदै उनले चन्दा तथा आतंकजस्ता समस्याबाट आजित भएर उद्यमीहरूको मनोबल स्वात्तै घटेको गुनासो पोखे । “लोडसेडिङ, औद्योगिक सुरक्षा, मजदुर आन्दोलन तथा राजनीतिक अस्थिरताले गर्दा व्यवसायीहरू लगानी गर्न डराएका छन्,” उनले भने, “उद्योग बन्द हुनु त्यसैको परिणाम हो ।”
तथ्यांकअनुसार हालसम्म मुलुकभर सञ्चालनमा रहेका घरेलु तथा साना उद्योगमा मात्रै १ खर्ब ७ अर्ब ५ करोड लगानी छ । यसबाट १ लाख १० हजार ७ सय ६१ उद्योग सञ्चालनमा छन् भने तिनमा ९ लाख १५ हजार ५ सय ३९ जनाले रोजगारी पाएका छन् ।
“रोजगारीको अवसर सिर्जना गर्न र स्थानीय स्तरमै स्वरोजगारको संख्या बढाउन साना घरेलु उद्योगको भूमिका महत्वपूर्ण छ,” महासंघकी अध्यक्ष लता प्याकुरेलले भनिन्, “तर ऊर्जा संकटको विकराल समस्या खेपिरहेका साना उद्योग सरकारी हेय दृष्टिकोणले धमाधम बन्द भइरहेका छन् ।”
साना उद्योगको सवालमा पटक–पटक आवाज उठाए पनि नीतिगत समस्या परेपछि आफूहरूको केही नलागेको गुनासो उनले गरिन् । “त्यसमाथि मजदुर आन्दोलन, राजनीतिक अस्थिरता तथा बैंकको चर्को ब्याजका कारण उद्यमीहरूमा नैराश्यता छाएको छ,” उनले थपिन् ।अधिकारका लागि सरकारसँग लडाइँ गर्नुपरेको बताउँदै प्याकुरेलले भनिन्, “भौगोलिक हिसाबले समेत नेपालमा साना उद्योगको प्रचुर सम्भावना भए पनि सरकारको ध्यान ठूला उद्योगमा मात्रै केन्द्रित छ ।”
साना तथा घरेलु उद्योगले गरिबी निवारण, महिला सशक्तीकरण, समावेशीकरण, समानुपातिक अवसरको विकास गर्न महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ । 

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन