बन्द हुने अवस्थामा भक्तपुरका चिउरा उद्योग


 


 
 
“धानको अभाव छ, पानी छैन, बिजुली छैन, काम गर्ने मान्छे पनि छैनन्, कसरी चिउरा उद्योग फस्टाउन सक्छन् ?”
भक्तपुरका अधिकांश चिउरा मिल संकटमा पर्न थालेका छन् । उद्योगका लागि आवश्यक लगानी, दक्ष जनशक्ति अभाव, बजारीकरण र फितलो सरकारी अनुगमनका कारण मिल समस्यामा परेका हुन् । यी मिलहरू भक्तपुरका तोपगाछी, जगाते, इँटाछे, मोलाक्षेलगायतका ठाउँमा सञ्चालित छन् ।
“चर्को लोडसेडिङ र बजारीकरणको अभावका कारण चिउरा मिललाई थप समस्या परेको छ,” लोकेश्वर चिउरा मिलका सञ्चालक प्रेमकृष्ण खर्बुजाले भने, “धानको अभाव छ, पानी छैन, बिजुली छैन, काम गर्ने मान्छे पनि छैनन्, कसरी चिउरा उद्योग फस्टाउन सक्छन् ?”
धान उत्पादन हुने ठाउँमा बस्ती बाक्लिँदै जाँदा समस्या थपिएको उनको भनाइ छ । आम्दानीभन्दा खर्च धेरै हुने जिकिर गर्दै उनले थपे, “अनेक समस्याका बाबजुत चर्को मूल्य तिरेरै भए पनि हामी धान खरिद गर्छौं र चिउरा उत्पादन गर्छौं, त्यसपछिको अर्को जटिल समस्या भनेको भुस फाल्ने र खरानी तह लगाउने ठाउँ छैन ।”
नगरपालिकाले उद्योग सार्न पटक–पटक धम्की दिएको बताउँदै उनले नवीकरण गर्नसमेत आनाकानी गरिएको गुनासो गरे । “नगरपालिकाले बाहिर जान भन्छ तर ठाउँ दिँदैन, हामीले के गर्ने ?” उनको प्रश्न छ ।
भक्तपुर नगरपालिकाले केही समयअघिदेखि चिउराजन्य उद्योगले वातावरणमा असर पारेको भन्दै पटक–पटक नगरपालिकाभन्दा बाहिर जान आग्रह गर्दै आएको छ । यद्यपि ब्यवसायीहरू भने उद्योग सञ्चालन गर्ने उर्पयूक्त ठाउँ नभएका कारण उद्योग सार्न समस्या परेको बताउँछन् ।
उद्योगलाई सार्ने भनिए पनि उपयुक्त स्थान नभएका कारण बाहिर जान नसकिएको पलाञ्चोक भगवती कोल्ड स्टोरेजका अध्यक्ष सत्यनारायण प्रजापतिले बताए । भक्तपुरमा उत्पादन हुने टाइचिन चिउराको छुट्टै विशेषता भएको बताउँदै उनले परम्परामा आधारित वस्तुलाई राज्यले उपेक्षा गर्न खोजेको गुनासो गरे । “चिउराको समस्या हाम्रो संस्कृतिसँग जोडिएको छ, परम्परा र उपभोक्तासँग जोडिएको छ, सरकारले यिनै उद्योगलाई उपेक्षा गरेको छ,” उनले भने ।
प्रजापतिका अनुसार भक्तपुरमा मात्रै ४२ वटा चिउराजन्य उद्योग सञ्चालनमा छन् । अन्तर्राष्ट्रिय बजारमा समेत भक्तपुरे चिउराको माग हुँदाहँुदै पनि सरकारले प्रभावकारी नीति ल्याउन नसक्दा अनावश्यक दुःख पाएको दुखेसो उनको छ ।
चिउरा उद्योगका लागि नयाँ प्रविधि भिœयाउन जर्मन सरकारको सहयोगमा जीटीजेट नामक गैरसरकारी संस्थाले केही रकम छुट्ट्याइदिएको जानकारी दिँदै उनले नगरपालिका यस विषयमा मूकदर्शक बनेर बसेको आरोप लगाए ।
भोलाछेस्थित लक्ष्मी चिउरा मिलका सञ्चालक वीरेन्द्र जतीले पछिल्लो समय चिउरा उद्योगहरूको अवस्था दयनीय भएको बताउँदै यसको भविष्य अन्योलमा रहेको बताए । अधिकांश चिउरा मिल पुख्र्याैली पेसामा आधारित भएको बताउँदै उनले यी उद्योगको सम्भावना हँुदाहँुदै पनि राज्यकै कारण संकटग्रस्त भएको गुनासो गरे । “अन्तर्राष्ट्रिय बजारबाट माग आउँदासमेत सरकारको क्वारेन्टाइनका कारण निर्यात गर्न सकिएको छैन,” उनले भने, “यसले उत्पादनमा झन्डै ६० प्रतिशत ह्रास भएको छ ।”
नगरपालिकाले आफूहरूलाई अल्झाउन कर लिनसमेत आनकानी गरेको गुनासो गर्दै उनले उद्योग सञ्चालनका लगि सहज वातावरण बनाइदिन आग्रह गरे । “हामीले न त ढुक्कसँग यथास्थानमा उद्योग सञ्चालन गर्न पाउँछौ, न त सम्बन्धित निकायले कुनै ठाउँको बन्दोबस्तो नै गरेको छ,” उनले भने ।

Comments

Popular posts from this blog

धातुका सामान बनाउन भ्याकुम कस्टिङ मेसिन

सम्भावनाको संघारमा

बौद्धिक सम्पत्ति संरक्षणको कानुन आठ वर्षसम्म बनेन