कामदार अभावले उद्योगमा बालबालिका प्रयोग



आईएलओ भन्छ–
– विश्वभर करिब २१ करोड ५० लाख बालबालिका जोखिमपूर्ण काममा संलग्न
– तीमध्ये १० देखि १४ वर्षसम्मका बालबालिका बढी प्रयोग
– नेपालमा ५ देखि १४ वर्षसम्मका बालमजदुरहरुको संख्या ७० लाख
– ३० लाख बालबालिकाले निरन्तर काममा, १७ लाख आर्थिक रूपमा सक्रिय
 काठमाडौं, १ जेठ
गएको बुधबार राजधानीको चाबहिलनजिक सरस्वतीनगर पुग्दा त्यहाँको गलैंचा कारखानामा १२ वर्षे अनिसा कुमालले गलैंचा बुन्दै थिइन् । स्थानीय प्राथमिक विद्यालयमा कक्षा ४ मा पढ्दै गरेकी अनिसाले विद्यालयको समयबाहेक कारखानामै बिताउने गरेकी छन् ।
त्यही दिन भक्तपुरको औद्योगिक क्षेत्र परिसरमाभित्र रहेको ग्रिल उद्योगमा जनकपुुरका १३ वर्षे कुमार यादवले आफ्ना बाबुलाई मेसिन चलाउन सहयोग गरिरहेका थिए । जनकपुरको एक विद्यालयबाट ३ कक्षासम्मको शिक्षा लिएका कुमारले उद्योगमा काम सुरु गरेपछि पढ्न छाडेको बताए । कहाँ, किन र कस्तो काम गरेको छु भन्ने जानकारीसमेत उनलाई छैन । बरु आफ्नो बारेमा बाबुसँग सोध्न उनले आफ्नै भाषामा आग्रह गरे ।
बालाजु औद्योगिक क्षेत्रमा स्थलगत रिर्पोटिङका लागि पुग्दा बालबालिकाहरु दाना उद्योगमा काम गरिरहेका देखिन्थे । पुतलीसडकनजिकको मोटरसाइकल मर्मत केन्द्रमा पनि सर्लाहीका १४ वर्षे सञ्जीव मिश्र मोटर धुने काममा तल्लीन थिए । ५ कक्षासम्मको अध्ययन गरेका सञ्जीवले परिवारको आर्थिक अवस्था कमजोर भएकाले पढ्न छाडेर कामको खोजीमा आफन्तसँग राजधानी आएको बताए ।
औद्योगिक काममा बालबालिकाको प्रयोग बढेको यी केही प्रतिनिधि दृश्यमात्र हुन् । कामदारको अभाव हुन थालेपछि बालबालिकालाई काममा लगाउनुपरेको उद्योग सञ्चालकहरु हाकाहाकी बताउँछन् । इँटाभट्टा, होटल तथा रेस्टुराँ, गार्मेन्ट, राइसमिल, गिट्टी कुट्नेजस्ता काममा बाल मजदुरको संख्या बढ्दै गएको छ । कामदार अभावले पाँच जनाको काम दुई जनाले गर्नुपर्ने अवस्था आएको भक्तपुरमा राइसमिल चलाउँदै आएका एक सञ्चालकले बताए ।
विद्युत्का कारण ५० प्रतिशतभन्दा धेरै उत्पादन कटौती भएको बताउँदै भक्तपुरस्थित इन्द्रावती इँटा टायल कारखानाका सञ्चालक सत्यनारायण प्रजापतिले भने, “अधिकांश उद्योगमा मजदुर नै छैनन्, २५ देखि ३५ प्रतिशतसम्म उत्पादन घटेको छ ।”
उनले पनि पाँच जनाले गर्नुपर्ने काम दुई जनाले गर्नुपरेको र अत्यावश्यक समयमा स्कुले बालबालिकासमेत प्रयोग हुन थालेको जानकारी दिए । उनका अनुसार भक्तपुरका अधिकांश चिउरा तथा राइस मिलहरुमा स्कुले बालबालिकाको प्रयोग बढ्दो छ । “मजदुर नपाएर स्कुले विद्यार्थीलाई काम लगाउनुपरेको परेको छ, यो दुःखद पक्ष हो ।”
पाटन औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधानले युवाहरु बिदेसिने गरेकाले उद्योगमा दक्ष कामदारको अभाव भएको बताए । “१ लाखभन्दा बढी रकम तिरेर मासिक १२ हजार रुपैयाँका लागि युवाहरु विदेश जान्छन्, यहाँ मासिक १२ हजार दिँदा काम गर्न आउँदैनन्,” उनले भने ।
बन्द, हड्ताल र लोडसेडिङको मारमा परेका उद्योगहरुमा दक्ष कामदारको अभाव पनि प्रमुख समस्याको रूपमा देखिएको छ । औद्योगिक जटिलताले युवा जनशक्ति पलायन हँुदै गएपछि राजधानीका औद्योगिक करिडोरमा दक्ष कामदार देखिन छाडेका हुन् । कामदारकै अभावले बालाजु, भक्तपुर तथा पाटन औद्योगिक करिडोरभित्र र बाहिरका उद्योगको उत्पादनमा २० देखि ३५ प्रतिशतसम्म गिरावट आएको व्यवसायी बताउँछन् ।
“वर्षौं लगाएर काम सिकायो, सिकेपछि धेरै पैसा कमाउने निहुँमा युवाहरु बिदेसिन्छन्,” बालाजुस्थित हिसी पोलिथिन इन्डस्ट्रिजका सञ्चालक शरद शर्माले भने । उनले दक्ष र अर्धदक्ष कामदार नपाएका कारण उत्पादनमा २५ प्रतिशतसम्म ह्रास आएको बताए । “दैनिक १ हजारभन्दा बढी युवा जनशक्ति रोजगार पाउने आशामा बिदेसिने गरेका छन्,” उनले भने । शर्माका अनुसार बालाजु औद्योगिक क्षेत्रमा ५० प्रतिशतभन्दा धेरै मजदुर तराईबाट आउँछन् ।
साना तथा घरेलु उद्योगहरु स्थापित भएको पाटन औद्योगिक क्षेत्र पनि दक्ष कामदार नपाएर प्रभावित छ । पाटन औद्योगिक क्षेत्र उद्योग संघका अध्यक्ष शैलेन्द्रलाल प्रधान भन्छन्, “विद्युत् संकटको मार खेपिरहेका उद्योगलाई अहिले काम गर्ने मान्छेको अभाव छ । दक्ष कामदार नहुँदा उत्पादन २५ प्रतिशतसम्म घटेको छ ।”
नेपालमा १६ वर्षभन्दा कम उमेरकालाई बालबालिका मानिन्छ । बालश्रम ऐन २०५६ अनुसार १६ वर्ष उमेर नपुगेकालाई कल कारखाना, खानी वा यस्तै अन्य जोखिमपूर्ण काममा लगाउन निषेध छ । यद्यपि राजधानीका धेरैजसो उद्योग, कलकारखानामा मजुदर नपाइएको भन्दै बालबालिका प्रयोग भइरहेका छन् । उमेर पुगेका युवाहरु वैदेशिक रोजगारीका लागि बाहिरिएपछि बालबालिका प्रयोग गरिएको सञ्चालकहरु प्रष्ट्याउँछन् ।
कानुनले १३ वर्षसम्मको समय बालबालिकाको शारीरिक तथा मानसिक परिपक्वताका लागि भएको र त्यसपछि १६ वर्षसम्मको समय संवेदनशील रहेको भन्दै उनीहरुलाई घरभित्र तथा बाहिर कुनै प्रकारका काममा लगाउन नपाइने व्यवस्था गरेको छ । यो व्यवस्थाविपरीत गरेको भेटिए काममा लगाउने व्यक्ति वा निकायलाई फौजदारी अभियोग लगाउन सकिन्छ ।
बाल श्रमिकहरुको वकालत गर्ने अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) ले केही महिनाअघि सार्वजनिक गरेको तथ्यांकअनुसार विश्वभरका करिब २१ करोड ५० लाख बालबालिका जोखिमपूर्ण काममा संलग्न छन् । यीमध्ये १० देखि १४ वर्षसम्मका बालबालिका बढी प्रयोग भइरहेको संगठनको भनाइ छ । नेपालमा ५ देखि १४ वर्षसम्मका बालमजदुरहरुको संख्या ७० लाख छ । यीमध्ये ३० लाख बालबालिकाले निरन्तर काम गर्दै आएको तथा १७ लाख आर्थिक रूपमा सक्रिय भएको तथ्यांकमा उल्लेख छ ।
पेटभर खानकै लागि अधिकांश बालबालिकाले श्रम गर्नुपरेको बालबालिकाका पक्षमा काम गर्दै आएका कानुन व्यवसायी बासुदेव आचार्यले बताए । www.karobardaily.com

Comments

Popular posts from this blog

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन

सम्भावनाको संघारमा

सरकारको ढुकुटी ऋणात्मक